साप्ताहिक संवाददाता
जर्मनीको म्युनिस्टरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको तेस्रो अधिवेशनका क्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कि युरोप अध्यक्ष सुमी घिमिरेले विशेष प्रस्तुति दिएकी थिइन् । लोकगायिका सुमी घिमिरेसँग प्रतिष्ठानका वर्तमान अध्यक्ष बेल गुरुङले दोहोरी खेल्न थालेपछि दर्शकदीर्घा महिला तथा पुरुषमा विभक्त भएको थियो ।
एसबीएससी सिंगिङ
एसबीएससी सिंगिङ स्टार सिजन–थ्रीको छनौट चरणको अडिसन सम्पन्न भएको छ । मोरङको विराटनगर, रंगेली तथा विराटचोकमा भएको अडिसनबाट १ सय ८१ जना छनौट भएका छन् । यो प्रतियोगिताको फाइनल आगामी मंसिर ४ गते विराटनगरमा हुँदैछ ।
युनानाको सभा
एक वर्षअघि विश्वभर छरिएका नेपाली कलाकारलाई एकीकृत गर्दै अमेरिकाको न्युयोर्कमा स्थापना गरिएको युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन नर्थ अमेरिका (युनाना) को पहिलो साधारणसभा उज्ज्वल अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले गायक कन्हैया सिंहको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संगीत सरोवरको १ सय १९ औं श्रृंखला
कपन संगीत सरोवरले आफ्नो १ सय १९ औं संगीत श्रृंखला सम्पन्न गरेको छ । संगीतका प्राध्यापक परशुराम पौडेलको संयोजनमा सञ्चालित श्रृंखलामा सच्चिदानन्द पौडेल तथा शोभना पौडेलले विभिन्न भजन तथा गीत–संगीत प्रस्तुत गरे । उनीहरूको भजनलाई बिराज पोखरेल तथा संकल्प बर्माले तबलामा साथ दिएका थिए ।
बेइजिङ पुग्यो साधना
संगीतकार मिलन मोक्तानको नेतृत्वमा साधना कला केन्द्रको सांस्कृतिक टोली गत बुधबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ । आज शुक्रबारदेखि एक सातासम्म चल्ने सांस्कृतिक कार्यक्रममा साधनाका कलाकारहरूले नृत्य प्रस्तुत गर्नेछन् । बेइजिङमा छलिया, हुड्केली, मगौटा, गर्रा, झिझिया, कृष्ण चरित्रसहित १४ वटा मौलिक नृत्य प्रस्तुत गर्नेछ ।
उदयपुरमा कन्सर्ट
दसैंको अवसरमा उदयपुरको बर्रेमा सम्पन्न सांस्कृतिक कार्यक्रममा दृष्टिविहीन गायक कृष्णभक्त राईले दर्शकहरूलाई ‘नमुछे आमा’ गाएर भावुक बनाए भने गायक डिजराज पौडेलले युवा दर्शकहरूलाई नचाए । कार्यक्रममा भीम मगर, देवी आले, सचिन राईले पनि आफ्ना गीतहरू सुनाएका थिए ।