यसपटकको तिहारमा कुन गीत बजाएर रमाइलो गर्ने भन्ने सोचमा हुनुहुन्छ ? पीर नगर्नुस् । यूट्युबले रोजीरोजी तिहार गीत हेर्ने सुन्ने अनि रमाइलो गर्ने वातावरण बनाइदिएको छ ।
यो वर्षको तिहार गीत सर्च गर्न यूट्युबमा जाने हो भने सबैभन्दा पहिला गायिका अक्षताको ‘झिलीमिली देउसी–भैलो’ गीतले स्वागत गर्नेछ । दुई वर्षअघि नै तयार पारिएको यो तिहार गीत फ्यूजन शैलीको छ ।
यो गीतमा गायिका अक्षताको मुख्य स्वर त छँदैछ, उनलाई अन्य लोकप्रिय गायक–गायिकाहरूले समेत साथ दिएका छन् । चर्चामा रहेका संगीतकर्मी अल्मोडा राना उप्रेतीको यो सिर्जनामा अक्षताको बालसुभल स्वर कर्णप्रिय सुनिएको छ ।
यूट्युबमा २३ लाख ६५ हजार पटक हेरिएको यो गीतमा गायिका अक्षतालाई नवाज अन्सारी तथा रोनाल्ड कार्बेटी माइक्लिले गायनमा साथ दिएका छन् । बिजु कर्माचार्यद्वारा निर्देशित यो गीतको म्युजिक भिडियोमा भने कालीप्रसाद बासकोटा, नीमा रुम्बा, अमन अधिकारी, सागर राज आदि संगीतकर्मीले पनि अभिनय गरेका छन् ।
यो वर्षको तिहारलाई लक्षित गर्दै गायक पशुपति शर्मालाई फिचर गर्दै ‘आज गाउँमा...’ शीर्षकको तिहार गीत तयार पारिएको छ । कृष्ण रेउले तथा जुनु रिजालको स्वरको यो गीतका संगीतकार कृष्ण रेउले हुन् । बब्बु थापाको निर्देशनको यो गीतको भिडियोमा आकर्षक कोरियोग्राफी देख्न सकिन्छ ।
गायिका शर्मिला गुरुङ, शिला आलो तथा शकुन्तला थापाले गाएको गीत ‘तिहार आयो....’ गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ । यूट्युबमा अपलोड भएको केही दिनमै झन्डै डेढ लाख पटक हेरिएको यो गीतको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । शर्मिला गुरुङ तथा शकुन्तला थापा यो गीतका संगीतकार हुन् ।
गायक पशुपति शर्मा तथा गायिका सम्झना भण्डारीले यसै पटकको तिहारका लागि ‘देउसी रे भन साथी हो...’ गीत तयार पारेका छन् । गायक शर्माकै शब्द तथा संगीतको यो गीतमा पशुपति तथा सम्झनाले नै अभिनय तथा नृत्य गरेका छन् । यो गीतको भिडियो बब्बु थापाले निर्देशन गरेका हुन् ।
गायक इरिक गिरीले तिहारका लागि ‘झिलीमिली झिलीमिली...’ शीर्षकको गीत तयार पारेका छन् । यो गीतको भिडियोमा हरि भारती, इरिक गिरी, सुष्मा क्षेत्री, ममता क्षेत्री, सरोज क्षेत्री, नविन बानियाँ, दिलकुमार बस्नेत, दिल सिटौला, रिसोल गिरी, रचना पौडेल, बबिता पौडेल आदिलाई फिचर गरिएको छ ।
माधव दाहाल, गन्धर्व राज पौडेल, यमुना नेपाल तथा मीना नेपालले ‘देउसी रे...’ शीर्षकको गीत गाएका छन् । माधव दाहाल तथा गन्धर्व राज पौडेलको संगीतको यो गीतको भिडियोलाई विनोद श्रेष्ठले निर्देशन गरेका हुन् । यही समूहले ‘भैलिनी आइन आँगन...’ शीर्षकको गीत पनि तयार पारेको छ ।
नवराज जीएम तथा करिश्मा बिसीले ‘तिहारमा देउसी रे...’ शीर्षकको गीत गाएका छन् जसमा गायक जिएमकै संगीत छ । तिहारको वातावरण सिर्जना गरिएको यो गीतको भिडियोलाई विक्रम गौचनले निर्देशन गरेका हुन् ।
चन्दा अर्याल तथा धर्मेन्द्र शाहीले गाएको ‘दिदी तिहारमा घर....’ शीर्षकको गीतको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् यो गीत ऋषि खड्काले संगीतबद्ध गरेका हुन् जसको भिडियोमा नरेश एमसी, सुशीला लामा, रेमा थपलिया, गोपाल परियार तथा रिता परियारले अभिनय गरेका छन् । यो भिडियोका कलाकारहरू सशस्त्र प्रहरीको युनिफर्ममा प्रस्तुत भएका छन् ।
गायक किरण विमलीले गौरव दर्पणको संगीतमा गएको ‘दसैं–तिहार...’ गीतमा तिहारको रमझम चित्रण गरिएको छ । सुप्रिया कटवाल, नम्रता सापकोटा, चर्चित, दीपक आदि कलाकारले अभिनय गरेको यो भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् ।
गायक खुमन अधिकारी तथा गायिका शिलु भट्टराईको स्वरको ‘देउसी–भैलो’ गीतलाई दर्शकले मन पराएका छन् । ंखुमन अधिकारीको संगीतको यो गीतको भिडियोलाई मनिष पन्थले निर्देशन गरेका हुन् ।
रक्तिम सांस्कृतिक अभियान काठमाडौंले हेमराज आश्रम, थुमराज ढुंगाना तथा दिलमाया पुनको स्वरमा ‘तिहार आयो...’ शीर्षकको गीत तयार पारेको छ । हेमराजको संगीतको यो गीतको भिडियोमा सुप्रभा थापाको कोरियोग्राफी छ ।
चन्द्रा चलाउने, लीला गुरुङ तथा यज्ञ विकको स्वरको ‘देउसी–भैलो दिदीबहिनी...’ गीतको म्युजिक भिडियोलाई होम धितालले निर्देशन गरेका छन् भने सागर राईको गायन तथा संगीतको ‘वर्ष दिनको तिहार...’ गीतको भिडियोको निर्देशन विशाल गुरुङले गरेका छन् ।
विनोद गुरुङको ‘दसैं आयो तिहार आयो...’ गीतको म्युजिक भिडियोमा अभिनेता दिलीप रायमाझीले अभिनय गरेका छन् । यो गीतका संगीतकार, गीतकार तथा भिडियो निर्देशक अगोम गुरुङ हुन् ।
नविन शेर्पाको स्वरको ‘दसैं–तिहार...’ गीतमा गायक शेर्पा तथा प्रमोद निर्माणको संगीत सुन्न सकिन्छ । यो गीतको भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् ।
चाँदनी मल्ल, टंक तिमिल्सिना तथा शंकर सिंह विष्टको स्वरको ‘देउसी–भैलो...’ गीतलाई टंक तिमिल्सिनाले संगीतबद्ध गरेका छन् । यो गीतको भिडियोलाई यम गुरुङले निर्देशन गरेका छन् ।