साप्ताहिक संवाददाता
कन्दरा समूहका मुख्य भोकलिस्ट विवेक श्रेष्ठ पोखरामा जन्मिए पनि उनको बाल्यकाल भने स्याङ्जाको वालिङमा बितेको थियो । कक्षा सातसम्म आफ्नी ठूलीआमाको घर वालिङ बसेर पढेका श्रेष्ठ सानैदेखि गीत–संगीतमा रुचि राख्थे, तर पारिवारिक वातावरण संगीतमय नभएका कारण यात्रा अघि बढाउन सहज थिएन ।
वालिङमै पढ्ने क्रममा दार्जीलिङबाट आएका शिक्षकको आग्रहमा उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गरे । आठ कक्षा पढ्न भने उनी पोखरामा आए । पोखराको बाराही स्कुलमा भर्ना भएका विवेकको भेट सुनिल थापासँग भयो । स्कुल पढ्ने क्रममा सुनिल टेबल बजाउँथे, विवेक गीत गुनगुनाउँथे । विस्तार उनीहरूका गीत सहकर्मी साथीले मात्र नभएर शिक्षकहरूले समेत रुचिपूर्वक सुन्न थाले ।
सुनिल थापा त्यतिबेला कला र संगीतमा रुचि राख्ने युवाहरूले गठन गरेको पिस ह्यान्की क्लबमा आबद्ध थिए । सुनिलकै आग्रहमा विवेकले सुनिलले नै रचना गरेको अनि संगीत दिएको ‘आजभोलि रात’ गीतमा आवाज दिए, त्यतिबेला उनको उमेर १३ वर्ष मात्र थियो । त्यही गीतमार्फत विवेकको पहिचान बन्यो ।
उनी पिस ह्यान्की समूहमा तीन वर्ष आबद्ध रहे । त्यही समयमै पिस ह्यान्की समूहमा रहेका रक शैलीका गीत मन पराउनेहरूले ‘२४ क्यारेट’ रक ब्यान्ड स्थापना गरे, जसमा बुद्धराज बर्जाचार्य, विजय गुरुङ, दीपकराज मुल्मी, आनन्द तजिया तथा सुनिल भट्टचन आबद्ध थिए । रक ब्यान्ड २४ क्यारेट नै पछि गएर कन्दरा समूहका रूपमा चिनिन पुग्यो । एकदिन घरमै किक्रेट खेलिरहेका विवेकलाई कन्दराका म्यानेजर दीपकराज मुल्मीले गीत रेर्कडका लागि काठमाडांै जान आग्रह गरे ।
‘चञ्चले कान्छी’ गीत रेकर्ड गर्न काठमाडौं पुगेका विवेकले लगातार पाँचवटा गीतमा आवाज भर्न पाए । ती गीतले एकपछि अर्को गर्दै श्रोताको मन जिते । कन्दरा समूहलाई कन्सर्टको अफर आउन थाल्यो अनि बाध्य भएर विवेक श्रेष्ठ पिस ह्यान्की छाडि कन्दरामै आए आफूमात्र होइन सुनिल थापा र अमर गुरुङलाई समेत लिएर । हाल कन्दरा समूहमा बुद्धराज बर्जाचार्य, सुनिल थापा, विवेक श्रेष्ठ अमित गुरुङ, असिम शेरचन, अविनाश गायक तथा अनिल गुरुङ संलग्न छन् ।
वि.सं. २०५० मा पहिलो एल्बम ‘चञ्चले कान्छी’ सार्वजनिक गरेको यो समूहले प्रयोग गरेको लोकपप गीत दर्शक–श्रोताले निकै रुचाए । कन्दराले नेपाली संगीतको क्षेत्रमा नयाँ धारको विकास गर्यो । २०५२ मा ‘डाँडापारि’ र २०५५ मा ‘हङकङ पोखरा’ सार्वजनिक भएपछि यो समूहको चर्चा अझ बढ्यो । समूहको लोकप्रियतासँगै कन्दरा धेरै कन्सर्ट गर्ने ब्यान्डका रूपमा चिनिन थाल्यो । यद्यपि यो समूहले निरन्तर एल्बम निकाल्न सकेन । सात वर्षको अन्तरालमा २०६२ सालमा चौथो एल्बम ‘वर्षौं पछि’ सार्वजनिक भयो । त्यसो त कन्दरा ब्यान्डका मुख्य भोकलिस्ट विवेकको २०५७ मा आएको सोलो एल्बम ‘उत्सव’ले उनको उचाइ बढाएको थियो । समूहको पाँचौं एल्बम भेडीगोठमै वि.स.२०७२ सालमा बजारमा आएको हो ।
कन्दरा केही वर्ष सुस्ताएको पोखराको संगीतको वातावरणलाई पुनस्र्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ । पछिल्लो एल्बम भेडीगोठैबाट पुन: श्रोता–दर्शकको माया पाउन सफल यो समूह नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएर लाग्ने भोकलिस्ट विवेक श्रेष्ठ बताउँछन् । ‘अहिलेको संगीतिक वातावरण अलि फरक छ, त्यसैले कन्दरा शैलीकै गीतलाई नयाँ टेस्टका साथ प्रस्तुत गर्दै हाम्रो पुनरागमन भएको छ,’ श्रेष्ठले भने ।
यसैबीच सांगीतिक कार्यक्रममा सहभागिता जनाउन ‘कन्दरा’ समुह यतिबेला अष्ट्ेरलिया पुगेको छ । करिव डेढ महिनासम्म अष्ट्ेरलियाका विभिन्न शहरमा कन्दराले आफ्ना गीत–संगीत प्रस्तुत गर्नेछ ।