संसारबाट बिदा भैसकेका तीन जना स्रष्टा गायिका तारादेवीको स्वर, नातिकाजीको संगीत तथा चाँदनी शाहका शब्दहरूको गीत ‘उकाली–ओरालीहरूमा...’ नसुन्ने नेपाली श्रोता कमै होलान् । कुनै बेला रेडियो नेपालबाट नियमित प्रसारण हुने यो गीत युवापुस्ताले कमै सुनेको अनुभव गरेपछि प्रिज्म एड्भर्टाइजिङले नयाँ संगीत संयोजन तथा स्वरसहित एउटा म्युजिक भिडियो तयार पारेको छ । हुन त यो भिडियोमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यति रमणीय दृश्य समेटिएका छन् कि यसले विश्वभरिका नेपालीलाई आफ्नो सुन्दर देशप्रति गौरव गर्न बाध्य तुल्याउँछ । अर्को अर्थमा यो भिडियोले नेपालको पर्यटन प्रवद्र्धनमै ठूलो भूमिका खेलिरहेको छ ।
यो कर्पोरेट भिडियोलाई सशक्त तथा प्रभावकारी बनाउने एक प्रमुख व्यक्ति हुन्— प्रिज्म एट्भर्टाइजिङका प्रबन्धक रञ्जित आचार्य । आचार्यले विज्ञापन व्यवसायीका रूपमा हालसम्म सयौं विज्ञापन बनाए तर आफू सबैभन्दा सन्तुष्ट भएको प्रोजेक्ट ‘उकाली–ओरालीहरूमा...’ नै भएको रञ्जित बताउँछन् । ‘करिब पाँच मिनेट लामो यो भिडियो तयार पार्न हामीले झन्डै पाँच महिना मेहनत गरेका छौं, साप्ताहिकसँगको भेटमा आचार्यले भने— ‘बजाज मोटरसाइलकले हरेक नेपालीको मन जितेको छ, देशका हरेक क्षेत्रमा यसका उत्पादनहरू मन पराइएको छ भन्ने सन्देश दिन हामी एउटा यस्तो सामग्री तयार पार्न चाहन्थ्यौं, जसले हरेक नेपालीको मन जितोस् ।’
आचार्यका अनुसार त्यसका लागि उनीहरूले सयौं नेपाली गीत सुने । सर्ट लिस्टमा दौंतरी यो छुट्ने छैन, यो बाटो कहाँ जाने हो, साथीसंगी, उकाली–ओरालीहरूमा जस्ता केही गीत छनौट भए । सबैको सहमतिमा ‘उकाली–ओरालीहरूमा...’ कै शब्दमा आधारित गीत रि–एरेञ्ज गरेर रेकर्ड गर्ने निर्णय भयो । आचार्यका अनुसार तारादेवीको जस्तो हाइस्केलमा गाउन सक्ने पुरुष स्वरका रूपमा एड्रियन प्रधानलाई छनौट गरियो । जेम्स प्रधानले रि–एरेञ्ज गरेपछि उक्त गीत एड्रियनको स्वरमा रेकर्ड भयो ।
गीत तयार भएपछि आचार्यसहितको समूह भिडियोको अवधारणा बनाउन सक्रिय भयो । आधा दर्जन छलफलपछि एउटै पल्सर बाइकमा पूर्वको इलाम (चिया बगान) देखि पश्चिमको महाकाली (दोधारा, चाँदनी) सम्म अनि दक्षिणको लुम्बिनीदेखि उत्तरको मुस्ताङसम्म पुगेर छायांकन गर्ने निर्णय भयो । ‘हामी यो भिडियोमा नेपाललाई चिनाउने हरेक ठाउँ समेट्न चाहन्थ्यौं, आचार्यका अनुसार दर्जनौं विज्ञापन बनाइसकेका नवीन जोशीलाई उक्त भिडियो निर्देशनको जिम्मा लगाइयो । चलचित्रका कुशल छायाँकार दीर्घ गुरुङले भिडियो छायांकन गर्ने तय भयो । किरण श्रेष्ठले बाइक चालकका रूपमा अभिनय गर्ने भए । त्यसपछि भिडियोको जम्बो टोलि छायांकनका लागि निस्कियो । जम्मा २८ दिन लगाएर छायांकन गरिएको उक्त भिडियोमा दोधारा चाँदनी, धनगढी, मुस्ताङ, रारा ताल, भैरहवा, लुम्बिनी, सौराहा, जनकपुर, धरान, इलाम, पाटन तथा भक्तपुरसम्मका मनमोहक दृश्य समेटिएका छन् ।
सम्पादनपछि एउटा आकर्षक भिडियो तयार भयो । लगत्तै गरिएको परिक्षण प्रदर्शनपछि गोल्छा अर्गनाइजेसनका प्रमुख शेखर गोल्छाले आँखाभरि खुसीका आँसु छचल्काउँदै लामो समयसम्म ताली पिटेका थिए । नेपथ्यले केही साताअघि काठमाडौंको टुँडिखेलमा प्रस्तुत गरेको कन्सर्टका क्रममा पहिलो पटक उक्त भिडियो प्रिमियर गरियो । लगत्तै युट्युबमा अपलोड गरिएको यो भिडियो ५० हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
‘म्युजिक नेपालसँग पहिलो अनुमति लिएपछि हामीले नातिकाजी संगीत प्रतिष्ठानसँग पनि अनुमति लियौं,’ आचार्य भन्छन्— ‘हामीले गीतको रोयल्टी बुझाएपछि नै यो गीतको रि–एरेञ्ज गर्न थालेका थियौं । हाम्रो टिमले गरेको मेहनतले आज रंग ल्याएको छ । यो भिडियोले सबैको मन जित्न सकेकोमा हामी असाध्यै खुसी छौं ।’