साप्ताहिक संवाददाता
नेपाली टेलिभिजन च्यानल तथा युट्युबमा अहिले एउटा नेपाली म्युजिक भिडियो चर्चामा छ । झट्ट हेर्दा कुनै विदेशी कलाकारले नेपाली गीत गाएझैं देखिने उक्त भिडियो थाइल्यान्डको चर्चित पर्यटकीय क्षेत्र पटायाको समुद्री किनारमा खिचिएको हो । पाश्चात्य संगीतकर्मीहरूले लगाउने पहिरनमा लामो डेडलक हेयरस्टाइलमा सजिएका ती मोडल हुन्— गायक, गीतकार तथा संगीतकार विनोद ढकाल । ‘बाजेले गिटार बजाको...’ शीर्षकको उक्त गीतका स्रष्टा पनि ढकाल स्वयं हुन्, जो कक्षा ९ मा अध्ययनरत छँदादेखि नै रेगी संगीतका महारथी बब मार्लीको प्रशंसक रहँदै आएका छन् । वास्तविक जीवनमै बब मार्लीको झैं गेटअपमा सजिएका गायक ढकाललाई यो गीतले अहिले स्वदेश मात्र होइन, विदेशमा समेत चिनाउँदैछ ।
एक दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक, गीतकार तथा संगीतकार विनोद ढकाल यतिबेला रेगी गायकका रूपमा स्थापित हुने क्रममा छन् । बब मार्लीको रेगी शैलीलाई पछ्याउने निकै कम नेपाली संगीतकर्मीमध्ये एक हुन्— विनोद ढकाल । आरुघाट, धादिङका ढकालले झन्डै एक वर्षको मेहनतपछि ‘बाजेले गिटार बजाको...’ गीत तथा भिडियो तयार पारेका हुन् । आफ्नै शब्द, संगीत तथा स्वरको यो रेगी गीतको म्युजिक भिडियोका पनि आकर्षक छ । आफ्नै अभिनय तथा निर्देशनको उक्त गीतको भिडियो पनि गायक ढकाल रेगी शैलीमै प्रस्तुत भएका छन् । अनुप गिरीको छायांकनको उक्त भिडियोका सम्पादक सुशील न्यौपानेले त्यसमा रेगी शैली झल्कने रंग संयोजन गरेका छन् ।
गायक ढकाल र्याप तथा पप गायक हुन् । एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा र्याप गायन तथा संगीतकारका रूपमा काम गरिसकेका ढकालले विगतमै लोकप्रिय भएको ‘उकालीमा पनि हजुर ट्याक्सी गुड्दो रै’छ’ गीतमा रामचन्द्र काफ्ले तथा अञ्जु पन्तको स्वरमा र्याप दिएका थिए । त्यसबाहेक ढकालले सिर्जना गरेका तुफान यातायात ननस्टप एक्सप्रेस, मलेखु धादिङ आरुघाट, गाडी नम्बर ५८५ आदि गीतमा समेत र्याप दिएका गायक ढकालले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाल्टिन’ का ह्विस्कि तथा कबवेबजस्ता गीत तयार पारेका छन् । २०६१ सालमा डाउनलोड तथा २०६८ सालमा होमवर्क शीर्षकका एकल एल्बम सार्वजनिक गरिसकेका गायक ढकालले ‘बाजेले गिटार बजाको’ गीतलाई हालै सार्वजनिक भएको तेस्रो एल्बम ‘होमवर्क रिलोडेड’ मा समावेश गरेका छन् । पप, रक, र्याम, मेटल, रेगीजस्ता विधाका संगीत सिर्जना गर्न सिपालु ढकालले लोक तथा आधुनिक गीतमात्र गाउन बाँकी छ । ‘ती दुई विधामा म फिट हुन्नँ,’ लामो केश स्याहार्दै ढकालले साप्ताहिकसँग भने— ‘सक्छु भन्दैमा आफूलाई नसुहाउने विधामा हात हाल्नु हुँदैन ।’
‘बाजेले गिटार बजाको...’ गीत लोकप्रिय भएपछि उनलाई कन्सर्टमा भ्याइ–नभ्याइ छ । स्वदेशका विभिन्न स्थानमा आयोजित कन्सर्टमा यही गीत गाइरहेका ढकाललाई अहिले विदेशका कार्यक्रमबाट पनि निम्तो आउन थालेको छ । एक बिहान छिमेकी घरमा हजुरबुवा र नाति एउटा सानो गिटारसँग खेलिरहेको देखेपछि ‘बाजेले गिटार बजाको’ गीत फुरेको बताउने गायक ढकाल भविष्यमा समेत पृथक् शैलीको संगीत सिर्जनामा सक्रिय रहने सुरमा देखिन्छन् । सांगीतिक क्षेत्रमा प्रवेश गरेलगत्तै केश लामो बनाउन थालेका गायक ढकालले उक्त केशलाई अहिले आफ्नो स्टायल सिम्बोल नै बनाएका छन् । ‘नेपालमा रेगी संगीतलाई पनि लोकप्रिय बनाउन सकिन्छ, गायक ढकाल भन्छन्— ‘हामी संगीतकर्मीले रिक्स लिन सक्यौं भने थुप्रै रेगी गायक देखा पर्न सक्छन् ।’