युवाहरूको रोजाइमा पर्ने एउटा राम्रो सरकारी जागिरमध्ये नेपाल प्रहरी सेवा पनि एक हो । देश र जनताको सेवामा समर्पित हुन चाहने युवा–युवतीका लागि नेपाल प्रहरीले जनपद एवं प्राविधिक समूह गरी २ हजार ६ सय ४७ पदमा दरखास्त आह्वान गरेको छ । एसएलसी उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिम लिएका उम्मेदवारले प्राविधिकतर्फ भिड्न पाउनेछन् । त्यसैगरी कक्षा ८ वा सो सरह उत्तीर्ण गरेका युवा/युवतीले जनपद प्रहरीतर्फ दरखास्त दिन सक्छन् । प्राविधिक समूहतर्फ १ हजार ३३ जना तथा जनपद प्रहरीतर्फ १ हजार ६ सय ४५ पदमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुवै समूहका लागि १ फागुनदेखि दरखास्त लिन थालिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार दरखास्त लिने प्रक्रिया फागुन ३० गतेसम्म जारी रहनेछ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाका अनुसार जनपदमा खुल्ला, अमर/अशक्त प्रहरी, मधेसी, महिला दलित एवं पिछडिएको क्षेत्रका लागि छुट्टाछुट्टै कोटा तयार गरिएको छ । खोलिएको १ हजार ६ सय ४५ मध्ये ८ सय ८७ पदमा योग्यता पुगेका जोसुकैले दरखास्त दिन सक्छन् भने बाँकी पदमा तोकिएको समूह भित्र पर्नेले मात्र दरखास्त दिन पाउनेछन् ।
सहज रूपमा दरखास्त दिन पाउन भनेर शाखाले उपत्यकाका लागि तीन वटै परिसरबाट फारम लिने र बुझाउने व्यवस्था मिलाएको छ भने काठमाडौं बाहिर पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र दूधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायल तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फारम लिन एवं बुझाउन पाइने व्यवस्था गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताएका छन् ।
जनपद प्रहरीतर्फ
कम्तीमा कक्षा आठ उत्तीर्ण गरेका तथा १८ वर्ष पूरा गरी २३ वर्ष नकटेका नेपाली नागरिकले जनपद प्रहरी जवानका लागि दरखास्त दिन सक्छन् । यो पदका लागि पुरुषको हकमा उचाइ ५ फिट २ इन्च, छाती नफुलाउँदा ३१, फुलाउँदा ३३ इन्च तथा तौल कम्तीमा ५० किलोग्राम हुनुपर्नेछ । महिला उम्मेदवारको हकमा उचाइ ५ फिट, तौल कम्तीमा ४२ किलोग्राम हुनुपर्छ । त्यस्तै आँखाको दृश्य शक्ति
माइनस
२ वा प्लस २ भन्दा बढी कमजोर हुनुहुँदैन । प्रहरी जवान हुन चाहने युवा–युवतीले विगतमा नैतिक पतन देखिने कुनै पनि फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्छ भने दरखास्त दिदाको बखत कुनै पनि राजनैतिक दल र आतंककारी संगठनको सदस्य भएको हुनुहुँदैन । यो पदका लागि भविष्यमा सरकारी नोकरीका लागि अयोग्य ठहरिने गरी कुनै किसिमको कसुरमा बात नलागेको हुनुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।
शारीरिक तन्दुरुस्तीको परीक्षण
शारीरिक तन्दुरुस्ती जाच उत्तीर्ण गर्न पुरुषले ३ सय मिटर दौड ४५ सेकेन्डदेखि ५६ सेकेन्ड तथा महिलाले ५५ देखि ६७ सेकेन्डभित्र पूरा गर्नुपर्नेछ । २ माइल दौड पुरुषले १८ मिनेट भित्र तथा महिलाले २२ मिनेटमा पूरा गरिसक्नुपर्ने प्रहरी पाठयक्रममा उल्लेख छ । त्यसैगरी पुरुषले लङजम्प कम्तीमा ११ फिट, हाईजम्प ३ फिट, सिटअप १२ पटक, पुसअप १० पटक, चिनअप ५ पटक अनिवार्य गर्नुपर्नेछ भने महिलाका लागि लमजम्प कम्तीमा ९ फिट, हाइजम्प २ फिट, सिटअप, ५ पटक, पुसअप ४ पटक तथा चिनअप कम्तीमा १ मिनेटसम्म झुन्डिन सक्ने हुनुपर्छ ।
लिखित परीक्षा
दुई घण्टाको अवधिमा सय पूर्णांकको परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । लोकसेवाको प्रत्यक्ष संलग्नतामा हुने लिखित परीक्षामा नेपाली रचना, अंग्रेजी एवं गणितबाट विषयगत प्रश्न सोधिन्छ भने ४० पूर्णांकको सामान्य ज्ञान र बौद्धिक परीक्षामा बहुवैकल्पिक प्रश्न सोधिन्छ । दरखास्त दिएका उम्मेदवारहरूले स्वास्थ्य परीक्षण, शारीरिक परीक्षण, लिखित तथा मौखिक परीक्षा उत्तीर्ण गरे नेपाल प्रहरीको जवानका लागि योग्य हुने प्रहरी प्रवक्ता सर्वेन्द्र खनाल बताउँछन् । यी चारवटै प्रक्रिया पूरा गरेपछि नेपाल प्रहरीको विशेष तालिममा सहभागी हुनुपर्छ ।
प्राविधिकतर्फ
विभिन्न प्राविधिक पदका लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भै २३ वर्ष ननाघेको हुनुपर्छ तर बहालबाला श्रेणीविहीन कर्मचारीले भने २५ वर्षसम्म दरखास्त दिन सक्छन् । प्रहरी जवान पदका लगि आवश्यक स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित तथा मौखिक परीक्षाका साथै सम्बन्धित विधाको योग्यता प्राविधिकतर्फ पनि आवश्यक मानिएको छ ।
कुन विधामा कस्तो योग्यता ?
मेकानिकल इन्जिनियरिङ तथा सवारी
कम्तीमा टेस्ट उत्तीर्ण भै मान्यता प्राप्त प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वा सो सरहको संस्थाबाट सम्बन्धित विषयमा दोस्रो तहको सीप प्रमाणपत्र प्राप्त गरेको ।
मेकानिकल–विपद् व्यवस्थापन
कम्तीमा टेस्ट उत्तीर्ण भै मान्यताप्राप्त प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वा सो सरहको संस्थाबाट सम्बन्धित विषयमा दोस्रो तहको सीप प्रमाणपत्र प्राप्त गरेको ।
स्वास्थ्य
एसएलसी उत्तीर्णपश्चात् मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा तीन महिना स्वास्थ्यसम्बन्धी तालिम प्राप्त गरेको ।
सञ्चार
मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा ६ महिने तालिम प्राप्त गरेको वा सो सरहको कोर्ष पूरा गरेको ।
संगीत
साधारण लेखपढ गर्न जान्ने । सामान्य स्टाफ नोटेसनसम्बन्धी ज्ञान भएको, कुनै एउटा संगीत विद्यामा म्युजिक हेरी बजाउन सक्ने ।
आवास तथा भौतिक इन्जिनियरिङ
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् वा सो सरहको संस्थाबाट सम्बन्धित विषयमा सीप प्रमाणपत्र प्राप्त गरेको ।
सूचना प्रविधि/कम्प्युटर
मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एसएलसी वा सो सरह उत्तीर्ण गरेको तथा मान्यता प्राप्त तालिम संस्थाबाट कम्तीमा १ महिनाको सूचना प्रविधि विषयको तालिम सीप प्रमाणपत्र प्राप्त गरेको ।
कुकुर स्कुल
कम्तीमा एसएलसी उत्तीर्ण गरेको ।
विधि विज्ञान
नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण गरेको ।
हातहतियार (आर्मर)
मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तीर्ण गरी ६ महिनाको जनरल मेकानिक्स तालिम प्राप्त वा टीएसएलसी उत्तीर्ण ।
आवश्यक कागजात
- नेपाली नागरिकताको प्रतिलिपि १ प्रति ।
- हाल सालै खिचिएको दुवै कान देखिने पासपोर्ट साइजको फोटो ५ प्रति ।
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि १/१ प्रति ।
- आदिवासी/जनजाति समूहमा आवेदन दिने उम्मेदवारको हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि ।
- दलित कोटाका लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि ।
- मधेसी कोटाका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाणपत्रको प्रतिलिपि ।
- पिछडिएको क्षेत्रका लागि तोकिएका जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको वा स्थायी बसोबास भएको जिल्लाबाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भए नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयबाट त्यसो गर्नु परेको कारण उल्लेख भएको पत्र ।
- अमर/अशक्त प्रहरी परिवारको कोटामा दरखास्त दिन अमर/अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र एवं नाता प्रमाणित कागजपत्र ।
यस्तो अंग भएकाहरू अयोग्य मानिन्छन्
१. अंगभंग/कुरुप देखिने
२. हातखुट्टा बांगो–टिंगो र औंलाहरू ठीक नभएका
३. घुँडा Knee Lock भएको अथवा Rickets भै फाटिएको (K2 / K2) भन्दा माथिको) ।
४. धेरै चेप्टो पैताला भएका (भालुपाइले)
५. प्रष्ट बोली नभएका/भकभके
६. लठ्यौरा
७. ढाड कुप्रो भएका
८. पूरा शरीर झुकाउन नसक्ने
९. जिउ कोल्टे परेका (बांगो शरीर भएका)
१०.दुबी भएका
११.केश झरेका, फुलेका वा रंगाएका
१२. लुरे (उचाइअनुसार अत्यधिक दुब्लो)
१३. डेढो आँखा
१४. कुनै एक आँखा चिम्लन नसक्ने
१५. उचाइअनुसार हुनुपर्ने तौलभन्दा अत्यधिक बढी वा कम तौल भएका
१६. शरीर मोटो तर हातखुट्टा झिनो देखिने
१७. अनुहारमा अस्वभाविक दाग भएका
१८. शरीरको बाहिर देखिने भागमा ट्याटु बनाएका
१९. २ वटाभन्दा बढी दाँत कीराले खाएको वा झरेको
२०. भेरिकोच वा नशा फुल्ने समस्या भएका