साप्ताहिक संवाददाता
कामदारको सुरक्षा, राम्रो कमाइ र कम लगानीका कारण कोरिया नेपाली युवाहरूको आकर्षक गन्तव्य रहँदै आएको छ । सन् २००८ देखि कोरियाले नेपाली कामदार लैजान थालेको हो । विशेष गरी कृषि तथा उत्पादनमुलक क्षेत्र (उद्योग) मा नेपाली कामदार कोरियालीको रोजाइमा पर्ने गरेका छन् । वैदेशिक रोजगारी खुला भएका देशहरूमध्ये कोरिया कम खर्च गरेर राम्रो आम्दानी हुने देश हो । फारम भर्नेदेखि लिएर स्वास्थ्य जाँच लगायतका प्रक्रिया पूरा गर्न बढीमा ५० हजार खर्च हुन्छ । खर्चको हिसाबमा आम्दानी आकर्षक छ । भाषा परीक्षा उत्तीर्ण भएर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया गएका कामदारले पहिलो महिना कम्तीमा पनि १ लाख रुपैयाँ तलब प्राप्त गर्न सक्छन् । कामको प्रकृति एवं कामदारको लगनशीलतामा पनि तलब निर्धारण हुने हुँदा कोरिया जाँगरिला युवाहरूको पहिलो रोजाइ बन्ने गरेको छ ।
कोरिया सरकारले विगतका वर्षभन्दा आगामी वर्षका लागि नेपाली कामदारको कोटा पनि बढाएको छ । विगतका वर्षहरूमा ३ हजार नेपालीले अवसर पाएकोमा आगामी वर्ष २०१८ का लागि भने तीन गुणा बढाएर १० हजार २ सय माग गरिएको वैदेशिक रोजगार विभाग इपिएस शाखाका प्रमुख बाबुराम खतिवडाले बताए । १० हजार २ सय मध्ये ६ हजार २ सय जना कृषि पेसाका लागि तथा बाँकी ४ हजार उत्पादनमूलक क्षेत्रका लागि माग गरिएको शाखाले जनाएको छ । यसका लागि भाषा परीक्षाको आवेदन फारम भर्ने र परीक्षा मिति पनि तोकिइसकेको छ ।
आगामी वर्षका लागि आगामी चैत ९ देखि भाषा परीक्षाको आवेदन खुल्नेछ । ९ दिनका लागि (चैत १८ सम्म) खुल्ने उक्त आवेदनलाई यो वर्षदेखि अनलाइनमार्फत नै पठाउन सकिने खतिवडाले जानकारी दिए । ‘विगतका वर्षहरूमा लिखित फारम लिँदा लामो समय लाइनमा बसेर अनावश्यक हैरानी बेहोर्नुपर्ने बाध्यता थियो ।’ खतिवडाले भने, ‘यसपटकदेखि भने हामीले अनलाइन फारम तयार गरेका छौ ।’ अनलाइनबाटै फारम भर्ने व्यवस्था भएपछि काठमाडौंमै आएर फारम बुझाउनुपर्ने बाध्यतासमेत हटेको खतिवडा बताउँछन् । विगतका वर्षहरूमा यो फारम भर्न मात्र युवाहरू रातभर लाइनमा बस्थे । बैंकमा भौचर लिनदेखि फारम बुझाउन तथा प्रवेशपत्र लिन उनीहरूले पटक–पटक दु:ख पाउँदै आएका थिए । शाखाले यस पटकदेखि भने बैंक भौचर लिएपछि सम्पूर्ण काम अनलाइनबाटै हुने गरी तयारी गरेको छ । प्रवेशपत्र पनि आवेदकको इमेलमै पठाउने व्यवस्था मिलाइएको खतिवडाले बताए । भाषा परीक्षा २०७४ जेठ २७ र २८ गते हुनेछ भने त्यसको परीक्षाफल १६ असार २०७४ मा इपिएस शाखाको बेबसाइडमा प्रकाशित हुनेछ ।
परीक्षाको फारम
१८ वर्ष पूरा गरी ३९ वर्ष नकटेका नेपाली नागरिकले कोरियामा कामदारका रूपमा कोरिया जाने फारम भर्न सक्छन् । सामान्य साक्षर मानिसका लागि पनि भाषा परीक्षामा उत्तीर्ण भए कोरिया जाने बाटो खुला हुन्छ, तर कुनै पनि फौजदारी अभियोगमा संलग्न नभएको तथा यसअघि कोरिया सरकारले अयोग्य भनी कारबाही गरेको हुनुहुँदैन भने नेपाल सरकारले विदेश जान रोक लगाएको पनि हुनु हुँदैन।
कसरी भर्ने अनलाइन फारम ?
इपिएसको वेब भयभचक।भउकलभउब।िनयख।लउ खोलेपछि पेपर वेस्ट टेस्ट भन्ने आइकोन देखिन्छ, त्यहाँ क्लिक गरेपछि ग्लोबल आईएमई बैंकमा पैसा बुझाएको भौचरको नम्बर भर्नुपर्छ । उक्त भौचर नम्बर भरिसकेपछि नेक्स्ट अप्सनमा क्लिक गरी आफ्नो पासपोर्ट अपलोड गर्न भनिन्छ । पासपोर्टलाई पहिले नै स्क्यान गरेर फोटोका रूपमा तयार राख्नुपर्छ । पासपोर्ट चुज अप्सनमा क्लिक गरेपछि स्क्यान गरेर राखिएको पासपोर्ट अपलोड गर्न सकिन्छ । पासपोर्ट अपलोड भएपछि नेक्स्ट बटम थिच्दा रोजगारी अनुमति प्रणाली कोरियन भाषाको परीक्षा आवेदन फारम आउँछ । उक्त फारम भर्नु पहिले आफ्नो इमेल अनिवार्य चाहिन्छ ।
त्यहाँ भएका विवरण भरिसकेपछि अन्तमा आफ्नो तस्बिर छानेर अपलोड गर्नुपर्ने हुन्छ । फारम पूरा भरिसकेपछि त्यसमा केही छुटफुट छ कि भनेर पुन: हेरी समिट गर्नुपर्छ । समिट गरेपछि पनि केही बिग्रिएको छ कि भनेर पुन: हेर्न कम्प्युटरले आग्रह गर्छ, यदि केही बिग्रिएको छ भने इडिट अप्सनमा गएर त्यसलाई सच्याउन सकिन्छ भने ठीक भए सीधै समिटमा क्लिक गर्न सकिन्छ । फारम समिट गरिसकेपछि एप्रुभ भएर आफ्नो इमेलमा आफ्नो आइडी कार्ड आउँछ । त्यही भएर इपिएस फारम भर्नुअघि इमेल एकाउन्ट अनिवार्य छ ।
परीक्षाको तयारी
कोरियन भाषाको परीक्षाको तयारीका लागि सबैभन्दा पहिले परीक्षाको प्रकारमा ध्यान दिनुपर्छ भाषाको अध्ययनमा आधारित सय पूर्णांकको २५ वटा प्रश्न सोधिन्छ जुन ४० मिनेटमा पूरा गर्नुपर्ने हुन्छ । त्यसैगरी सय पूर्णांक सुनाइ परीक्षा पनि हुन्छ, जसका लागि ३० मिनेट समय छुट्याइएको हुन्छ । भाषा सिकाइका लागि काठमाडौंमा अनेकौं इन्स्टिच्युट खोलिएका छन् भने राजधानीबाहिर पनि भाषा अध्यापन केन्द्रहरू खुलिरहेका छन् । तीन महिनादेखि ६ महिना मेहनतका साथ अध्ययन गरे भाषा परीक्षाका लागि आवश्यक सीप हासिल गर्न सकिने सगुन कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युट बागबजारका सञ्चालक सरोज थापा बताउँछन् । ‘मेहनत गर्न सक्नेका लागि ३ देखि ६ महिनाको समय पर्याप्त हुन्छ ।’ थापा भन्छन्, ‘हामीले बाटो देखाइदिने हो, मेहनतचाहिँ आफंैले गर्नुपर्छ ।’