२०७३ साललाई मात्र हेर्ने हो भने यो वर्ष मञ्चन गरिएका सयौं नाटकमध्ये दुई दर्जनभन्दा बढी नाटकले राम्रै चर्चा एवं प्रतिक्रिया पाए । यी नाटकले दर्शकलाई रंगमञ्चतर्फ ध्यान केन्द्रित गर्न बाध्य बनाए । सर्वनाममा मञ्चन भएको मान्छे पोल्ने भट्टी, मण्डलाको आरोप र एक बोली एक दाम, थिएटर मलको बेड नम्बर ९९, एकलव्यको अन्तिम टेप, बहुलाकाजीको सपना तथा मान भर्सेस मति, सिल्पी थिएटरको चिरिएका साँझहरू आदि नाटकले पर्याप्त चर्चा पाए । २०७३ सालमा मञ्चन भएका केही उत्कृष्ट नाटक :
भोको घर
नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’को नाटक ‘भोको घर’ले सुन्धारास्थित थिएटर मलमा धेरै दर्शक तान्यो । मध्यमवर्गीय परिवारको आर्थिक समस्यामा केन्द्रित यो नाटकका कलाकारहरूको अभिनय पनि प्रशंसनीय रह्यो । नाटक भोको घरलाई रंगकर्मी केदार श्रेष्ठले निर्देशन गरेका थिए ।
थाङला
सन् १९९८ मा पोखरामा मञ्चन भएको थाङ्ला यो वर्ष काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुँदा दर्शकको भीड थामिनसक्नु थियो । दर्शकको चाप बढेपछि यो नाटक दिनमा दुई पटक गरी जम्मा १२ शो मञ्चन गरियो । बहुपति विवाह गर्ने हिमाली भेगको प्रचलनमा आधारित नाटक थाङ्लामा हिमाली कला–संस्कृति, मूल्य–मान्यता एवं जीवनशैली समेटिएको थियो । थाङ्लाको अर्थ हो— हिमालका देवता । २० वर्षपहिलेको हिमाली संस्कृति र जनजीवनलाई समयानुकूल परिमार्जन गरेर मञ्चन गरिएकाले यो नाटकले धेरैको मन जित्यो । सरुभक्तले लेखेको थाङ्लालाई अनुप बरालले निर्देशन गरेका थिए ।
बुख्याँचा मन
जातीय विभेदमा केन्द्रित रहेर मञ्चन गरिएको नाटक बुख्याँचा मनले कालिकास्थानको सर्वनाम नाटकघरमा राम्रै भीड बटुल्यो । राज शाहको लेखन तथा निर्देशनको यो नाटकमा दुई साथीको मित्रता प्रस्तुत गरिएको थियो । समानता र स्वतन्त्रताका कुरा गरे पनि नाटक बुख्याँचाले समाजमा विद्यमान छुवाछूतको वास्तविकतालाई छर्लङ्ग पारेको थियो ।
निर्वाण
बुद्ध मिथकलाई उठान गरेर नयाँ शैलीमा नयाँ कथा प्रस्तुत गरिएको नाटक निर्वाणले यो वर्ष धेरै दर्शकको ताली पायो । यो नाटकलाई सर्वनाम नाटकघरका नवकलाकारहरूले प्रस्तुत गरेका थिए ।
दीक्षान्त
सुदूरपश्चिमको पहाडी भेगबाट उच्च शिक्षा अध्ययनका लागि सहर आएका दलित युवाको विद्रोहमा केन्द्रित दीक्षान्त यो वर्ष चर्चामा रहेको नाटक हो । जातीयताका आधारमा भैरहेको विभेद एवं जातीयताका आधारमा दिइने आरक्षणले युवाहरूमा पार्ने प्रभावलाई यो नाटकले प्रभावकारी ढंगले प्रस्तुत गर्यो । थिएटर भिलेजमा देखाइएको नाटक दीक्षान्तलाई घिमिरे युवराजले निर्देशन गरेका थिए । विप्लव प्रतीकले यो नाटकका लागि गीत लेखेका थिए भने न्ह्यू बज्राचार्यले संगीत भरेका थिए ।
ज्यानमाया
प्रेमी मनले आँट गरेपछि संसारको कुनै पनि बन्धनले रोक्न सक्दैन भन्ने सन्देश बोकेको नाटक ज्यानमायाले पनि यो वर्ष राम्रै चर्चा पायो । सरुभक्तद्वारा लिखित यो नाटक मण्डला थिएटरमा मञ्चन भएको थियो । नम्रता केसीको निर्देशन एवं परिकल्पनाको नाटक ज्यानमायामा नृत्यद्वारा व्यक्त भाव धेरैले रुचाए ।
मिल्क टी
मण्डला नाटकघरमा मञ्चन भएको मिल्क टीको विषय तथा यसका कलाकारहरूको अभिनयलाई धेरै दर्शकले रुचाए । महिलाको हक–अधिकारको कुरा उठान गरिएको मिल्क टिलाई धेरै दर्शकले मीठो भनेर प्रतिक्रिया दिए । सुलक्षण भारतीद्वारा लिखित यो नाटकलाई सिर्जना अधिकारीले निर्देशन गरेकी थिइन् ।
बोक्सिको घर
मण्डला नाटकघरमै मञ्चन भएको बोक्सिको घरले २०७३ मा निकै राम्रो प्रशंसा पायो । एउटी महिलालाई समाजले कसरी बोक्सीको आरोप लगाई पीडित बनाउँछ भन्ने कथामा आधारित यो नाटक मन छुने खालको थियो । कलिलो उमेरमै वृद्ध पुरुषसँग विवाह गर्नुपर्ने बाध्यता, घरमा बुहारीले भोग्नुपर्ने घरेलु हिंसा अनि विधवा भएपछि समाजले गर्ने तिरस्कारजन्य व्यवहारलाई कलाकारहरूले हुबहु उतारे । सुलक्षण भारतीले लेखेको यो नाटकमा सरिता गिरीको एकल अभिनय निकै प्रभावशाली मानियो ।
माधवी
माधवी नाटक पनि धेरैको प्रशंसा प्राप्त गर्न सफल भयो । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भएको यो नाटक भारतीय लेखक भीष्म सहानीको नाटक माधवीमा आधारित थियो । वैचारिक तथा कलात्मक दुवै दृष्टिले सशक्त यो नाटक टंक चौलागाईंद्वारा अनुवादित तथा निर्देशित थियो । नाटकमा माधवीको भूमिकामा रहेकी अर्चना पन्थी एवं ययातिको भूमिकामा रहेका जीवन बरालको अभिनयलाई उत्कृष्ट मानिएको छ ।
आन्दोलन
राजनीति र आन्दोलनलाई बेवास्ता गर्ने पुस्तामा केन्द्रित नाटक आन्दोलनमा १९ दिन चलेको आन्दोलनबाट प्राप्त चेतना मूल मर्ममा थियो । थिएटर मलमा मञ्चन भएको यो नाटकले पनि राम्रै प्रशंसा एवं दर्शक पायो । कवितात्मक शैलीमा प्रस्तुत यो नाटकलाई सौरभ कार्कीले लेखेका हुन् भने सुदाम सिके यसका प्रस्तुतकर्ता हुन् ।