साप्ताहिक संवाददाता
नेपाली सांगीतिक क्षेत्रको वर्ष–२०७३ मा कालीप्रसाद बासकोटा तथा राजनराज शिवाकोटी हावी रहे । गायक, गीतकार तथा संगीतकारका रूपमा कालीप्रसाद तथा राजनराजले सिर्जना गरेका गीत–संगीतले नेपाली चलचित्रमा मात्र होइन आधुनिक गायनमा समेत राज गरे ।
कालीप्रसादले संगीतबद्ध गरेका तथा स्वर दिएका चलचित्रमध्ये ‘पुरानो डुङ्गा’ को ‘नीर जहिले रिसाउने’ तथा ‘लुट–२’ टुको ‘ठमेल बजार’ वर्षभरि नै डिस्कोथेकदेखि सभा, समारोह तथा विवाह पार्टीमा समेत बजिरहे । त्यसो त अघिल्लो वर्ष नै कालीप्रसादले ‘रेशम फिलिली’ को ‘पारी त्यो डाँडा’ गीतबाट लोकप्रियताको स्वाद चाखिसकेका थिए । यो वर्ष उनले संगीतबद्ध गरेको हेमन्त रानाको स्वरको ‘सुन साइँली...’ पनि अत्यन्त लोकप्रिय भयो । कीर्तिपुर, काठमाडौंका कालीप्रसादले संगीत निर्देशन गर्नुलाई आफ्नो मुख्य काम बताइरहेका छन् भने गायनलाई रहर मात्र । कालीप्रसादले हालसम्म झन्डै पाँच दर्जन गीतमा संगीत दिइसकेका छन् भने आधा दर्जन गीत गाएका छन् । कालीप्रसादको आगमनसँगै नेपाली सांगीतिक क्षेत्रको टोन नै परिवर्तन भएको छ । यतिबेला हरेक संगीतकार आफ्नो गीतमा नयाँपन दिन आतुर देखिन्छन् । संगीत सिर्जनामात्र होइन, गायनमा समेत परिवर्तन सुनिन थालेको छ ।
गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटीका लागि पनि यो वर्ष उत्कृष्ट रह्यो । अघिल्लो वर्ष नै उनले ‘सुर्के थैली खै’ बाट ऐतिहासिक सफलता हासिल गरिसकेका थिए । विगतमा नविन के भट्टराईसहितका गायकहरूका लागि पप गीत सिर्जना गरेर चर्चामा आएका शिवाकोटीले सुर्के थैली खै...को सफलतापछि पछाडि फर्किएर हेर्नु परेको छैन । यही वर्ष प्रदर्शनमा आएको ‘छक्का पञ्जा’ को ‘पूर्व–पश्चिम रेल...’ को अपार सफलताले शिवाकोटीको उचाइलाई बढाइदिएको छ । चलचित्र ‘शब्द’ को ‘गुलेलीले हानौं कि...’ गीत पनि लोकप्रिय भयो । ब्याक टु ब्याक चलचित्रका गीत लोकप्रिय हुन थालेपछि शिवाकोटीको सांगीतिक व्यस्तता यसरी बढ्यो कि अधिकांश चलचित्र निर्माताले आफ्ना चलचित्रमा उनको कम्तीमा एउटा गीत समावेश गर्न बाध्य भए । चलचित्रको संगीतबाट सफलता पाएकै कारण उनी आधुनिक तथा पप गीतमा समेत फर्किए । शिवाकोटीले प्रमोद खरेलदेखि मिलन अमात्यसम्मका लागि आधुनिक गीत सिर्जना गरिदिए ।
चलचित्र तथा आधुनिक दुवै विधाका गीतमा छाएका अर्का संगीतकार हुन्— अर्जुन पोखरेल । अघिल्लो वर्ष चलचित्र ‘प्रेम गीत’ का अधिकांश गीत लोकप्रिय भएपछि पोखरेलको व्यस्तता ह्वात्त बढ्यो । यो वर्ष उनले संगीतबद्ध गरेका थुप्रै चलचित्र प्रदर्शनमा आए, जसका गीत दर्शकले मन पराए ।
यसबाहेक ताराप्रकाश लिम्बू, वसन्त सापकोटा, सुरेश अधिकारी आदि संगीतकारले पनि आफूलाई प्रमाणित गरे ।
आधुनिक गायनतर्फ प्रमोद खरेल, राजेशपायल राई, रामकृष्ण ढकाल, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, हेमन्त शर्मा, अञ्जु पन्त, मिलन अमात्य, मेलिना राई आदि गायक–गायिका वर्ष भरी नै व्यस्त रहे । गायक रामकृष्ण ढकाल वर्षको अन्त्यतिर एकल गायन कार्यक्रममा प्रस्तुत भए भने त्यसअघि उनले आफ्नो एकल एल्बमसहित विभिन्न गीतका उत्कृष्ट म्युजिक भिडियो सार्वजनिक गरे ।
सुगम संगीतका संगीतकारतर्फ हरि लम्साल, सन्तोष श्रेष्ठ, आशीष अविरल, लक्ष्मण शेष, सुनिल मास्के, दीपक जंगम, टीका भण्डारी आदि वर्षभरी नै सक्रिय रहे । उनीहरूले संगीतबद्ध गरेका आधुनिक गीत विभिन्न गायक–गायिकाको स्वरमा रेकर्ड भए ।
गायक प्रमोद खरेल विशेष गरी कन्सर्टमा व्यस्त रहे । स्वदेशका महोत्सवदेखि विदेशका कन्सर्टसम्ममा उनको सहभागिता लोभलाग्दो रह्यो । वर्षको अन्त्यमा उनले सार्वजनिक गरेको ‘लाइदेऊ न मायाले’ लोकप्रिय भयो । राजेशपायल राई स्वदेशमा भन्दा विदेशमा बढि सक्रिय देखिए । एल्बमको बिक्री वितरण ठप्प भए पनि यो वर्ष सयौं गीति एल्बम बजारमा आए । खासगरी एनआरएन गीतकारको लगानीमा यो वर्ष थुप्रै एल्बम सार्वजनिक भए । काठमाडौंका कुनै पनि रेकर्डिङ स्टुडियो वर्ष दिनभरि खालि रहेनन् ।
यो वर्ष म्युजिक भिडियोको निर्माणले थप गति लियो ।
नेपाली टेलिभिजन च्यानलको संख्या बढेका कारण म्युजिक भिडियोको क्रेज बढिरह्यो भने युट्युबका कारण कुन गायक–गायिका कत्तिको लोकप्रिय छन्् भन्ने कुरा अनुमान गर्न गाह्रो परेन । यो वर्ष सिंगल ट्रयाक तयार पार्ने क्रम पनि उल्लेख्य रह्यो । एउटा मात्र गीत तयार पारेर त्यसको उत्कृष्ट म्युजिक भिडियो निर्माण गर्ने क्रम पनि निरन्तर चलिरह्यो । यो वर्ष एक दर्जनभन्दा बढी म्युजिक एवार्ड वितरण भए । रेडियो कान्तिपुरको श्रष्टासम्मान, हिट्स म्युजिक एवार्ड, ईमेज एवार्ड, कालिका म्युजिक एवार्ड, विन्ध्यवासिनी म्युजिक एवार्ड आदिमा उत्कृष्ट संगीतकर्मीहरू पुरस्कृत भए ।
अघिल्ला वर्षहरू झैं यो वर्ष मोफसलमा आयोजित महोत्सवमा गायक–गायिकाहरू व्यस्त भैरहे । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका गाउँ–सहरमा आयोजना भएका महोत्सवहरूमा उनीहरू पालैपालो गीत–संगीत प्रस्तुत गर्न पुगिरहे । विदेशका कन्सर्ट तथा सांस्कृतिक कार्यक्रमहरूमा पनि गायक–गायिकाहरू सहभागी भैरहे । अमेरिका, बेलायतदेखि अस्ट्ेरलियासम्म पुगेर कन्सर्ट दिनेहरूमा सांगीतिक समूह नेपथ्य, कन्दरा आदि अग्रपंक्तिमा रहे ।