साप्ताहिक संवाददाता
रङ पत्रकारितासंगै साहित्यमा पनि परिचिय बनाउदैं आएका शान्तिप्रियले आफ्नो पहिलो एल्बम अधर बजारमा ल्याएका छन् । जन्मोत्सवको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनको एल्बम बिमोचन गरिएको हो । साहित्यमा लागेको झन्डै दुइ दशक बितेपछि उनले एल्बम ल्याउन सफल भएका हुन् ।
चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, संगीतकार शम्भुजित बास्कोटा, कलाकार बसुन्धरा भुषाल, निर्देशक मोहन निरौला, साहित्यकार डाक्टर नवराज लम्सालले सामूहिक रुपमा एल्बमको विमोचन गर्नुभएको हो । साहित्यकार डा. लम्सालले एल्बम भित्र समावेश गीतको समिक्षा समेत गर्नु भएको थियो । यस एल्बमभित्र ५ वटा गीतहरु समावेश गरिएको छ ।
जसमा म त माया गर्ने मान्छे, म त नफापेको मान्छे, मलाई जस्तो, उनको मेरो दूरी चल्यो, याद तिम्रो धेरै आइरह्यो जस्ता गीत समावेश रहेको छ । जसमा सन्तोष श्रेष्ठ, दिपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ भने प्रमोद खरेल, अन्जना गुरुङ, निखिता थापा, राज सिग्देल र युवराज चौलागाईंले स्वर दिएका छन् । कार्यक्रममा निर्मित तीन गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो ।