सीमा क्षेत्री पुतलीबजार नगरपालिकाकी नवनिर्वाचित महिला मेयर हुन् । २०२५ सालमा जन्मिएकी क्षेत्रीले ०५८ सालमा प्राइभेट क्याम्पसबाट स्नातक गरेकी थिइन् । ०४२ सालमा एसएलसी दिएपश्चात् शिक्षण पेसासँगै राजनीतिमा लागेकी क्षेत्री ठूलो मेहनतपश्चात् जिल्लाकै पहिलो महिला मेयर भएकी हुन् । २५ वर्षसम्म शिक्षण पेसामा लागेर महिला तथा वृद्ध–वृद्धाको पक्षमा आवाज उठाउँदै आएकी क्षेत्री नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कोषाध्यक्ष हुँदै केन्द्रीय प्रतिनिधि, केन्द्रीय सदस्य तथा दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष रहिसकेकी छिन् ।
तपाईंका प्राथमिकता के हुनेछन् ?
मेरो पहिलो प्राथमिकता भनेको वृद्धाभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने हो । यदि ५ हजार रुपैयाँ पाएर पनि सुखले बसेर खान पाएनन भने उनीहरूका लागि वृद्धाश्रम बनाउनेछु । सडक, खानेपानी आदि अत्यावश्यक वस्तु पनि भावी योजनाको प्राथमिकतामा पर्ने छन् ।
कस्तो नगर बनाउने परिकल्पना गर्नुभएको छ ?
पुतलीबजारलाई नगर बनाउन ठूलो प्रयास गर्नुपर्ने आवश्यकता छ । लथालिङ्ग पुतलीबजार नगरपालिकामा शून्यबाटै काम थाल्नु पर्नेछ । युवाहरूलाई बिदेसिनबाट रोक्नु, स्वच्छ खानेपानीको व्यवस्था एवं ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार एवं तिनको संरक्षण, आँधीखोलाका कारण मासिदै गएको खेतीयोग्य जमिनमा तटबन्ध निर्माण गर्ने, ५० शय्याको अस्पताल बनाउने, अस्पतालमा आइसियुको व्यवस्था गर्ने, पीडित महिला हुन् वा पुरुषहरूलाई न्याय दिलाउने जस्ता थुप्रै काम प्राथमिकतामा छन् ।
स्रोत साधन कसरी जुटाउनुहुन्छ ?
स्रोतका हिसाबले यो नगरपालिकामा प्रशस्तै सम्भावना छन् । स्थानीय
सरकार भएकाले केन्द्रले पनि बजेट छुट्याउँछ होला ।