साप्ताहिक संवाददाता
राम्रा अवसरहरूको खोजीमा ठूलो संख्यामा युवा शक्ति विदेश पलायन भैरहेको छ । यति हुँदाहुँदै पनि नेपालमा रोजगारीका अवसरहरू हुँदै नभएका भने होइनन् । रमाइलो त के भने रोजगारीका कतिपय राम्रा अवसरका लागि अहिले पनि नेपालमा पर्याप्त दक्ष जनशक्तिको अभाव छ ।
नेपाल आर्थिक विकासतर्फ लम्किरहेको विकासोन्मुख देश हो । अन्य विकासोन्मुख मुलुकहरूझैं बेरोजगारी नेपालको समेत प्रमुख समस्याका रूपमा रहँदै आएको छ । राम्रा अवसरहरूको खोजीमा ठूलो संख्यामा युवा शक्ति विदेश पलायन भैरहेको छ । यति हुँदाहुँदै पनि नेपालमा रोजगारीका अवसरहरू हुँदै नभएका भने होइनन् । रमाइलो त के भने रोजगारीका कतिपय राम्रा अवसरका लागि अहिले पनि नेपालमा पर्याप्त दक्ष जनशक्तिको अभाव छ । आईओएस एप डेभलपर, मार्केटिङ, डिजिटल मार्केटिङ, इन्जिनियर, होटल तथा टुरिज्म मस्ट डिमान्डिङ जबहरूमा पर्ने जब डटकमका मार्केटिङ एन्ड पीआर म्यानेजर राजन कोइराला बताउँछन् । ‘होटल म्यानेजमेन्ट कलेजहरूले अहिले पनि राम्रा जनशक्ति उत्पादन गरिरहेका छन्,’ कोइराला भन्छन्, ‘तर यो क्षेत्रका सबैजसो जनशक्ति विदेश पुग्छन्, जसका कारण हाम्रो आफ्नै मार्केटमा दक्ष जनशक्ति कम छ ।’
नेपाली जब मार्केट लेबर कस्टका हिसाबले पनि एकदमै सस्तो मानिन्छ, तर केही आकर्षक जागिर पनि नेपालमा छन् जसमा राम्रो तलब र आकर्षक सुविधा उपलब्ध हुन्छ । नेपालमा जागिरको आवेदन माग्दा तलब स्केल खुलाउने चलन छैन, जसका कारण कुन जागिरबाट कति आम्दानी हुन्छ, कुन कम्पनीले तलब भत्ता वापत कति रकम भुक्तान गर्छन् भन्ने यकिन आँकडा उपलब्ध हुन सक्दैन । यद्यपि साप्ताहिकले जब मार्केटका विभिन्न व्यक्तिहरूसँगको अनौपचारिक अन्तक्र्रियाका आधारमा नेपालका केही आकर्षक जागिरको सूची तयार पारेको छ :
युएन, दातृ निकाय र आईएनजीओहरू
संयुक्त राष्ट्रसंघका नेपालस्थित निकाय, नेपालस्थित विदेशी कूटनीतिक नियोग, दातृ निकाय तथा विदेशी एजेन्सीहरूका जागिरलाई सबैभन्दा आकर्षण जागिरका रूपमा लिइन्छ । कुस्त तलब र राम्रा सुविधाका कारण आईएनजीओमा जागिर गर्नेहरू राम्रो आम्दानी गरिरहेका छन् । न्यूनतम ब्याचलर्स डिग्री, राम्रो अंग्रेजी, कम्प्युटर, कम्युनिकेसन स्किल, राम्रो रिपोर्ट राइटिङ तथा प्रिजेन्टेसन स्किल यस्ता जागिरका लागि महत्वपूर्ण मानिन्छ । यस्ता ठाउँमा जागिर गर्नेहरू न्यूनतम ३०/४० हजारदेखि ७—८ लाखसम्म मासिक तलब तथा सुविधाहरू प्राप्त गर्छन् भने यसमा हाई लेभल जागिरका लागि १४/१५ वर्षको अनुभव आवश्यक हुन्छ ।
मल्टिनेसनल कम्पनी
एनसेल, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सूर्य नेपाल, गोर्खा ब्रुअरी, हुवावे, जिओनी, डाबर नेपाल, युनिलिभर, एसियन पेन्ट्स आदि मल्टिनेसनल कम्पनीका जागिरहरू पनि आकर्षक जागिरमा पर्छन् । यस्ता कम्पनीले आफ्ना कर्मचारीलाई तलबसँगै आकर्षक बोनस, इन्स्युरेन्स, सञ्चय कोष, कम्युनिकेसन र फ्युललगायतका विभिन्न सुविधा उपलब्ध गराउँछन् । एनसेलले एक वर्षमा २० महिनादेखि ३५ महिनाबराबरको तलब ख्वाउँछ, अरू केही मल्टिनेसनल कम्पनीले पनि दुई वर्षभन्दा बढीको तलब ख्वाउँछन् । यस्ता कम्पनीका कर्मचारीले २० हजारदेखि ५ लाखसम्म तलब बुझेको पाइन्छ । यो स्केलको रकम सबै मल्टिनेसनल कम्पनीका सन्दर्भमा भने लागू हुँदैन । यद्यपि प्राय: सबैजसो मल्टिनेशनल कम्पनीको पे स्केल तथा सुविधा सामान्यभन्दा राम्रो हुन्छ ।
सरकारी जागिर
नेपालमा केही सरकारी निकायका जागिर पनि निकै आकर्षक जागिरमा पर्छन् । नेपाल टेलिकम, कतिपय संस्थानहरू, परराष्ट्र मन्त्रालय तथा राष्ट्र बैंकको जागिर नेपालमै बढी तलब र सुविधा भएका सरकारी जागिर हुन् । सरकारी स्केलसँगै आकर्षक बोनस एवं सुविधाहरूका कारण सरकारी संस्थान, राष्ट्र बैंक, अन्य सरकारी बैंक तथा परराष्ट्रको जागिरमा ठूलो आकर्षण रहँदै आएको छ ।
बैंक
बैंकको जागिरलाई पनि राम्रो कमाइ हुने जागिर मानिन्छ । ब्याचलर्स डिग्री, दुई वर्षजतिको अनुभवका आधारमा बैंकमा जागिर गर्न सकिन्छ । बैंकले ट्रेनीका रूपमा समेत म्यानपावर भर्ति गरेपनि उनीहरूको तबल त्यति राम्रो हुँदैन । यद्यपि दुई वर्षजतिको अनुभव तथा ब्याचलर्स डिग्री भए बैंकबाट राम्रै कमाइ हुन्छ । बैंक आकर्षण तलब नभए पनि बोनस र अन्य सुविधाका कारण राम्रो कमाइ गर्न सकिने जब मार्केट भएको विज्ञहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थाका उच्च तहका म्यानेजर, फाइनान्सियल म्यानेजर आदि पदमा काम गर्नेहरूले भने १ लाखभन्दा बढी कमाइ गर्छन् । अझ बैंकका सिइओकै लेभलमा हेर्ने हो भने केही बैंकका सिइओले त मासिक १८ लाख रुपैयाँ बराबरको तलब तथा सुविधासम्म लिएको पाइन्छ । यस्ता जागिरेमा चार्टर एकाउन्टेन्टहरू बढी छन् भने कन्सल्टेन्सी चलाउने चार्टर एकाउन्टेन्टहरूको आम्दानी पनि प्रशस्तै छ ।
आईटी
आईटी इन्जिनियर, सफ्टवेयर निर्माण, डाटाबेस डेभलपर, एप डेभलपर, वेब डिजाइनर, ग्एरग्ह् डिजाइनरजस्ता प्रविधिसँग सम्बन्धित विभिन्न पदमा काम गर्नेहरूको आम्दानी पनि राम्रो छ । आईटी इन्जिनियरहरूको तलब ४० हजारदेखि २ लाखसम्म हुन्छ । यो तलब ब्याचलर्स डिग्री गरिसकेपछि हासिल गरेको एक्सपिरियन्सका आधारमा तलमाथि हुन सक्छ । यस्तै अनुभवी एप डेभलपर तथा वेब डिजाइनर, ग्एरग्ह् डिजाइनरहरूले पनि राम्रै पैसा कमाउँछन् । आईटीको क्षेत्रमा जुनियर लेभलमा १५ हजारदेखि सिनियर लेभलमा २ लाखसम्म तलब हुन्छ । धेरै आईटी कम्पनीले अमेरिका, बेलायत, क्यानाडा, अस्ट्रेलियाजस्ता देशहरूमा आउटसोर्सिङ गर्ने भएकाले यो क्षेत्रमा पनि राम्रो अवसर छ । विज्ञहरूका अनुसार नेपालका आईटी कम्पनीहरूले सुरुमा फ्रेसहरूलाई इन्टर्नमा लिएर पछि उनीहरूलाई क्यापेबल बनाउँदै लगेर सिनियर लेभलमा राम्रो तलब तथा सुविधा उपलब्ध गराउँछन् ।
डाक्टर तथा इन्जिनियर
नेपालमा डाक्टर तथा इन्जिनियरको जागिरलाई पनि आकर्षक मानिन्छ । ब्याचलर्स डिग्री तथा केही वर्षको अनुभवपछि हाइड्रो, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, सिभिल, मेकानिकल आदि इन्जिनियरहरूले राम्रो आम्दानी गर्न सक्छन् । फ्रेस हुँदा २५ हजार तलब खाने इन्जिनियरले अनुभवका आधारमा सिनियर लेभलमा पुगिसकेपछि औसत २ लाखसम्म आम्दानी गर्छन् । एमबीबीएस गरेका डाक्टरको सामान्यतया सरकारी अधिकृतस्तर हुने भएकाले ३० हजार तथा विशेषज्ञ डाक्टर सहसचिवस्तरको हुने भएकाले ३५ हजारसम्म तलब छ । यसबाहेक ओटी, कमिसन, बोनस, प्राइभेट प्य्राक्टिस आदिबाट पिजी डाक्टरले सामान्यत: मासिक ७० देखि १ लाख रुपैयाँसम्म कमाउँछन् । प्राइभेट अस्पतालका हाइप्रोफाइल डाक्टर एवं वरिष्ठ डाक्टरहरूको हकमा भने यो कुरा लागू हुँदैन ।
सिइओ र जिएम
सिइओ, जिएम, म्यानेजर, रिजनल म्यानेजरजस्ता उच्च व्यवस्थापकीय तथा कार्यकारी पदमा काम गर्नेहरूले आकर्षक तलब प्राप्त गर्छन् । यी दुवै उच्च तलब भएका पद हुन् । कम्पनीको सिइओको तलब औसत मासिक १ लाखजति हुन्छ । सिइओका लागि ब्याचलर्स वा मास्टर्स डिग्रीका साथै लामो समयको अनुभवको समेत आवश्यकता पर्छ । जनरल म्यानेजरको औसत तलब मासिक ६० हजारका साथै आकर्षक सुविधा समेत हुन्छ । व्यवस्थापनमा उच्च डिग्री तथा पाँच वर्ष वा त्योभन्दा बढीको अनुभव हासिल गरेको हुनुपर्छ । यस्तै, अर्को आकर्षक तलब भएको पद म्यानेजरका लागि पनि ब्याचलर्स डिग्री वा त्यो भन्दा माथिको शैक्षिक योग्यता एवं प्रशस्त कार्य अनुभव आवश्यक हुन्छ । म्यानेजनरहरू ४० हजारदेखि २ लाखसम्म तलब खान्छन् । निर्देशक, एकाउन्टिङ म्यानेजर आदि पनि नेपालमा आकर्षक तलब हुने जागिर हुन् ।