अभिनेता प्रदीप खड्काले प्रेमगीत र प्रेमगीत–टुबाट चर्चा मात्र पाएनन्, उनको पारिश्रमिकसमेत ह्वात्तै बढ्यो । प्रेमगीतका निर्माता सन्तोष सेन प्रदीपलाई आफ्नै भाइसरह मान्छन् । त्यसैले पनि प्रेमगीत–टुको सफलताको श्रेय पनि उनी प्रदीपलाई नै दिन्छन् । प्रदीपलाई अभिनेता मात्र होइन, स्टारको जीवन जिउन सिकाउने पनि सन्तोष नै हुन् । प्रेमगीत–टुमा प्रदीपलाई १० लाखभन्दा बढी पारिश्रमिक दिएका सन्तोषले चलचित्रले सफल व्यवसाय गरे पछि उनलाई ५० लाख पर्ने गाडी उपहारसमेत दिए । सन्तोषको क्याम्पका चलचित्रमा मात्र काम गरिरहेका प्रदीपले अन्तत: क्याम्पबाहिरका चलचित्रसमेत साइन गर्न थालेका छन् । मिलन चाम्सको निर्देशनमा निर्माण हुने चलचित्र ‘लिलिबिली’का लागि अनुबन्धित प्रदीपले उक्त चलचित्रमा काम गर्न २२ लाख पारिश्रमिक लिएको बताइन्छ ।
युवा अभिनेताहरूले दर्शकहरूको मन जितिरहेको सन्दर्भमा पारिश्रमिक पनि कसेरै लिन थालेका छन् । अनमोल केसीले प्रदर्शोन्मुख चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिने सम्झौता भएको खबरले केही समयअघि नेपाली चलचित्र क्षेत्र तातेको थियो । अनमोलकै नाममा एकपछि अर्को चलचित्रले मनग्गे आम्दानी गरेपछि उनले आफ्नो पारिश्रमिक एकाएक बढाएका थिए । पहिलो चलचित्र ‘होस्टल’मा उनलाई १ लाख ७५ हजार पारिश्रमिक दिइएको थियो । दोस्रो चलचित्र ‘जेरी’मा उनले ५ लाखभन्दा बढी प्राप्त गरेका थिए । तेस्रो चलचित्र ‘गाजलु’मा ८ लाख लिएका अनमोललाई आफ्नो चलचित्रमा नायक लिन पाए निर्माताहरू २० लाखभन्दा बढी तिर्न तयार छन् किनभने अनमोलको अनुहारको भरमा चलचित्रले करोडौं कमाउँछ । तीनवटा चलचित्रका निर्मातालाई करोडपति बनाइसकेका अनमोलले २० लाख लिँदा यदि चलचित्रले करोडभन्दा माथिको फाइदा दिन्छ भने जो–कोही निर्माता उनलाई २० लाख दिन राजी हुन्छन् । अनमोल भने एकपटकमा एउटा चलचित्रमा काम गर्ने नीति लिएर अघि बढ्दैछन् । प्रि–प्रोडक्सनको क्रममा रहेको ‘कृ’को निर्माण सम्पन्न नभएसम्म अनमोलले अन्य कुनै पनि चलचित्रमा काम नगर्ने सम्झौतासमेत गरेका छन् ।
महँगो पारिश्रमिक लिने अभिनेताहरूमा दयाहाङ राईको पनि नाम आउँछ । दयाहाङ राईसँग समय छैन । यदि उनलाई आफ्नो चलचित्रमा काम गराउनु छ भने निर्माताले उनका लागि १० लाख रुपैयाँ ठीक पार्दा हुन्छ । दयाहाङ राईले ‘दासढुंगा’मा ड्राइभर अमर लामाको भूमिका निर्वाह गर्दा ३० हजार पारिश्रमिक बुझेका थिए । करियरको पहिलो चलचित्र ‘अनागरिक’मा उनले १० हजार पारिश्रमिक लिएका थिए । लुटको सफलतापछि दयाहाङको माग एक्कासि बढ्यो । त्यसपछि उनले ३ देखि ५ लाख लिन थाले । कबड्डी र कबड्डी–कबड्डीको सफलताले उनको माग अझ अकासियो । त्यसपछि हो, उनले आफ्नो पारिश्रमिक १० लाख बताउन थालेको ।
महँगा कलाकारको सूचीमा सौगात मल्ल पनि छन् । भलै मल्लद्वारा अभिनीत चलचित्रमध्ये लुटबाहेक अरूले खासै ठूलो सफलता हासिल गर्न सकेका छैनन् । तैपनि सौगातको माग उत्तिकै छ । भनिन्छ, स्क्रिप्ट मनपरेको खण्डमा सौगात १० लाख पारिश्रमिक माग्छन्, तर उनले ६ देखि ७ लाखसम्म लिएर काम गरेको पनि पाइएको छ । भष्मे डन भएपछि जात्रामा ठिक्कको पारिश्रमिक लिएका अभिनेता विपिन कार्कीले पनि अहिले ५ लाखभन्दा माथि पारिश्रमिक माग्न थालेका छन् ।
आर्यन सिग्देलको पहिलो चलचित्र थियो ‘किस्मत’, जसमा उनले रेखा थापाका साथ काम गरेका थिए । छवि ओझाको ब्यानरको उक्त चलचित्रबाट उनले आफूलाई दर्शकसामु चिनाउन मात्र पाए, पारिश्रमिक भने खासै राम्रो थिएन । अहिले फेरि उनले रेखा थापासँगै काम गरेका छन्, चलचित्र रुद्रप्रियामा । आर्यनका अनुसार चलचित्रमा उनको सेयरसमेत जोड्ने हो भने रुद्रप्रियाबाट उनले २५ लाख प्राप्त गर्नेछन् । आफ्नो ब्यानरमा चलचित्र बनाउनुभन्दा पहिलेसम्म एउटा चलचित्रमा काम गरेबापत ८ लाख रुपैयाँ लिने आर्यनले आफ्नो पहिलो चलचित्र किस्मतबाट मात्र २० हजार रुपैयाँ पारिश्रमिक बुझेका थिए ।
निर्देशकहरू पनि छैनन् कम
कबड्डी तथा कबड्डी–कबड्डीबाट कहलिएका निर्देशक एवं चलचित्र लेखक रामबाबु गुरुङ अहिले सर्वाधिक पारिश्रमिक लिने निर्देशक हुन् । निर्माणको अन्तिम चरणमा रहेको चलचित्र ‘मिस्टर झोले’को लेखन तथा निर्देशकको अभिभारा सम्हालेबापत गुरुङले अहिलेसम्मकै सर्वाधिक २५ लाख पारिश्रमिक लिएको दाबी गरिन्छ । रामबाबुकै हाराहारीमै निर्देशक दीपेन्द्र के खनालले पनि लेखन तथा निर्देशन गरेबापत २५ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने भएका छन् । हिंडेरै अमेरिका पुग्ने कथामा ५ करोड रुपैयाँको लगानीमा निर्माण हुने एक अनाम चलचित्रको लेखन तथा निर्देशन गरेबापत निर्देशक खनालले २५ लाख लिन लागेको बताइन्छ । लेखनबाहेक निर्देशन मात्र गरेर निश्चल बस्नेत, सुदर्शन थापा, हेमराज बिसी तथा दिनेश राउत पनि १२ देखि १५ लाख पारिश्रमिक बुझ्ने निर्देशक हुन् ।