साप्ताहिक संवाददाता
कार्तिक २४, २०७४
पोखरा थिएटरमा नाट्य कार्यशाला हुने भएको छ । आगामी मङ्सिर १ गते प्रारम्भ हुने उक्त तीन महिने कार्यशालामा मण्डला थिएटर काठमाडौँका निर्देशक तथा कलाकार राजन खतिवडाले सहजीकरण गर्नेछन् भने पोखराका अन्य रङ्गकर्मीहरू पनि प्रशिक्षकका रूपमा सहभागी हुनेछन् ।
नवनिर्मित पोखरा थिएटरमै सञ्चालन हुने कार्यशालामा अभिनयका विभिन्न आयामका सम्बन्धमा प्रशिक्षण प्रदान गरिनेछ । यो कार्यशालाबाट प्रशिक्षित कलाकार तथा अन्य स्थापित कलाकारहरूको संयुक्त प्रयासमा थिएटरले पहिलो नाटक मञ्चन गर्ने लक्ष्य लिएको सञ्चालक दिलु गुरुङले बताए ।