अहिलेका दुलहीहरू स्मोकी कलर प्रयोग गरी आइमेकअप गराउन चाहन्छन् । दुलहीलाई उनीहरूको फिचर राम्रो देखाउन कन्टोर तथा हाइलाइट गरी नाक, जलाइन, चिकबोनमा विशेष मेकअप गर्नुपर्छ, जसले अनुहार अझ राम्रो देखाउँछ ।
दुलहीको मेकअप गर्नुभन्दा तीन–चार दिनअघि फेसियल तथा क्लिन्जिङ गराउनुपर्छ । आइब्रो पनि मेकअप मिलाउन दुई हप्ताजति ननिकालेकै बेस हुन्छ । मेकअप गर्दा दुलहीको आँखाअनुसार आइलाइसेस प्रयोग गर्नुपर्छ । आइलाइसेस एक्सटेन्सन गर्दा दुलहीको आँखा अझ आकर्षक देखिन सक्छ । कसैलाई बाक्लो, कसैलाई पातलो तथा कसैलाई लामो आइलाइसेस सुहाउँछ ।
मेकअप गर्नुअघि मेकअप बेस प्रयोग गरिने हुँदा दुलहीको मेकअप कम्तीमा पनि १० घण्टासम्म मज्जाले टिक्छ । दुलहीको मेकअप गर्दा फाउन्डेसनको ठाउँमा लङ लास्टिङ प्यान स्टिक प्रयोग गर्नुपर्छ । यस्तो मेकअपबाट दुई–तीन घण्टापछि अनुहारमा थप चमक आउँछ । मेकअप गरिसकेपछि सेटिङ स्प्रे हालिन्छ जसले मेकअपलाई लामो समयसम्म टिकाउँछ ।
दुलहीको मेकअप गर्नुअघि ओठ एक्सफोलिप्ट गरेर मेकअप गर्नुपर्छ । अनुहारलाई सफा गरेपछि लिपबाम लगाउनुपर्छ । अनुहारको मेकअप सकुन्जेल लिप नरम भै आकर्षक देखिन्छ । लिपमा कसैले म्याट त कसैले ग्लसी लिपिस्टिक रुचाउँछन् । यद्यपि दुलहीका लागि हल्का ग्लसी लिपिस्टिक उपयुक्त हुन्छ । दुलहीको अनुहारमा डन्डिफोर छ भने २–३ दिनअघि नै डन्डिफोर सुकाउने औषधि प्रयोग गर्नुपर्छ । यो समयमा आराम गर्नुपर्छ । टेन्सनले पनि अनुहारको ग्लो घट्न सक्छ । हप्तामा एकपटक मेनिक्योर तथा पेडिक्योर पनि गराइरहनुपर्छ ।
अनुहारको मेकअप
सबैभन्दा पहिले सफा अनुहारमा ओपन पोर्स बन्द गर्न टोनर लगाउने । त्यसपछि प्राइमर लगाएर छालालाई पूर्णरूपले ब्लेड गर्ने । त्यसपछि फिचर्स सार्प देखाउन अनुहार करेक्सन गर्ने । कटिङमार्फत चौडा नाकलाई पातलो देखाउन सकिन्छ । त्यसपछि छालाको बेसअनुसार ब्रसले पेनकेक डाउनवर्ड लगाउने । अनुहार खुलाउन गालालाई जलाइन एरियाको कटिङ गरेपछि टान्सल्युसेट पाउडर लगाएर पोलिसिङ ब्रसले अनुहार पोलिस गर्ने । अन्त्यमा स्टुडियो फिक्सर लगाउने जसले मेकअपलाई फिक्स गर्छ ।
आई मेकअप
अरेबियन स्टाइलको मेकअप अहिले ट्रेन्डमा छ । यही ट्रेन्डलाई ध्यान दिँदै ब्युटिसियन, मेकअप आर्टिस्ट तथा हेयर डिजाइनरहरू अहिले फरक शैलीमा दुलही सिंगार्न अभ्यस्त छन् । यो मेकअपले दुलहीलाई रोयल लुक्स दिन्छ । आँखामा गरिने मेकअप बढी हाइलाइट गरिने हुँदा यसले कुल लुक्स दिन्छ । अरेबियन आई मेकअपमा गोल्डेन आइस्याडो प्रयोग गरिन्छ ।
लिप मेकअप
अनुहार सफा गरेपछि ओठलाई मुलायम बनाउन लिपबाम लगाई त्यत्तिकै छोड्ने जसले ओठलाई नरम बनाउँछ । मेकअप सकिएपछि ओठको आउटलाइन बनाएर लिपिस्टिकले ओठ भर्ने त्यसपछि ओठमाथि सुहाउँदो ग्लस लगाउने ।