सर्लाहीको हजारियामा जन्मिएका शिव परियार गायक तथा संगीतकारका रूपमा सुपरिचित छन् । झन्डै १५ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि प्रारम्भ भएको उनको सांगीतिक यात्रा निरन्तर अघि बढिरहेको छ । स्वदेशका प्राय: सबै जिल्लादेखि विदेशका दुई दर्जनभन्दा बढी देश पुगेर आफ्ना लोकप्रिय गीतहरू सुनाइसकेका शिवले नेपाल सरकारका तर्फबाट राष्ट्रिय युवा प्रतिभा सम्मान, नारायण गोपाल युवा संगीत पुरस्कारसहित थुप्रै एवार्ड जितिसकेका छन् । गायक परियार चाँडै नै आफ्नो ११ औं गीति–संग्रह शिवालय लिएर श्रोतामाझ आउँदैछन् । शास्त्रीय संगीतका विद्यार्थीका गायक परियारसँग साप्ताहिकका कृष्ण भट्टराईद्वारा गरिएको कुराकानी :
अहिले केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै एउटा नयाँ गीत ‘आँसुको अर्थ...’ को म्युजिक भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरें । अडियो पहिले नै लोकप्रिय भएकाले हुनसक्छ यसको म्युजिक भिडियोले पनि दुई साताको अवधिमै झन्डै २ लाख दर्शक पाएको छ । त्यसका साथै सांगीतिक कार्यक्रमहरूमा व्यस्त छु ।
हिट्स एफएम एवार्डको मनोनयनमा त कीर्तिमान बनाउनुभएछ नि ?
मेरो १५ वर्षको औपचारिक गायन करियरमा पहिलो पटक कुनै पनि म्युजिक एवार्डमा सर्वाधिक ६ विधामा मनोनीत भएको छु । हिट्स एफएम म्युजिक एवार्डका लागि ‘अल्लारे’ तथा ‘वर्षौं भो छोडेको’ गीतबाट सर्वोत्कृष्ट पुरुष पप गायन, सर्वोत्कृष्ट एकल गायन पुरुष, सर्वोत्कृष्ट युगल गायन, सर्वोत्कृष्ट संगीत सिर्जना, सर्वोत्कृष्ट गीत आदि विधामा मनोनीत छु ।
मदिरासम्बन्धी नयाँ गीत पनि बनाउँदै हुनुहुन्छ ?
क्या दामी भो तथा पिलायो साथीले...को सफलतापछि मैले मदिराकै सेरोफेरोमा नयाँ गीत तयारी पारेको छु । आनन्द अधिकारीको शब्द तथा आशिष अविरलको शब्दमा ‘यो रक्सीले नि धोकै दिने भो’ गीत तयार भएको छ । यसले सांगीतिक क्षेत्रमा पुन: एक पटक तहल्का मच्चाउने छ भन्ने कुरामा म ढुक्क छु ।
सांगीतिक यात्रामा झन्डै डेढ दशक बिताइसक्नुभएको छ । आफूलाई कहाँ पाउनुहुन्छ ?
मेरो पहिलो गीत २०६० साल वैशाख ४ गते रेडियो नेपालमा रेकर्ड भएको थियो । त्यो हिसाबले मैले यो क्षेत्रमा झन्डै १५ वर्ष सक्रिय जीवन बिताइसकेको छु । त्यहाँदेखि आजको मितिसम्म आइपुग्दा मैले आफूलाई सांगीतिक रूपमा परिमार्जित, समय सापेक्ष तथा अपडेटेड राखेको छु । विधागत रुपमा समेत मैले आफूलाई समय अनुसार ढाल्ने प्रयास गरिरहेको छु ।
सांगीतिक रूपमा पहिले कस्तो हुनुहुन्थ्यो ?
किराँतेश्वर संगीत आश्रम, राम मन्दिर, यलमाया केन्द्र, इन्दिरा संगीत महाविद्यालय आदि संगीतका स्वदेशी घरानामा मैले शास्त्रीय गीत गाउँदै सांगीतिक यात्रा प्रारम्भ गरेको हुँ । २०५९ सालको अन्त्यमा रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा प्रथम हुनुअघि नै विभिन्न सांगीतिक समारोहमा शास्त्रीय संगीत, राग तथा आलापहरू गाउन थालिसकेको थिएँ । चन्दनप्रसाद श्रेष्ठ तथा चण्डिप्रसाद काफ्ले जस्ता गुरुहरूसँग शास्त्रीय संगीतको औपचारिक प्रशिक्षण लिन थालें । त्यो मेरो विगत थियो ।
शास्त्रीय संगीतको अभ्यास निकै कठोर हुन्छ, होइन ?
शास्त्रीय भन्ने शब्द शास्त्रबाट आएको हो । संगीतमा शास्त्र भन्नाले सूत्रमा आधारित भएर गाउनुलाई बुझिन्छ । शास्त्रले मानिसलाई केही कुरा सोच्न बाध्य बनाउँछ, गलाको रियाज गरेर गीत गाउन प्रेरित गर्छ । सरगमको साधनाले स्वरमा लचकता आउँछ अनि गला मीठो हुन्छ । त्यही गलाले गाइएको गीत मिठासपूर्ण हुन्छ । शास्त्रीय संगीतको अभ्यासले गला बन्छ । हाम्रो क्षेत्रमा शास्त्रीय गीत गायो भनिन्छ, वास्तवमा शास्त्रीय संगीतको अभ्यास गरेको गलाले गीत गाएपछि मात्र त्यो शास्त्रीय गीत अथवा शास्त्रीय संगीत हुन्छ ।
शास्त्रीय संगीतको लामो अभ्यास गरेको मान्छे सुगम संगीतमा कसरी आइपुग्नुभयो ?
रेडियो नेपालको प्रतियोगितामा प्रथम भएपछि मलाई शास्त्रीय गायकका रूपमा मात्र सक्रिय भैरहन मनले दिएन । हल्का–फुल्का गीत पनि गाउनुपर्छ, गायनमा सन्तुलन ल्याउनुपर्छ भन्ने सोच आयो । व्यवसायिक गीतमा पनि आफूलाई अभ्यस्त बनाउनुपर्छ भनेर म मूलधारको संगीतमा आएँ । संगीतको अध्ययन गरेको गायक तथा अध्ययन नगरेको गायकबीच के फरक हुन्छ भन्ने देखाउन पनि म मूलधारमा समाहित भएको हुँ ।
व्यवसायिक धारको थालनी कसरी गर्नुभयो ?
सबैभन्दा पहिले फेवातालमा साइँली... गाएँ । हल्का लोक फ्लेवरको उक्त गीतपछि अलिकति नजर तिम्रो...गाएँ । यी दुईवटा गीत श्रोताहरूले औधी रुचाउनुभयो । अझ फरक गीत गाउनुपर्यो भनेर संगी.. गाएँ । कहाँ तिमी रंगमञ्च उठेपछि आयौ, अलिकति नजर, संगीजस्ता गीतबाट मैले स्वर तान्नुपर्ने, स्वर घुमाउनुपर्ने, सगरम हालेर गाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिदिएँ । त्यही बेलादेखि हो नेपालमा हाइ पिचमा, आलाप हालेर गीत गाउने शैली प्रारम्भ भएको । त्यो क्रम आजको मितिसम्म जारी छ ।
आफ्नो टर्निङ प्वाइन्ट कुन गीतलाई मान्नु हुन्छ ?
माथि उल्लेखित गीत गाएर मैले संगीतकर्मीहरूमाझ आफ्नो परिचय बनाइसकेको थिएँ । अब आम श्रोता तथा दर्शकहरूलाई नचाउने, रमाउने गीत पनि गाउनुपर्छ भन्ने सोचेर चण्डिप्रसाद काफ्लेको संगीत तथा राजेन्द्र थापाको शब्दमा ‘क्या दामी भो..’ गाएँ । उक्त गीतको लोकप्रियतासँगै मैले पछाडि फर्किएर हेर्नुपरेको छैन । त्यही गीत नै मेरो सांगीतिक जीवनको टर्निङ प्वाइन्ट सावित भयो । सांगीतिक कार्यक्रममा १५ पटकसम्म वान्स मोर आएर पटक–पटक गाउनुपरेको गीत पनि यही नै हो ।
क्या दामी भोमा त्यस्तो विशेष के छ ?
शब्द र संगीतको उत्कृष्ट संयोजन छ, पञ्च छ, गायकीमा पनि भेराइटी दिने प्रयास गरेको छु ।
त्यसपछिको यात्रा कसरी अघि बढ्यो ?
एक–दुईवटा गीत मात्र लोकप्रिय भएर अघि बढ्न सकिने कुरै थिएन । त्यसैले सकेसम्म उत्कृष्ट शब्द तथा संगीत चयन गर्ने कार्यलाई निरन्तरता दिएँ । फलस्वरूप पागल बनायौ प्रिय, फाटेको मन, पिलायो साथीले, फेसबुकले, गालैको कोठी, रुपौली रानी, अल्लारे, नभेटी नभेटीजस्ता थुप्रै गीत गाएँ, जसले श्रोताहरूको मन जित्यो ।
एकताका चलचित्रको पाश्र्व गायनमा पनि छाउनुभएको थियो नि ?
संगीतकार अर्जुन पोखरेलसँग भेटघाट भएपछि म पाश्र्व गायनमा सक्रिय भएँ । त्यसक्रममा बाटो मोडेर गयौं, सुन्छु तिमीलाई आदि गाउने अवसर पाएँ । सुन्छु तिमीले मलाई गीतले त सिआरबिटीमा कीर्तिमान नै कायम गरेको थियो ।
तर अहिले चलचित्रमा तपाईंको स्वर सुनिंदैन नि ?
केही वर्षको अवधिमा झन्डै ५० भन्दा बढी चलचित्र गीत गाएपछि मलाई उक्त क्षेत्रप्रति विरक्त लागेर आयो । उपस्थिति जनाउनमात्र चलचित्रको गीत गाइरहनुपर्छ जस्तो लागेन । संगीतकारहरूसँग पातलो भेटघाटका कारण पनि म चलचित्रमा कम सुनिन थालें ।
चलचित्रको कथाले तपाईंकै स्वर माग्यो भने त गाउनुहुन्छ होला नि ?
पछिल्ला केही वर्षयता मैले अघोषित रूपमै चलचित्रका गीत नगाउने निर्णय गरेको छु ।
किन ?
चलचित्रका राम्रा गीत अथवा प्रचार–प्रसारमा आउने गीत निर्माता–निर्देशककै भाइ, भतिजा, भान्जाहरूले गाउँछन् । हाम्रो भागमा बढी चिच्याउनुपर्ने, अन्य गायकहरूको स्वरले नभ्याउने, कारुणिक दृश्यमा आलाप मात्र भर्ने खालका गीत मात्र पर्न थालेपछि मैले चलचित्रमा गाउन छाडेको हुँ ।
तपाईंका गीत तथा एकल एल्बमको संख्या कति पुग्यो ?
२०६२ सालमा पहिलो एल्बम मोक्ष सार्वजनिक भएदेखि बजारमा आउन ठिक्क पारेको एल्बम शिवालयसम्म आइपुग्दा मेरा एल्बमको संख्या ११ पुगेको छ । ११ औं एल्बम केही महिनाभित्रै सार्वजनिक गर्दैछु । मैले हालसम्म ४० वटा गीतमा संगीत दिएको छु भने झन्डै ५ सय गीत रेकर्ड गराएको छु ।
गजल गायन छाड्नुभएको हो र ?
हामीले बजारको मागअनुसार पनि चल्नुपर्ने हुन्छ, यद्यपि मैले गजललाई छाडेको छैन । क्या दामी भो, पिलायो साथीले जस्ता गीत गजल नै हुन् । गजल भनेको गायकीमा भन्दा पनि शब्द रचनामा भरपर्ने कुरा हो । स्वरले कुनै पनि गीत गजल हुने होइन, शब्द नै गजल हो ।
प्रसंग बदलौं, बाल्यकाल कसरी बिताउनुभयो ?
म २०३९ सालमा सर्लाहीको हजरियामा जन्मिएको हुँ । तीन जना दिदी–बहिनी भएकाले म घरको एक्लो छोरा हुँ । बाल्यकालमा म चञ्चले थिएँ, पढाइमा चाहिँ औसत । गीत–संगीतमा खासै रुचि थिएन । यद्यपि कक्षा ७ मा अध्ययरत छँदा भएको एउटा सानो घटनाले मलाई अचानक संगीततर्फ आकर्षित गर्यो ।
के थियो त्यो घटना ?
जिल्लास्तरीय गायन प्रतियोगितामा भाग लिने विद्यार्थीहरूको नाम संकलन गर्दै डिल्लीबहादुर श्रेष्ठ सर हाम्रो कक्षामा पनि आउनुभयो । मेरो एउटा चकचके साथी अर्जुन कार्कीले मलाई फसाउने हिसाबले ‘सर यसले गाउँछ रे’ भन्दियो । म डरले रातो–पीरो भएँ । सरले अगाडि बोलाएर गाऊ त भन्नु भयो, अचानक पछाडिको भित्तामा हेरेर गाउन थालेछु, ‘म त अब रिसाउँछु बोल्दै बोल्दिन, रुने मान्छेसँग दिल खोल्दै खोल्दिन ।’ सरले स्वर त साह्रै राम्रो रहेछ, फेरि एकपटक गाउ त भन्नुभएपछि कक्षा कोठा पूरै शान्त भयो । मैले पुन: त्यही गीत गाएँ । मैले दुई पटक गीत गाएपछि सरले ‘ल तँ छनौट भइस्, जिल्लामा गएर गाउनुपर्छ’ भन्नुभयो । एकछिनपछि मलाई अफिसमै डाकेर हेडसरसहित विद्यालयभरिका शिक्षक माझ पुन: गीत गाउन लगाइयो, त्यहाँ पनि मैले त्यही गीत गाइदिएँ । जिल्लास्तरीय प्रतियोगितामा अर्को एउटा बाल गीत गाएको थिएँ, जिल्ला प्रथम नै भएँ । त्यो दिनपछि मात्र ममा संगीतप्रति आकर्षण बढेको हो । त्यसपछि कक्षा ९ मा पढ्दा पनि मैले जिल्लाव्यापी गायन प्रतियोगिता जितें, काठमाडौंमा आयोजित संगीत सम्मेलनमा सहभागिता जनाएँ । एसएलसीपछि गायक नै बन्ने उद्देश्यले काठमाडौं आएँ अनि संगीतको प्रशिक्षण लिन थालें ।
संगीतकै लागि जन्मिएको रहेछु भन्ने कुरा कहिले अनुभव भयो ?
त्यो त अहिले पनि भएको छैन । मलाई अझै डर लाग्छ । मैल अहिलेसम्म संगीतमा बिताएको समयलाई मूल्यांकन गर्दा केचाहिं भन्छु भने मैले संगीतको सुरुवात नै गर्न सकेको छैन । वास्तविक संगीत दिनै सकेको छैन ।
अझै पनि नेपालको सांगीतिक क्षेत्र व्यवसायिक हुन सकेको छैन भनिन्छ नि ?
एफएम रेडियो तथा इन्टरनेटको प्रचलनसँगै कलाकारहरूले रहरै–रहरमा संगीतमा लगानी गरे । संगीतमा लगानी गरेको ७ लाख रुपैयाँ डुब्दा पनि उनीहरू हाँसेरै हिंड्न थाले । यद्यपि एउटा त्यस्तो समय आयो, जब संगीतकर्मीहरूलाई अब सधैंभरि डुबिरहन सकिंदैन भन्ने सोच पलायो । एक पटक डुब्छ, दुई पटक डुब्छ, नडुबी राम्रो गीत नै नआउने भयो । आफूले गरेको लगानी कहाँ जाने रहेछ भनेर खोज्न थालियो । कलाकारहरूलाई मारेर संगीत कम्पनीहरू धनी हुन थाले । अहिले स्रष्टाले हक अधिकार पाउने बाटो खुल्दैछ । रोयल्टी प्रदान गर्ने ३९ वटा ठाउँ किटानी भैसकेका छन् । विभिन्न संघ–संस्थाको पहलमा संगीतकर्मीहरूले रोयल्टी पाउने बाटो खुलेको छ । यदि कलाकारहरूले उनीहरूको हक–अधिकार पाउन थाले भने नेपालको सांगीतिक बजारको भविष्य उज्ज्वल हुनेछ ।