आकर्षकको अर्थ अरूलाई आफूप्रति सम्मोहित गर्नु हो । कसैको शारीरिक बनावट, रूप रंग त कसैको बोलीवचन तथा व्यक्तित्वले मानिसलाई सम्मोहित गरिरहेको हुन्छ । ‘आकर्षण’ सौन्दर्य बोधको त्यो भावना हो– जसमा एक व्यक्तिलाई अर्को व्यक्तिको शारीरिक तथा बौद्धिक पक्ष सुखदायक, मोहक एवं सुन्दर लाग्छ ।
आकर्षकको मापदण्डमा समेत विविधता पाइन्छ । कसैलाई मृगनयनी आँखा मन पर्छ, कसैलाई क्याडबरी ओठ । कोही चकलेटी अनुहारप्रति आकर्षित भैरहेका हुन्छन्, त कोही सिल्की केशमा । कसैलाई उचाइले तानिरहेको हुन्छ त कोही अनुहारको वनावटमा मुग्ध भैरहेका हुन्छन् । सामाजिक भूमिका कसैको आकर्षक छविको कारण बनिरहेको हुन्छ भने बौद्धिक सुन्दरताले पनि धेरैलाई लोभ्याइरहेको हुन्छ ।
आकर्षक महिला तथा पुरुष यिनै हुन् भनेर ठोकुवा गर्ने कुनै वैज्ञानिक आधार छैन । फरक–फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षण महिला–पुरुष खोजी गर्ने चलन छ । त्यसका लागि विभिन्न मापदण्डहरू तय गरिएका छन्, जसमा सर्वेक्षण, जनमत, व्यवसायिक सफलता, प्रभाव, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ । आकर्षण महिला–पुरुषमा प्राय: मिडियामा छाइरहने सेलिब्रेटी तथा सामाजिक भूमिका देखिएका व्यक्तिहरू नै पर्छन् ।
साप्ताहिकले नौ वर्षदेखि नेपालका सर्वाधिक आकर्षक महिला–पुरुष खोज्ने जमर्को गरिरहेको छ । सर्वस्वीकार्य मनकी राजकुमारी वा राजकुमारको खोजी गर्नु पक्कै पनि जटिल विषय हो । हरेक प्रणय दिवसको अवसरमा हामीले नेपालका सर्वाधिक शारीरिक रूपमा बोल्ड, ब्युटिफूल तथा ह्याण्डसम महिला–पुरुष खोज्ने प्रयास गर्दै आएका छौं । यो भ्यालेन्टाइन डेमा पनि साप्ताहिकले त्यसलाई निरन्तरता दिएको छ ।
यो पनि पढ्नुहोस्
आकर्षक १० महिला
विविध क्षेत्र एवं व्यवसायिक पृष्ठभूमिका प्रतिनिधि पात्रका मतका आधारमा साप्ताहिकले नेपालका सर्वाधिक आकर्षक पुरुष–महिला छान्ने प्रयास गरेको हो । सर्वेक्षणका क्रममा सहभागीहरूलाई सुन्दरता, व्यक्तित्व, बौद्धिकता एवं प्रभावलाई आधार बनाउन अनुरोध गरिएको थियो । ती प्रतिनिधिहरूले छनौट गरेको सूचीका आधारमा सबैभन्दा बढी मत प्राप्त गर्ने १० जनालाई साप्ताहिकले सर्वाधिक आकर्षक महिला–पुरुषका रूपमा छनौट गरेको छ । हरेक वर्षझैं यसपटकको सर्वेक्षणबाट पनि समाजमा सकारात्मक प्रभाव छाडेका व्यक्ति, मिडियामा निरन्तर छाइरहने परिचित अनुहार, सार्वजनिक पदमा रहेका र आफ्नो प्रभावले समाजलाई तरंगित पार्ने एवं सेलिब्रेटी छवि भएकाहरूकै बोलवाला छ । केही नयाँ अनुहारले आफ्नै सौन्दर्य, प्रभाव र छवि कारण यो वर्ष आकर्षक १० मा डेब्यु गरेका छन् भने केही यो सूचीबाट बाहिरिएका छन् ।
पूर्वयुवराज्ञी हिमानी शाह यसपटक सर्वाधिक आकर्षक महिलाको सूचीको पहिलो स्थानमा छिन् । सम्मोहित तुल्याउन सक्ने सुन्दरता, सरलता एवं भद्र व्यक्तित्वसँगै उनले बढाउँदै लगेको सामाजिक अग्रसरताका कारण हिमानी पहिलो स्थानमा आएकी हुन् । अघिल्लो संस्करणमा उनी दोस्रो स्थानमा थिइन् । यो सूचीमा निरन्तर समावेश हुँदै आएकी हिमानी पहिलो पटक पहिलो स्थानमा उक्लिएकी हुन् ।
गत वर्ष १० औं स्थानमा रहेकी ड्रिमगर्ल साम्राज्ञी राज्यलक्ष्मी शाह यस पटक यो सूचीमा ठूलो फड्को मार्दै दोस्रो नम्बरमा पुगेकी छिन् । हिमानीसँग पहिलो स्थानका लागि कडा प्रतिस्पर्धामा देखिएकी साम्राज्ञीले ८ स्थान माथि उक्लिँदै दोस्रो स्थान सुरक्षित गरेकी हुन् । साम्राज्ञीको आकर्षक शारीरिक बनावट एवं अभिनयसँगै पृथक र सौम्य व्यक्तित्वलाई धेरैले मन पराएका छन् ।
०७२ र ०७३ गरी लगातार दुई संस्करणमा पहिलो स्थानमा रहेकी अभिनेत्री प्रियंका कार्की यसपटक दुई स्थान तल झर्दै तेस्रो स्थानमा पुगेकी छिन् । अपिलिङ स्टाइलको स्टारडम तथा आकर्षक जीउडालकी प्रियंकाको प्रभाव गत वर्षको तुलनामा सामान्य खस्किएको देखिन्छ । म्युजिक भिडियो हुँदै चलचित्रमा आएकी अभिनेत्री केकी अधिकारीले यसपटक आफ्नो प्रभाव उल्लेख्य रूपमा वृद्धि गरेकी छिन् । गत वर्ष नवौं स्थानमा रहेकी केकी यसपटक पाँच स्थान माथि उक्लँदै चौथो स्थानमा पुगेकी छिन् । उनको बौद्धिकता एवं अभिनय क्षमताले धेरैलाई मोहित तुल्याएको पाइन्छ ।
यो पनि पढ्नुहोस्
आकर्षक १० पुरुष
ग्ल्यामरस लुक्सकी अदिती बुढाथोकी पहिलो पटक यो सूचीको पाँचौं नम्बरमा छिन् । ग्ल्यामर लुक र बोल्डनेसका कारण फिल्मी पर्दामा नदेखिँदै चर्चामा रहेकी अदिती गत वर्ष थोरै मतका कारण टपटेनको सूचीमा अटाएकी थिइनन् । सर्वेक्षणका क्रममा उनलाई सम्भावना बोकेकी ‘बोल्ड एन्ड ब्युटिफूल’ नायिकाका रूपमा धेरैले मत दिएका छन् ।
केही वर्षदेखि गायन, सेक्सी जीउडाल एवं आकर्षक ठुम्काका कारण चर्चामा रहने गायिका इन्दिरा जोशी छैटौं नम्बरमा छिन् । २०६९ र २०७१ को संस्करणमा इन्दिरा पहिलो नम्बरमा थिइन् । २०७२ मा चौथो स्थानमा रहेकी जोशी २०७३ मा तेस्रो स्थानमा उक्लिएकी थिइन् तर, यस पटक उनी ३ स्थान तल झर्दै छैटौं स्थानमा छिन् ।
‘ऐश्वर्या’बाट यसै वर्ष चलचित्रमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसार्इं सूचीको सातौं नम्बरमा छिन् । उनी पहिलो पटक यो सूचीमा परेकी हुन् । दीपिकासँगै मिस नेपाल निकिता चाण्डक यो सूचीको आठौं नम्बरमा छिन् । पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले भने गत वर्षको आफ्नो प्रभाव कायम राख्न सकेकी छैनन् । गएको संस्करणमा चौथो स्थानमा रहेकी सृष्टि यसपटक नवौं स्थानमा छिन् ।
विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि चर्चामा आएकी हुन्— रञ्जु दर्शना । अनपेक्षित रूपमा भारी मत ल्याएपछि थप चर्चित भएकी रञ्जु यो सूचीको १० औं स्थान रहन सफल भइन् ।
अभिनेत्री नम्रता श्रेष्ठ भने यस पटक यो सूचीबाट बाहिरिएकी छिन् । उनको सुन्दरता एवं निडरताका सम्बन्धमा धेरै कुरा भएपनि उनलाई पर्याप्त मत प्राप्त भएन । ०७२ को संस्करणमा तेस्रो स्थानमा रहेकी नम्रता ०७३ मा पाँचौं स्थानमा थिइन् । गत वर्ष छैटौं स्थानमा रहेकी दीपाश्री निरौला यसपटक यो सूचीमा छैनन् । उनीसँगै गत वर्ष सातौं र आठौं नम्बरमा रहेका क्रमश: पौडी खेलाडी गौरिका सिंह र भलिबल खेलाडी तथा अभिनेत्री सिपोरा गुरुङ पनि यसपटक यो सूचीमा अटाएका छैनन् ।
विगतका केही आकर्षक महिला :
२०७३ का आकर्षक १० महिला | १. प्रियंका कार्की, २. हिमानी शाह, ३. इन्दिरा जोशी, ४. सृष्टि श्रेष्ठ, ५. नम्रता श्रेष्ठ, ६. दीपाश्री निरौला, ७. गौरिका सिंह, ८. सिपोरा गुरुङ, ९. केकी अधिकारी, १०. साम्राज्ञी राज्यलक्ष्मी शाह । |
२०७२ का आकर्षक १० महिला | १. प्रियंका कार्की, २. हिमानी शाह, ३. नम्रता श्रेष्ठ, ४. इन्दिरा जोशी, ५. सृष्टि श्रेष्ठ, ६. अकेशा विष्ट, ७. वर्षा शिवाकोटी, ८. नीति शाह, ९. ऋचा शर्मा, १०. माला लिम्बू । |
२०७१ का आकर्षक १० महिला | १. इन्दिरा जोशी, २. अकेशा विष्ट, ३. प्रियंका कार्की, ४. करिश्मा मानन्धर, ५. नम्रता श्रेष्ठ, ६. केकी अधिकारी, ७. सुविन लिम्बू, ८. रिमा विश्वकर्मा, ९. सञ्चिता लुइँटेल, १० आस्था पोखरेल । |
गायिका मेलिना राई, अभिनेत्री स्वस्तिमा खड्का, नृत्यागंना एलिसा राई थोरै मतान्तरले यो सूचीमा अटाउन सकेनन् । यसबाहेक रिमा विश्वकर्मा, मीरा राई, सारा सिर्पाली, श्वेता खड्का, वर्षा शिवाकोटी, सविता कार्की तथा आस्था राउतले उल्लेख्य मत प्राप्त गरे पनि टपटेनमा समावेश हुन त्यो मत पर्याप्त भएन ।
विगतका सूचीको टप टेनमा पर्न सफल मोडल नीति शाह, अभिनेत्री झरना ब्रजाचार्य, करिश्मा मानन्धर एवं सञ्चिता लुइँटेल, सञ्चारकर्मी तथा मोडल साहना ब्रजाचार्य, गायिका कोमल वली, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली मोडल आस्था पोखरेलले उत्साहप्रद मत प्राप्त गरे पनि उत्कृष्टमा पर्न आवश्यक मत प्राप्त गर्न सकेनन् ।
सर्वाधिक आकर्षक पुरुषतर्फ पनि केही फेरबदल देखिएको छ । सर्वाधिक आकर्षक पुरुषको यो सूचीमा चार नयाँ अनुहारले डेब्यु गरेका छन् भने ६ जना पुरानै अनुहार छन् । यसपटक उनीहरूको पोजिसन पनि केही परिवर्तन भएको छ ।
विगतका केही आकर्षक पुरुष :
२०७३ का आकर्षक १० पुरुष :- १. कुलमान घिसिङ, २. दयाहाङ राई, ३. गगन थापा, ४. पारस खड्का, ५. दीपकराज गिरी, ६. सौगात मल्ल, ७. विमल घर्तीमगर, ८. अनमोल केसी, ९. सर्वेन्द्र खनाल, १०. आयुष्मान देशराज |
२०७२ का आकर्षक १० पुरुष :- १. अनमोल केसी, २. विमल घर्तीमगर, ३. दयाहाङ राई, ४. पारस खड्का, ५. सौगात मल्ल, ६. आर्यन सिग्देल, ७. प्रबल गुरुङ, ८. अनुपविक्रम शाही, ९. आयुष्मान देशराज जोशी, १०. राजेश हमाल । |
२०७१ का आकर्षक १० पुरुष :- १. पारस खड्का, २. अनमोल केसी, ३. गगन थापा, ४. दयाहाङ राई, ५. अनिल गुरुङ, ६. सुरजसिंह ठकुरी, ७. राजेश हमाल, ८. अनुप विक्रम शाही, ९. विमल घर्तीमगर, १०. दिकेश मल्होत्रा । |
२०७२ मा थोरै मतले बाहिरिएका युवा नेता गगन थापा २०७३ मा कमब्याक गर्दै पुन: तेस्रो नम्बरमा पुगेका थिए । यसपटक पनि उनी त्यही स्थानमा छन् । वाक्पटुता एवं आकर्षक भाषणशैलीका धनी थापा अहिले पनि धेरैको रोजाइमा पर्छन् । गत वर्ष यो सूचीको दोस्रो स्थानमा रहेका दयाहाङ राई यसपटक दुई स्थान पछि छन् । अब्बल अभिनय क्षमताका धनी राईको प्रभाव यसपटक केही घटेको देखिन्छ, जसका कारण उनी चौथो नम्बरमा झरेका हुन् ।यो वर्ष २०६९, २०७० र २०७१ गरी तीन संस्करणमा सर्वाधिक आकर्षक पुरुषको पहिलो नम्बरमा परेर ह्याट्रिक गरेका राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दुई वर्षपछि पुन: सोही स्थानमा कमब्याक गरेका छन् । २०७२ मा चौथो स्थानमा रहेका पारस २०७३ को संस्करणमा पनि चौथो नम्बरमै थिए ।
ब्याक टु ब्याक हिट चलचित्र दिइरहेका अभिनेता अनमोल केसीले सर्वाधिक आकर्षक पुरुषको सूचीमा ठूलो फड्को मारेका छन् । २०७२ को संस्करणका नम्बर वान अनमोलको चकलेटी लुक्स र स्टारडमको पर्याप्त प्रशंसा हुन्छ । गत वर्ष ८ औं नम्बरमा रहेका केसी यो संस्करणमा कम ब्याक गर्दै दोस्रो स्थानमा पुगेका छन् ।
गत वर्ष पाँचौ नम्बरमा रहेका कलाकार दीपकराज गिरी यसपटक यो सूचीमा अटाएनन् । युवा फुटबलर विमल घर्तीमगर पाँचौं स्थानमा उक्लिएका छन् । गत वर्ष उनी सातौं स्थानमा थिए । विमलको आकर्षक लुक्स र उनको स्ट्राइकिङ क्षमताको प्रशंसा सर्वेक्षणमा सहभागी सबैले गरे । गत वर्ष यो सूचीको छैटौं स्थानमा रहेका अभिनेता सौगात मल्ल यसपटक सातौ स्थानमा छन् । गत वर्ष पहिलो नम्बरमा रहेका कुलमान घिसिङको आकर्षण यो वर्ष केही घटेको देखियो, फलस्वरूप उनी टपटेनबाट बाहिरिएका छन् ।
क्रिकेटमा तहल्का मच्चाइरहेका युवा बलर सन्दीप लामिछानेले यसपटक पटक सर्वाधिक आकर्षक पुरुषहरूको सूचीमा डेब्यु गरेका छन् । आर्थिक हिसाबले विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग आइपिएलमा स्पीन बलरका रूपमा अनुबन्धित भएर आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी भएका सन्दीपलाई धेरैले सम्भावित क्रिकेट स्टारका रूपमा मत दिए । सन्दीप यो सूचीको सातौं स्थानमा छन् ।
चर्चित रियालिटी शो नेपाल आइडलको उपाधि जितेका बुद्ध लामा यस पटक आकर्षक पुरुषको सूचीमा ८ औं नम्बरमा छन् । कुमार घैंटे इन्काउन्टरदेखि नेपाली फुटबलको म्याच फिक्सिङको अन्तर्राष्ट्रिय जालो तोड्नेसम्मको कामको श्रेय पाएपछि गत वर्ष सर्वेन्द्र खनाल यो सूचीको नवौं स्थानमा थिए तर यसपटक उनी आकर्षक पुरुषको उत्कृष्ट १० बाट बाहिरिएका छन् । यो सूचीको नवौं स्थानमा भिजे रवि लामिछाने छन् । गएको संस्करणमा १० औं स्थानमा रहेका आयुष्मान देशराज यसपटक टप टेनमा अटाउन सकेनन् भने अभिनेता पल शाहले यो सूचीको १० औं नम्बरमा डेब्यु गरेका छन् ।
सर्वाधिक आकर्षक महिला छनौटकर्ता :
दीपेन्द्र के खनाल (निर्देशक), दिवाकर भट्टराई (निर्देशक), जितु नेपाल (अभिनेता), सुविन भट्टराई (लेखक), रोशन प्रसाईं (विज्ञापन व्यवसायी), एन्जिल मास्के (फोटोग्राफर), शान थापा (पब्लिसिटी डिजाइनर), लक्ष्मी ठाकुर (हेयर डिजाइनर), विनोद भण्डारी (क्रिकेटर), प्रमोद अग्रहरि (कास्टिङ डाइरेक्टर), साहिल खान (भिडियो एडिटर), भरत रेग्मी (भिडियो एडिटर), हेमन्त राना (गायक), केदार श्रेष्ठ (थिएटर आर्टिष्ट), डा. रन्जित झा (चिकित्सक), सुशील नेपाल (भिजे), टेकेन्द्र शाह (भिडियो एडिटर) । | |
जो टप टेनमा पर्न सकेनन्
महिला : अभिनेत्री वर्षा राउत, स्वस्तिमा खड्का, गायिका मेलिना राई तथा आस्था राउत थोरै मतले यो वर्ष टप टेनको सूचीबाट बाहिरिए । निरन्तर टप टेनमा पर्दै आएकी चकलेटी अभिनेत्री नम्रता श्रेष्ठ थोरै मतले बाहिरिइन् । यस्तै, गत वर्षकै टपटेनको सूचीमा रहेकी भलिबल खेलाडी सिपोरा गुरुङ, पौडी खेलाडी गौरिका सिंह तथा निर्मात्री–निर्देशक दीपाश्री निरौला पनि यो सूचीमा अटाउन सकेनन् । अभिनेत्री सारा सिर्पाली एवं वर्षा शिवाकोटी केही मत पाएपनि त्यो टपटेनमा पार्न पर्याप्त भएन् ।
नृत्यांगना एलिसा राई जबजस्त प्रतिस्पर्धाबीच सूची बाहिरै रहिन् । अभिनेत्री रिमा विश्वकर्मा, अल्ट्रा धावक मीरा राई, अभिनेत्री श्वेता खड्का, आना शर्मा, शिल्पा पोखरेल, रिष्मा गुरुङ, मोडल सविता कार्की तथा नीति शाहले पनि यसपटक राम्रै मत प्राप्त गरे ।
०७२ को संस्करणमा सर्वाधिक आकर्षण महिलाको टप टेनमा पर्न सफल अभिनेत्री ऋचा शर्मा, मोडल माला लिम्बू, अभिनेत्री वर्षा शिवाकोटी तथा अभिनेत्रीअकेशा विष्टले भने यो संस्करणमा छनौटकर्ताहरूको मन जित्नसकेनन् ।
सर्वाधिक आकर्षक पुरुष छनौटकर्ता :
माल्भिका सुब्बा (अभिनेत्री/मिडियापर्सन), अशिष्मा नकर्मी (अभिनेत्री), सबनम मुखिया (कोरियाग्राफर), डा. ज्योति भट्टराई (चिकित्सक), आश्ना अवस्थी (कोरियाग्राफर), अश्लेषा ठकुरी (अभिनेत्री), शिक्षा संग्रौला (मोडल), निशा पन्थी (व्यवसायी), नन्दा अधिकारी (मेकअप आर्टिष्ट), मन्जु कार्की (मेकअप आर्टिष्ट), सरिता गिरी (थिएटर आर्टिष्ट), मीना निरौला (गायिका), सुधिरा शाह (फोटोग्राफर), अनुमा कोइराला (निर्देशक), रमिला नेमकूल (फेसन डिजाइनर), रोजिना श्रेष्ठ (फेसन डिजाइनर) तथा सरस्वती प्रतीक्षा (साहित्यकार) । | |
पुरुष : गत वर्ष आकर्षण पुरुषहरूको टप टेनको पहिलो नम्बरमा परेका कुलमान घिसिङ तीब्र प्रस्पिर्धाकाबीच बाहिरिए । उनलाई आकर्षक पुरुषका रूपमा केही मत प्राप्त भए पनि त्यो मत टपटेनमा अटाउन पर्याप्त भएन । गत वर्ष दसौं नम्बरमा पर्न सफल आयुष्मान देसराज यस पटक झिनो मतान्तरले बाहिरिए । उनको ह्याडसमनेसको प्रशंसा भने धेरैले गरेका थिए । गत वर्ष पनि थोरै मतान्तरले बाहिरिएका फुटबलर नवयुग श्रेष्ठले यस पटक पनि त्यही नियति बेहोरे ।
पछिल्लो समय महँगा अभिनेतामा पर्ने प्रदीप खड्का पनि थोरै मतले टपटेनमा पर्न सकेनन् । युवा अभिनेता नाजिर हुसेन, आशिरमान देसराज, सलोन बस्नेत, फेसन डिजाइनर विश्व गौतम पनि झिनो मत अन्तरले उत्कृष्ट १० बाट बाहिरिए । चकलेटी अभिनेता आर्यन सिग्देललाई पनि टपटेनमा पार्न पर्याप्त मत आएन । कामेश्वर चौरासियालाई आकर्षक पुरुषमा राख्नुपर्ने मत पनि केहीको थियो ।
गत वर्ष टपटेनको सूचीमा परेका अभिनेता तथा निर्माता दीपकराज गिरी एवं नेपाल प्रहरीका डिआइजी सर्वेन्द्र खनाल पनि यसपटक टप टेनको सूचीमा अटाउन सकेनन् । अभिनेता राजेश हमाल तथा अभिनेता/मोडल तथा चिकित्सक डा. आयुष्मान घिमिरेलाई पनि केहीले सर्वाधिक आकर्षक पुरुषका रूपमा मत दिएका थिए । व्यवसायी दिकेश मल्होत्रा एवं सौरभ ज्योति, गायक निर्णय श्रेष्ठ तथा अमृत गुरुङ, युवा राजनीतिज्ञ योगेश भट्टराई, अभिनेता सुशील श्रेष्ठ, मोडल पुष्प खड्का तथा फेसन डिजाइनर विश्व गौतमलाई समेत केही मत परेको थियो ।
कसले के भने ?
गायिका मीना निरौलाले आकर्षण पुरुष छनौटमा सर्वप्रथम पारस खड्काको नाम लिइन् । उनले आकर्षक व्यक्तित्व अनि राम्रो क्रिकेटर भन्दै पारसलाई पहिलो नम्बरमा राखिन् । त्यसपछि उनले क्रिकेटमार्फत अन्तर्राष्ट्रिय एरिनामा नेपालको गौरव बढाएको भन्दै अर्का क्रिकेटर सन्दीप लामिछानेको नाम लिइन् । युवा फुटबलर विमल घर्तीमगरको स्किलबाट प्रभावित मीनालाई उनको स्ट्राइकिङ पावरले तानेको रहेछ ।
अभिनेत्री माल्भिका सुब्बाले युवा स्टार अनमोल केसीलाई मत दिइन् । त्यसैगरी क्रिकेटर पारस खड्कादेखि नेपाल आइडल बुद्ध लामासम्म उनको रोजाइमा परे ।अभिनेत्री अशिष्मा नकर्मीले बेग्लै पर्सनालिटी भएको व्यक्तित्वका रूपमा अनमोल केसीलाई सर्वाधिक आकर्षण पुरुषको नम्बर वानमा राखिन् । फेसन डिजाइनर रमिला नेमकूलले पारसलाई ह्यान्डसम भन्दै आकर्षण पुरुषको सूचीमा समावेश गरिन् ।
व्यवसायी तथा भिजे निशा पन्थीले ‘न्यू फलेवर’को एक्टर भन्दै अभिनेता नाजिर हुसेनलाई पहिलो भोट दिइन् । उनले सौगात मल्ललाई भर्सटाइल, नवयुग श्रेष्ठलाई गुडलुकिङ फुटबलर तथा पारस खड्कालाई सबैको मुटुमा बसेको क्रिकेटर भन्दै आकर्षण पुरुषमा छनौट गरिन् । पोलिटिक्समा ब्युटी विथ ब्रेनको गगन छविलाई पनि उनले आकर्षक मानिन् ।
मेकअप आर्टिस्ट मञ्जु कार्कीले ‘क्युट लुक’का अनमोल केसीलाई पनि सर्वाधिक आकर्षक पुरुषमा भोट गरिन् । ‘अनमोलको क्युट लुक अनि ओभल फेस बिछट्टै राम्रो लाग्छ,’ उनले भनिन् । निर्देशक अनुमा कोइरालाले भनिन्, ‘पारस र कुलमानको पफर्मेन्स राम्रो छ । कोरियोग्राफर सवनम मुखियाको रोजाइमा दयाहाङ पहिलो नम्बरमा परे । उनले दयाहाङको अभिनयले आफूमा विशेष छाप छाडेको बताइन् । मोडल शिक्षा संग्रौलाको रोजाइको पहिलो नम्बरमा अनमोल केसी नै रहे । ‘उनको लुक निकै आकर्षक छ,’ शिक्षाले भनिन्, ‘स्टारडम ह्याडल गर्न सक्ने र अभिनयमा समेत खारिँदै गएकाले अनमोल आकर्षक छन् ।’ शिक्षाले पारसको अपिरियन्सले पनि आफूलाई प्रभावित तुल्याएको बताइन् ।
कोरियोग्राफर आश्ना अवस्थीले आफ्नो छनौटको पहिलो नम्बरमा युवा क्रिकेटर सन्दीप लामिछानेलाई राखिन् । सानै उमेरमा इन्डियन प्रिमियर लिगमा छानिएर नेपालको नाम उचो बनाएको भन्दै उनले सन्दीपलाई ट्यालेन्ट र स्किलफुल क्रिकेटरका रूपमा चित्रित गरिन् । यसैगरी कुलमान घिसिङलाई १६ घण्टाको लोडसेडिङ हटाएको भन्दै उनलाई ‘नेपालको एक शक्तिशाली हतियार’ बताउने अवस्थीले पारसको ब्याटिङको खुलेर प्रशंसा गरिन् । यस्तै, उनले दयाहाङको एक्टिङ स्किलको समेत प्रशंसा गरिन् । ‘लुट’को हाकु कालेको भूमिका सम्भँmदै उनले सौगातलाई भर्सटाइल अभिनेता भनिन् भने टिन आइडल भन्दैं बुद्ध लामाको स्मुथ र मेलोडियस भ्वाइसको प्रशंसा गरिन् ।
निर्देशक दीपेन्द्र के खनालले हिमानी शाहलाई पहिलो नम्बरमा भोटिङ गरे । उनले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की, केकी अधिकारी, नम्रता श्रेष्ठ आदिलाई भोट गरेका थिए । यस्तै उनले मोडल सविता कार्की तथा खेलाडी मीरा राईलाई पनि आकर्षक महिलाको सूचीमा राखे ।
निर्देशक दिवाकर भट्टराईको पहिलो रोजाइमा साम्राज्ञी परिन् । उनले दोस्रो नम्बरमा बलिउड फ्लेवरकी अभिनेत्री दीपिका प्रसाईलाई राखे । हिमानी शाहदेखि अदिती बुढाथोकीसम्म उनको छनौटका आकर्षक महिला रहे ।
पब्लिसिटी डिजाइनर तथा म्युजिक भिडियो निर्देशक शान थापाले साम्राज्ञी राज्यलक्ष्मी शाह तथा प्रियका कार्कीलाई आफ्नो प्राथमिकतामा राखे । वर्षा राउतलाई फ्रेन्ड्ली तथा आकर्षक मान्ने थापाले हिमानीको सुन्दरता, देशभक्ति, समाजसेवा एवं सरलपनको पनि खुलेर प्रशंशा गरे । मीठो स्वरका लागि मेलिना राईलाई आकर्षक महिलामा छनौट गरेका थापाले केकी अधिकारी, रन्जु दर्शना हुँदै अदिती बुढाथोकीसम्मलाई मत दिएका थिए ।
क्रिकेटर विनोद भण्डारीले आकर्षक महिलाको पहिलो नम्बरमा दीपिका प्रसाईलाई राखे । दीपिकाको मोहित पार्ने सुन्दरताका कारण विज्ञापन ब्यवसायी रोशन प्रसार्इंले पनि उनलाई पहिलो नम्बरमै भोट गरे ।
थिएटर आर्टिस्ट एवं निर्देशक केदार श्रेष्ठले युवा पोलिटिसियन रन्जु दर्शनालाई पहिलो नम्बरमा भोटिङ गरेका थिए । अभिनेता जितु नेपाललाई हिमानीको भब्य सौन्दर्यले पहिलो नम्बरमा उनैलाई भोट दिन बाध्य तुल्यायो ।
लेखक सुबिन भट्टराईलाई मीराको स्पोर्ट्सम्यान स्पिरिट निकै मन परेको छ । ‘देशभित्रै चिनिने धेरै हुन्छन् तर देशलाई चिनाउने कमै हुन्छन्,’ उनले मीरालाई पहिलो स्थानमा राख्नुको कारण खोल्दै लेखेका छन्, ‘मीरा राईको क्षमता, साहस र उपलब्धि हर नेपालीको इच्छा हो । त्यसैले उनलाई आकर्षण व्यक्तिको पहिलो सूचीमा राखे ।’ भट्टराईले भर्सटाइल गायिका भन्दैं अन्जु पन्तलाई दोस्रो नम्बरमा भोट दिए । क्युट लुककी नम्रता सापकोटाको धेरैथोक बोल्ने आँखा, सिपोरा गुरुङको प्रभावशाली व्यक्तित्व, आस्था राउतको बोल्ड आवाज पनि सुबिनलाई मन परेको छ । हिमानी शाहलाई पनि आकर्षक महिला मान्ने लेखक भट्टराई भन्छन्, ‘उनको हिँडाइ, बसाइ, हेराइदेखि लिएर स–साना क्रियाकलापसम्ममा एउटा अनौठो र मादक गाम्भीर्य छ ।’