हङ्कङ आईडीले तानेका गायक राज तामाङ् हङ्कङको डलर खेतीमा मात्र लागेनन् । उनको अन्तत अथक प्रयास र निरन्तरको लगावले बनायो हङ्कङ आईडल । सन् २०१० मा पाएको यो उपाधीले उनको सांगितीक यात्रा अझ बलियो बन्दै गयो । २००२ मा पूर्वको शुन्दर शहर दमकबाट हङ्कङ पुगेका राजले आफ्नै एल्बम, चलचित्र, कलेक्सन एल्बममा गरेर ५० वटा गीत गाईसकेका छन् ।
गाउँघर, क्लबमा गाउँदै, नाच्दै हुर्किएका उनलाई संगीतको त्यो नशा नेपाल छदै चढिसकेको थियो । एसएलसी सकेर साहित्य संगीतको २ वर्षे अध्ययन र अभ्यासले उनलाई अझै निखार्ने काम गर्यो । हङ्कङमा गायक तथा संगितकार दिनेश सुब्बासागको भेटले उनको सांगितीक यात्रामा थप मलजल पुग्यो ।
कानुनका विद्यार्थी राज हङ्कङमा कानुन ब्यवसायीकै रुपमा कार्यरत छन्, उनको आफ्नै कन्सल्टेन्सी छ । यावत ब्यस्तताको बीचमा पनि नेपाली गीत, संगीत भनेपछि उनको मनमा एकप्रकारको भ्राईब्रेसन हुन्छ, जसले उनको मन र मस्तिष्क तरङ्गीत पार्छ । ‘सायद संगीतमा निरन्तर लाग्ने प्रेरणाको कारण यहि हो’ उनी भन्छन् ।
एल्बम ‘मेरो यात्रा’ र ‘ल्याटिनो प्रिन्स’ उनका सांगीतिक सम्पती हुन् । एल्बमका गीतहरुले खासै चर्चा नपाए पनि स्टेज र श्रोताहरुमाझ उनी चिनिए । ‘पहिलो एल्बममा ५ वटा र दोश्रो एल्बममा ८ वटा गीत समावेश गरेको थिए, दुवै एल्बममा मेरो प्रयास र अपेक्षा बढि नै थियो’ उनी थप्छन् । आगामी दिनमा पक्कै पनि मेरो संगीतले उहाँहरुको सांगितीक तृष्णा मेट्नेछ ।
राज पछिल्लो समय गीत ‘हाई हेल्लो’ मार्फत दर्शक, श्रोतहरु माझ आएका छन् । आफनै शब्द, संगित र स्वरमा आवद्ध गीतको भिडियोले दर्शकहरुको मन जितिरहेको छ । क्लब मिक्स थिममा बनाईएको भिडियोलाई मिलन थापाले निर्देशन गरेका छन् ।