सदावहार नायक भुवन केसीको अदा र पर्सोनिलिटीमा मरिमेट्नेहरूको कमी छैन । नायक छोरा अनमोल केसी युवा स्टार भैसक्दा पनि उनको क्रेज र स्क्यान्डलले नेपाली सिने संसार बेला–कुबेला तात्तिइरहन्छ । काजोल फिल्म्समार्फत चलचित्र निर्माण एवं निर्देशनमा हात हालेका भुवन सफल चलचित्र निर्माता तथा निर्देशक मानिन्छन् । लामो समय लगाएर ठूलो बजेटमा निर्माण गरिएको चलचित्र कृले प्रशंसासँगै आलोचना समेत खेप्नुपर्यो ।
ट्रेलरजस्तो धमाकेदार नभएको, कथा पुरानै भएको जस्ता प्रतिक्रिया दर्शक तथा समीक्षकहरूबाट पाएको कृ चलचित्र सम्झनाको उकालीमा अघि–अघि गीत चोरेको आरोपका कारण समेत विवादमा तानियो । चलचित्र सम्झनाका निर्देशक शम्भु प्रधानले ‘कृ’को ५० प्रतिशत आम्दानी आफ्नो हुनुपर्ने दाबी गरेपछि कृ टिमको तनाव बढेको हो । हङकङमा चलचित्र कृको स्पेसल शो गर्न पुगेका नायक भुवन केशीसँग साप्ताहिकका लागि अनोज रोक्काको पाँच प्रश्न :
नेपालमा तपाईंको चलचित्र कृले मिश्रित प्रतिक्रिया पायो । हङ्कङेली दर्शकहरूले चाहिँ कस्तो प्रतिक्रिया दिए ?
व्यस्त समयका बाबजुद नेपाली चलचित्र तथा कलाकारहरूलाई हङकङेली दर्शकहरूले सम्मान गर्नुहुन्छ । चलचित्र कृ लाई हङकङका दर्शकले निकै मन पराउनुभयो । मेकिङसँगै चलचित्रमा प्रयोग गरिएको हाई टेक्नोलोजीले नेपाली चलचित्रको स्तरवृद्धि गरेको महसुस भयो उहाँहरूलाई ।
तपाईंको ब्यानरमा निर्माण भएका अन्य चलचित्रभन्दा कृले अलिक बढी चर्चासँगै विवादको समेत सामना गर्नुपर्यो होइन ?
म यसलाई खासै ठूलो अथवा नकारात्मक आलोचना मान्दिनँ । त्यो उहाँहरूको सुझाव एवं सल्लाह हो । चलचित्र कृको कुनै पक्ष कसैलाई चित्त बुझेन होला तर समग्रमा अनमोलको हाडवर्क, प्रोगेस र प्रयोग गरिएको टेक्नोलोजीको प्रशंसा नै भएको छ ।
चलचित्रमा समावेश गरिएको पुरानो चर्चित गीत उकालीमा अघि–अघिले चोरीको आरोप पनि खेप्नुपर्यो नि ?
वास्तवमा किन त्यस्तो आरोप लागिरहेको छ, म आफैं आश्चर्यचकित छु । त्यो पुरानो कालजयी गीतमा पनि मेरै अभिनय छ । साथीभाइको करले गर्दा मेरो चलचित्रको गीतको सानो हिस्सा राखौं न त भनेर गीतको सानो टुक्रा समावेश गरेका हौं । मलाई लाग्छ, त्यसमा त उहाँहरूले गर्व गर्नुपर्छ, हामीलाई स्याबासी दिनुपर्छ । दयाहाङको एउटा चलचित्रमा पुरानो चलचित्र सपनाको ‘सुन्दरीको मनमा बस्ने को होला ?’ गीतको टुक्रा समावेश गरिएको थियो, हामीलाई त्यसमा खुसी लाग्यो र स्यावासी पनि दियौं ।
अब ५० प्रतिशतको माग के हुन्छ त ?
शम्भु प्रधान हाम्रा अग्रज हुनुहुन्छ । उहाँप्रतिको आस्था र सम्मान सदैव कायम रहनेछ । साढे ३ करोडको लागतमा निर्माण भएको चलचित्रको आधा भाग डेढ करोड माग गर्नु जायज छैन । म र मेरो निर्माण पक्षबाट उहाँलाई दु:खी बनाउने काम गरिएको छैन । यसबाट पुरानो चलचित्रलाई माया गर्ने दर्शक तथा नयाँ चलचित्रमा अपनत्व खोजिरहेका दर्शकहरूलाई जोड्ने काम मात्र गरिएको हो, सम्भवत: उहाँले कुरा बुझ्नुहुन्छ ।
नयाँ के गर्दै हुनुहुन्छ ?
नयाँ चलचित्र क्याप्टेनको तयारी पूरा भएको छ, अब हामी फ्लोरमा जाँदैछौ ।