म २७ वर्षीया गर्भवती महिला हुँ । मेरो यो दोस्रो गर्भ हो । मेरो महिनावारी नियमित नभएकाले गर्भ रहेको थाहा नपाउँदै पिसाबको समस्याका कारण केही औषधि सेवन गरेको थिएँ । त्यसमा केही एन्टिबायोटिक्सहरू थिए । गर्भावस्थामा एन्टिबायोटिक्स सेवन गर्दा गर्भको शिशुमा असर पर्छ भनिन्छ । यसले मेरो गर्भमा कुनै असर त गर्दैन ? के यस्तो अवस्थामा मैले गर्भपतन गराउनु उपयुक्त हुन्छ ?
उ.
सामान्यत: गर्भावस्थामा धेरै औषधि सेवन गर्नु राम्रो होइन । कतिपय औषधिले गर्भको शिशुमाथि नकारात्मक असर पुर्याउँछन् । त्यस्ता औषधिलाई टेराटोजेनिक औषधि भनिन्छ, तर सबै औषधि टेराटोजेनिक हँुदैनन् । तपाईंले कुन औषधि सेवन गर्नुभएको हो स्पष्ट छैन, त्यसैले असर गर्ने वा नगर्ने कुरा किटानसाथ भन्न सकिएन । तपार्इंले सेवन गरेको औषधि टेराटोजेनिक भएको नभएको पत्ता लगाउन सकिन्छ ।
केही मात्रामा वा एक कोर्स टेराटोजेनिक औषधि सेवन गर्दैमा गर्भमा ठूलै असर पर्छ भन्न सकिँदैन । आफ्नो गर्भको शिशुको अवस्था थाहा पाउन नियमित गर्भ परीक्षण तथा भिडियो एक्स रे (अल्ट्रासाउन्ड) को मद्दत लिन सकिन्छ । एक–दुई कोर्स एन्टिबायोटिक्स खाँदैमा नराम्रो नै हुन्छ भन्ने छैन । त्यसैले हतार गरेर गर्भपतनको बाटो रोज्नुभन्दा प्रसूति विशेषज्ञसँग परामर्श लिनु उपयुक्त हुन्छ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल