नेपाली सांगीतिक आकाशमा सङ्घर्षरत थिए गायक एकदेव लिम्बू । लिम्बू भाषाको पहिलो पपगायकका रूपमा आफूलाई स्थापित गर्दै हिट नम्बरको खोजीमा रहेका एकदेवलाई सिउँदो गीतले पर्याप्त चर्चा दियो । यस कुमारको शब्द तथा संगीतमा तयार भएको गीत सिउँदोमा कस्तो सिमाना कोरेछौ, यसअघि नै गायक बाबु बोगटीले आफ्नो एल्बममा समावेश गरेका थिए । सल्लाहबिना नै आफ्नो एल्बममा समावेश भएको गीत एकदेवलाई दिएकोमा बाबु आक्रोशित समेत भए ।
यस कुमारले पनि आफ्नो शब्द, संगीतको उक्त गीतलाई बाबुले बेवास्ता गरेका कारण नयाँ पुस्ताका एकदेवलाई गाउन दिएको प्रतिक्रिया दिएपछि गीतसँगै गायक एकदेव पनि विवादमा मुछिए । एकदेवको स्वरमा तयार गरिएको गीत सिउँदोले लाखौं भ्युज पाइसकेको छ । एकदेव पहिलो पटक विदेशको सांगीतिक कार्यक्रमका लागि हङ्कङ पुगेका बेला सोधिएका पाँच प्रश्न :
सिउँदो गीतको चर्चाले नै पहिलो विदेशयात्रा तय गरेको हो ?
हो, केही भूमिका अवश्य छ । सबैले मेरो स्वर, यसकुमार दाइको शब्द तथा कम्पोजमा तयार सिउँदो गीतलाई मन पराउनुभयो । हङकङमा पनि गीतको प्रभाव राम्रै पाएँ । सबैले स्यावासी दिनुभयो ।
विवादले आलोचना होइन चर्चा कमाउनुभयो होइन ?
वास्तवमा यो गीत किन विवादित भयो, म छक्क पर्छु । यसकुमार दाइले सिउँदो गीत बाबु दाइलाई दिँदा पनि कुनै स्वार्थबिना दिनुभएको थियो, मलाई पनि प्रयास गर न त भनेर दिनुभएको हो । उहाँहरू मिल्ने साथी पनि हो । हामीले गीत विवादित भएपछि यो गीतको पुरानो भर्सनमा बाबु बोगटीले स्वर दिनुभएको छ भनेर उहाँको नाम पनि हालिसकेका छौं तर जे जस्तो भए पनि उहाँहरू दुवै जना मेरा अग्रज हुनुहुन्छ । मलाई अझ फक्रने मौका दिनुभयो धन्यवाद ।
तपाईंको सांगीतिक यात्रामा सिउँदो गीत टर्निङ प्वाइन्ट नै हो– होइन ?
हो, म एउटा हिट गीतको खोजीमा थिए । पप संगीतमा आफूलाई अभ्यस्त बनाइ रहँदा यो मेलोडियस धारको गीतले मलाई भर्सटायल गायकको परिचय दिएको छ । जहाँ गए पनि सिउँदो गीत गाउन अनुरोध र सकारात्मक कमेन्टस् पाउँदा यो गीत मेरो सांगीतिक यात्राको एउटा टर्निङ प्वाइन्ट नै सावित भएको छ ।
कसरी लिम्बू गीतलाई पप शैलीमा ढालेर पहिलो लिम्बू पपगायक बन्नुभयो ?
म आफ्नो भाषा, संस्कृतिलाई अति नै माया गर्छु । लिम्बू भाषा तथा लिम्बू गीतलाई अहिलेको नयाँ पुस्ताले पनि अङ्गिकार गरुन र यसलाई फरक धारमा पनि सुनियोस भनेर मैले लिम्बू गीतलाई पप शैलीमा गाउने प्रयास गरेको हुँ । हाम्रो आफ्नोपन त छँदैछ तर यो शैलीलाई पनि धेरैले मन पराउनु भएको छ, खुसी छु ।
अब के गर्दै हुनुहुन्छ ?
भर्खरै कञ्चनजंगा सांस्कृतिक साँझमा सांगीतिक प्रस्तुतिका लागि हङकङ पुगेर आए । देशभित्रका कार्यक्रमहरूमा पनि सबैको माया पाइरहेको छु । सिउँदो गीतले पाएको सफलता र प्रोत्साहनबाट गीतको भिडियो निर्माण गर्नैपर्ने आवश्यकता महसुस भएको छ, अरू नयाँ गीतसँगै उक्त गीतको भिडियोको पनि तयारी गरिरहेको छु ।