साप्ताहिक संवाददाता
आश्मा विश्वकर्मा चर्चित डान्स ग्रुप कार्टुन क्रुकी डान्सर हुन् । काठमाडौँको असनमा जन्मिएकी आश्मा सानैदेखि डान्स गर्न रुचाउँथिन् । त्यसो त उनी विद्यालयमा अध्ययन गर्दादेखि नै बिगर डान्स गर्थिन् । मध्यमवर्गीय परिवारमा जन्मिएकी आश्माका बाबुआमालाई भने आश्माले रोजेको बाटो पटक्कै चित्त बुझेको थिएन ।
यो क्षेत्रमा करियर बन्दैन भनेर आफूलाई ममी–बुबाले धेरै रोक्न खोज्नुभएको आश्मा बताउँछिन् । उनी भन्छिन्, ‘मोडलिङमा करियर राम्रो हुँदैन भनेर मलाई यो क्षेत्रमा लाग्न स्वीकृति प्राप्त भएन ।’ त्यति हुँदाहुँदै पनि आश्माले आफ्नो सुर छाडिनन् ।
उनको ढिपीकै कारण बुबाआमा रिसाए, जसले गर्दा उनले दिनहुँजसो घुर्की र गाली सहनुपथ्र्यो । आश्माका बुबाआमाको चाहनाचाहिँ धेरै पढेर सरकारी जागिर खाओस् भन्ने थियो, तर आफ्नो इच्छा भने मोडलिङमा भएकाले उनले यसैलाई निरन्तरता दिइरहिन् । यद्यपि अहिले भने आफूले बाबुआमाको साथ–सहयोग पाउन थालेको आश्मा बताउँछिन् ।
विद्यालय तहदेखिकै रुचि
जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ आश्मालाई परिवारका सदस्यहरूले जति रोक्न खोजे पनि उनी आफ्नो इच्छालाई शक्तिमा बदल्दै अघि बढिन् । आश्मा विद्यालय तहदेखि नै आफ्नो प्रतिभा लुकाउन चाहन्नथिन् । उनी आफ्ना डान्स भिडियोहरू सामाजिक सञ्जालमा सेयरसमेत गर्थिन्, जहाँबाट उनले राम्रो प्रतिक्रिया प्राप्त गर्न थालिन् ।
त्यस्ता प्रतिक्रियाले आफूलाई अघि बढ्ने हौसला प्रदान गरेको आश्मा बताउँछिन् । यही क्रममा उनले नक्सालस्थित टंगाल माविबाट ०७० मा एसएलसी दिइन् । अध्ययनमा समेत अब्बल आश्माले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसी उत्तीर्ण भएपछि उनी कलेज अध्ययनका लागि एनआइसी कलेजमा भर्ना भइन् ।
यसरी जुर्यो कार्टुन क्रु टिमसँगको भेट
कलेजमा अध्ययनरत आश्मा आफ्नो क्षमता मजबुत बनाउन ठमेलस्थित एक डान्स सेन्टरमा भर्ना भइन् । त्यति बेला कार्टुन क्रुको टिम पनि त्यहीँ तालिम लिँदै थियो । त्यहीं उनको भेट कार्टुन क्रु टिमसँग भयो । बिस्तारै कार्टुन क्रुको टिमसँग उनको हिमचिम बढ्न थाल्यो ।
यही क्रममा टिमका क्याप्टेन सरोज अधिकारीले आश्मालाई कार्टुन क्रुमा ल्याउन चाहे । आश्मा भन्छिन्, ‘ट्रेनिङ गरिरहेकै बेला कार्टुन क्रुका क्याप्टेन सरोज अधिकारीले तिमी धेरै मेहनती छौं, तिमीले राम्रो गर्न सक्छौ, त्यसैले कार्टुन क्रुमा सँगै काम गरौँ भन्नु भयो अनि म सन् २०१२ देखि कार्टुन क्रुको सदस्य भएँ ।’
पानी पर्योले चर्चामा ल्यायो
सन् २००९ मा स्थापना भएको कार्टुन क्रुले सन् २०१२ देखि कभर भिडियो बनाउन थाल्यो । यही क्रममा क्रु टिमले सन् २०१५ मा जालमा भिडियो सार्वजनिक गर्यो, जुन भिडियोलाई युट्युबमा थोरै समयमै १० लाखभन्दा धेरै भ्युज प्राप्त भयो ।
त्यसलगत्तै टिमले ‘पानी पर्यो असिना झर्यो’ गीतको कभर भिडियो सार्वजनिक गर्यो । त्यसपछि भने आश्माको चर्चा सर्वत्र हुन थाल्यो । यो सफलता आश्माका लागि अपत्यारिलो थियो । आश्मा भन्छिन्, ‘डान्स गरेरै छोटो समयमै यति राम्रो सफलता पाउँछु भन्ने लागेको थिएन ।’ अहिले उनी कार्टुन क्रुलाई आफ्नो दोस्रो फेमिलीका रूपमा लिन्छिन् ।
परिवारले नबुझ्दा समस्या
सुरुवाती दिनमा जस्तोसुकै काममा पनि संघर्ष गर्नैपर्छ । आश्माले पनि सुरुसुरुमा निकै संघर्ष गरिन् । यो क्षेत्रबाट जीवन अघि बढ्छ भन्नेमा परिवार ढुक्क नहुँदा आफूलाई निकै समस्या भएको आश्मा बताउँछिन् । परिवारले दबाब दिएपछि आश्मा एक हप्ता डान्स नगरी बसिन् । परिवारले आफ्नो इच्छा नबुझ्दा उनलाई पीडा हुन्थ्यो अनि कोठामा बसेर रुन्थिन् ।
यद्यपि उनले आमाबुबालाई धेरै सम्झाइन् । त्यसपछि मात्र आफू सहज अवस्थामा आएको आश्मा बताउँछिन् । अहिले भने आश्माको सफलताबाट उनका आमाबुबा प्रफुल्लित छन् । उनी अहिले एउटा भिडियोमा डान्स गरेबापत ५० हजारभन्दा बढी कमाउन थालिसकेकी छिन् ।
‘डामे तु कसिता’को चर्चा
८ अप्रिलमा स्पेनिस गीत ‘डामे तु कसिता’मा आश्माको कभर डान्स द कार्टुन्ज क्रुको युट्युब च्यानलमार्फत सार्वजनिक भयो । सार्वजनिक भएको तीन हप्तामै उक्त भिडियोले एक करोडभन्दा माथि भ्युज पाएको छ । यसका साथै, आश्माको चर्चा देशविदेशमा हुन थालेको छ ।
उनको यो डान्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पानामाका गायक एल चोम्बोले गाएको उक्त गीतमा सन् २०१५ मा एलियनले डान्स गरेको भिडियो युट्युबमा आएको थियो । अहिले आश्माले दुरुस्तै एलियनजस्तै डान्स गरेकी छिन्, जसले गर्दा पनि उनको चर्चा विश्वव्यापी भएको छ ।