हिमाल आरोहणका अनेकन कीर्तिमानधारी शेर्पा तथा आरोहणका सिपालु शेर्पा गाइडका कारण प्रख्यात छ— रोल्वालिङ गाउँ । दोलखाको गौरीशंकर गाउँपालिकामा पर्ने रोल्वालिङ गौरीशंकर हिमालसहितका दर्जनौं हिमालको काखमा रहेको मनोरम गाउँ हो । सन् १९५३/०५४ सालतिर यही मनोरम हिमाली क्षेत्रमा छिरिङ नोर्बु शेर्पाले पहिलो पटक सगरमाथा आरोहण गर्ने एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै काम गरेको सुन्दा उनका छोराहरूलाई अनौठो लाग्थ्यो । अझ सगरमाथा त उनीहरूका लागि परिको कथाजस्तै थियो ।
४ हजार मिटरको उचाइमा रहेकाले रोल्वालिङमा आलु, मुला र सागपात मात्र उत्पादन हुन्छ । यही हिमाली सेरोफेरोमा छिरिङ र उनकी श्रीमती किनजुमका ११ सन्तान हुर्किए । ७ छोरा अनि ४ छोरी । उत्पादनका हिसाबले एक सिजनमात्रै त्यो पनि एकदमै कम उत्पादन हुने ठाउँमा ११ जना सन्तानको लालनपालन सहज थिएन । बालबच्चाको खानपिनको अभाव टार्न छिरिङ हिमाल आरोहण र ट्रेकिङमा आएका पर्यटकहरूको भरियाको काम गर्थे । त्यही क्रममा उनी हिलारी र तेन्जिङसँग जोडिएको कुरा बताउँछन्, उनका साइला छोरा पेम्बा दोर्जी शेर्पा ।
गौरीशंकरको सेरोफेरोमा दर्जनौं हिमाली श्रृखलासँगै दुई घण्टाको दूरीमा मनोरम च्छो रोल्पा हिमताल छ । वर्षैपिच्छे हिमाल चढ्न नेपाल आउने पर्यटकहरू रोल्वालिङ आइरहन्छन् । पहिले–पहिले यही बाटोबाट टासी लाप्चा पास हुँदै आरोहीहरू सगरमाथा आरोहणका लागि जान्थे । अहिले हवाईजहाज नै लुक्लामा अवतरण हुने भएपछि कमै मानिस मात्र यो बाटो हिँड्छन् ।
खान–लाउन नै धौ–धौ पर्ने अवस्थाबीच रोल्वालिङका छिरिङले भरिया नै बनेर सही, आफ्ना सन्तानहरूको खानपिनमा कमी हुन दिएनन् । उनले आफ्ना ११ सन्तानलाई दु:खै गरेर भएपनि हुर्काए । भलै, उनीहरूको शिक्षादिक्षा भने अघि बढ्न सकेन् । त्यतिबेला ग्रामीण क्षेत्रमा स्कुल नहुनु पनि यसको कारण हुन सक्छ । बुवाले हामीलाई कहिल्यै खानपिनको अभाव हुन दिनुभएन, फुर्वा तेन्जिङ शेर्पा आफ्ना बुवालाई सम्झन्छन्– त्यति बेला हाम्रो घरपरिवारमा निकै समस्या थियो, बुवाले जेनतेन हामीलाई शारीरिक रूपमा फिट राख्न सक्नुभयो, अन्यथा अहिले हामी पटक—पटक सगरमाथा आरोहण गर्न सक्ने थिएनौं ।
हिउँसँग खेल्ने, चौरी हेर्ने तथा भेडा चराउने काममै उनीहरूको बाल्यकाल बित्यो । अरूका लागि स्कुल पाठशाला थिए तर, यी शेर्पा दाजुभाइका लागि हिमाल नै पाठशाला बन्यो । किशोरावस्थामै छिरिङका साइला छोरा पेम्बा दोर्जी शेर्पा हिमालमा भविष्य खोज्न बुवालाई पछ्याउन थाले । भरियाका रुपमा उनी बुवा छिरिङसँगै ट्रेकिङ तथा हिमाल आरोहणमा आउनेहरूसँग हिँड्न थाले । बुवाले नै मलाई हिमाल आरोहणका सीप र कौशलहरू सिकाउनुभएको हो, ३८ वर्षीया कीर्तिमानधारी आरोही पेम्बा दोर्जी भन्छन्– मैले आफ्ना दाइ पेम्बा ग्याल्जेन शेर्पा तथा फुर्वा थुण्डु शेर्पालाई पनि हिमाल आरोहणमा प्रेरित गरे । जेठा पेम्बा ग्याल्जेनले दुई पटक सगरमाथा आरोहण गरे भने माइला फुर्वा थुण्डु शेर्पा ३ पटक सगरमाथा चढे । सन् २००६ मा पुमोरी हिमाल आरोहणका क्रममा फुर्वा थुण्डको हिमपहिरोमा परेर निधन भयो । त्यतिबेला इटालीयन तथा अष्ट्रियनहरूलाई लिएर पुमोरी हिमाल आरोहण गर्न हिँडेका फुर्वा थुण्डुसहित ४ जना शेर्पाको मृत्यु भएको थियो ।
पेम्बा दोर्जीले नै भाइहरू निमा ग्याल्जेन र फुर्वा तेन्जिङ शेर्पालाई पनि हिमाल आरोहणमा ल्याए । सुरुमा क्लाइम्बिङ शेर्पा हुँदै हिमाल आरोहणमा लागेका उनीहरू धेरै पटक सगरमाथा चढिसकेका छन् । निमा ग्याल्जेन दाइले ८ पटक र मैले १३ पटक सगरमाथा आरोहण गरिसकेका छौं— २८ वर्षीय फुर्वा तेन्जिङ भन्छन् । अष्ट्रियामा बस्ने फुर्वाका भाइ फुर्वा थिले शेर्पाले पनि दाजुहरूकै मार्गदर्शनमा तीन पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । पेम्बा दोर्जीका कान्छा भाइबाहेक अरू ६ भाइले सगरमाथा आरोहण गरेका छन् । यही सिजनमा पेम्बा दोर्जीकी बहिनी दावा दिकी शेर्पाले पनि सगरमाथाको सफल आराहेण गरेकी छिन् । सन् २०१५ को भूकम्पको बेला आधारशिविरमा आएको पहिरोमा श्रीमान् लाक्पाछिरी शेर्पालाई गुमाएकी दावा दिकी शेर्पाले एकल महिलाको सन्देश लिएर सगरमाथा आरोहण गरेकी हुन् ।
दावा दिकीको आरोहणसँगै पेम्बा दोर्जी परिवारका ७ जना दाजुभाइ तथा दिदीबहिनीले सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमान बनाएको फुर्वा बताउँछन् । २३ मे २०१८ मा पेम्बा दोर्जीसहित उनको परिवारका चार सदस्य दावा दिकी, फुर्वा तेन्जिङ र फुर्वा थिले एकै पटक सगरमाथाको शिखरमा पुगे । यो एउटै परिवारका चार जना सदस्य एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेको अर्को कीर्तिमान हो । अझ फुर्वाकी भाउजू कान्छीमाया तामाङलाई समेत जोड्ने हो एकै समयमा परिवारका पाँच सदस्य सगरमाथाको चुचुरोको पुगेको नयाँ कीर्तिमान हुने फुर्वाको दाबी छ ।
कपन गुम्बामा अध्ययनरत कान्छा भाइ सोनाम पेम्बा शेर्पाले पनि सम्भवत: आउँदो सिजनमा सगरमाथा आरोहण गर्नेछन् । यसले पनि अब चाँडै अर्को सिजनमा सगरमाथा आरोहण गर्छ, फुर्वाले भने । त्यतिबेला एकै परिवारका ८ दाजुभाइ–दिदीबहिनीले सगरमाथा आरोहण गरेको नयाँ कीर्तिमान बन्नेछ, सबैभन्दा छिटो सगरमाथा चढ्ने कीर्तिमान बनाएका पेम्बा दोर्जीले बताए ।
पेम्बा दोर्जीले १८ पटकको आफ्नो सगरमाथा आरोहणका क्रममा सबैभन्दा छिटो, ७ पटक विना अक्सिजन, १० दिनमा तीन पटक जस्ता कीर्तिमान बनाएका छन् । उनले २१ मे २००४ मा ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गरेको गिनिज रेकर्ड छ । त्यसअघि पेम्बा दोर्जीले नै १२ घण्टा ४५ मिनेटमा सगरमाथा आरोहण गरेका थिए । ८ हजार मिटरभन्दा माथिका लोत्से हिमाल, मनास्लु र सिसापाङ्मा हिमाल उनले २/२ पटक आरोहण गरेका छन् भने चोयु एक पटक चढेका छन् । पेम्बाले भर्जिन पिक मानिने सोलखुम्बुको नाङपाइ गोसुङ र दोलखाको चेकिगो तथा चाइना–नेपाल फ्रेन्डसिप पिक एक–एक पटक आरोहण गरेका छन् । आमादम्लाङ हिमाल १३ पटक र तिलिचो हिमाल सबैभन्दा छिटो चढ्ने पनि उनै हुन् ।
पेम्बाका भाइ फुर्वा तेन्जिङका पनि थुप्रै कीर्तिमान छन् । सानो उमेरमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण, १० दिनमा दुई चोटि, ३ दिनमा दुई चोटि, अक्सिजनबिना दुई पटक सगरमाथा आरोहण उनका कीर्तिमान हुन् । फुर्वाले २८ वर्षको उमेरमै १३ पटक सगरमाथा आरोहण गरेका छन् । पेम्बा दोर्जी आफ्नो परिवारको यो सफलतामा खुसी छन् । ११ जना दाजुभाइ–दिदीबहिनीमध्ये ७ जनाले सगरमाथा आरोहण सम्पन्न गरेकोमा मलाई गर्व र खुसी छ, उनले भने– अर्को वर्ष भाइ पनि चढ्छ, त्यसपछि नयाँ कीर्तिमान बन्नेछ । यद्यपि पेम्बा आफूहरू कीर्तिमानका लागि सगरमाथा नचढ्ने कुरा बताउँदै काम गर्दै जाँदा यो अवसर प्राप्त भएको बताउँछन् ।
सन्तानलाई हिमाल आरोहण कौशल सिकाउने छिरिङ नोर्बु भने सन् २००५ मा बितिसकेका छन् । आमा किनजुम भने अहिले फुर्वा तेन्जिङले गाउँमा खोलेको लजको रेखदेख गर्छिन् ।
आरोहण र व्यवसाय सँगसँगै
पेम्बा दोर्जीका सात भाइ छोरामध्ये ६ भाइ छोरा आरोहणसँगै व्यवसायमा पनि छन् । दुई पटकका सगरमाथा आरोही पेम्बा ग्याल्जेन शेर्पा नुम्बुर हिमाल ट्रेकिङ एण्ड एक्सपिडिसन कम्पनी चलाएर बसिरहेका छन् । उनको कम्पनीले ट्रेकिङ तथा एक्सपिडिसनको क्षेत्रमा काम गर्छ । माइला फुर्वा थुण्डको हिमाल आरोहणकै क्रममा निधन भैसकेको छ ।
साइला पेम्बा दोर्जी अहिले शेर्पा सेफर्ड नामक एजेन्सीमार्फत एक्सपिडिसन तथा ट्रेकिङमा क्रियाशील छन् । पेम्बाले एक वर्षमा २ सयभन्दा बढी विदेशीलाई देशका विभिन्न हिमश्रृंखलाहरू घुमाउनुका साथै हिमालहरू आरोहण गराउँछन् । उनी चीन, नेपाल, पाकिस्तान, भुटान आदि मुलुकमा साइकलिङको आयोजना गर्नुका साथै वायु प्रदूषण न्युनीकरण गर्न जनचेतना जगाउने काममा समेत क्रियाशील छन् । त्यसपछिका निमा ग्याल्जेन शेर्पा ट्रेकिङ शेर्पा एक्सपिडिसनमार्फत पर्यटनकै क्षेत्रमा कार्यरत छन् ।
फुर्वा तेन्जिङ शेर्पा ड्रिम्स डेस्टिनेसनमार्फत ट्रेकिङ तथा एक्सपिडिसन सम्बन्धी काम गर्छन् । उनले यसबाट चीन, अस्ट्रिया आदि देशमा नेपालको प्रचार–प्रसार गर्ने कामसमेत गरिरहेका छन् । उनी अफ सिजनमा विदेशमा हुन्छन् भने सिजनमा सगरमाथा र अन्य हिमालतिर आरोहण दलहरूसँग हुन्छन् । फुर्वाले सन् २०१५ को महाभूकम्पपछि वी विल राइजको ब्यानर सगरमाथामा प्रदर्शन गरेर विश्वलाई सगरमाथा सुरक्षित रहेको सन्देश दिएका थिए । फुर्वा विदेशीको सहयोग जुटाएर स्कुल तथा घरहरूको पुनर्निर्माणमा समेत सक्रिय छन् । टासी लाप्सा पासमा सेल्टर बनाउन समेत जुटेका फुर्वा रोल्वालिङको पर्यटकीय विकास एवं सामाजिक काममा पनि सक्रिय छन् । फुर्वा थिले ६ महिना अस्ट्रिया तथा ६ महिनामा नेपालमा बस्छन् । उनी अस्ट्रियामा बस्दा कुकको काम गर्छन् भने नेपाल आएर हिमाल आरोहणमा सक्रिय हुन्छन् ।
उनीहरूका चार दिदीबहिनीमध्ये दावा दिकी आरोही भैहालिन् । बाँकी तीनमध्ये जेठी बहिनी पासाङ फुटी (चुमु) शेर्पा अमेरिकामा छिन् । लाक्पा दिकी शेर्पा कपनमा बस्छिन् भने निमा हामु शेर्पा अहिले काठमाडौंमा प्लस टु अध्ययनरत छिन् ।