साप्ताहिक संवाददाता
कुनै बेला लोकप्रियताको शिखरमा रहेको पप गीत हो ‘डाँडैमा मेला लागेछ....।’ उक्त गीतको सर्जक हो सांगीतिक समूह— स्काइ ब्यान्ड । वि.सं. २०५० मा स्थापना भएको स्काइ ब्यान्ड आज भने सक्रिय छैन, यद्यपि उक्त ब्यान्डका मुख्य गायक कवीन्द्र श्रेष्ठ भने आफ्नो ब्यान्डलाई पुनर्जीवन दिने कार्यमा सक्रियतापूर्वक लागिपरेका छन् । आफ्नो ब्यान्डलाई पुन: सक्रिय बनाउने उद्देश्यले कवीन्द्रले आफ्नो भिन्न स्वरूपको कन्सर्ट आयोजित गर्न थालेका छन् ।
केही अघि चितवनमा सम्पन्न कन्सर्टमा गायक श्रेष्ठले आफ्नो ब्यान्डका लोकप्रिय गीतमात्र प्रस्तुत गरेनन्, हरिश माथेमा, सञ्जय श्रेष्ठ, भीम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान आदि पुराना लोकप्रिय गायकहरूलाई समेत मञ्चमा उतारे ।
‘वर्खा सकिएलगत्तै म यही कार्यक्रमलाई देशका विभिन्न सहरमा प्रस्तुत गर्दैछु, स्काई ब्यान्डकै नाममा केही नयाँ गीत रेकर्ड गराइरहेका गायक श्रेष्ठ भन्छन्– ‘केही महिनापछि नै दर्शक तथा श्रोताले स्काइ ब्यान्डलाई नयाँ गीत–संगीतका साथ सुन्न तथा हेर्न पाउनु हुनेछ ।’