साप्ताहिक संवाददाता
सिटिइभिटीअन्तर्गतका थुप्रै शिक्षालयले ओभरसियर अध्यापन गराउँछन् । एसईईपछि डिप्लोमा इन इन्जिनियरिङ गर्न चाहनेहरूले यो बाटो उपयोग गर्न सक्छन् । एसईईमा सी भन्दा ग्रेड ल्याउनेहरूले प्रवेश परीक्षामा प्रतिस्पर्धा गरेर ओभरसियरमा नाम निकाल्न सक्छन् । सिटिइभिटीका आंगिक शिक्षालय एवं सम्बन्धन प्राप्त शैक्षिक संस्थामा विद्यार्थीले ओभरसियर अध्ययन गर्ने अवसर प्राप्त गर्छन् । आंगिक शिक्षालयमा शुल्क सस्तो हुन्छ भने सम्बन्धनमा केही महँगो ।
डिप्लोमा इन सिभिल
इन्जिनियरिङ
तीन वर्षमा पढाइ सकिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ सिटिइभिटी तथा निजी क्षेत्रका ३६ शिक्षालयले पढाउने गरेका छन् । एउटा शिक्षालयमा ३० देखि बढीमा ४८ जना भर्ना लिइन्छ । पूर्वाधार विकाससम्बन्धी सरकारी, गैरसरकारी एवं निजी क्षेत्रको कार्यालयमा सिभिल इन्जिनियरको पद सिर्जना गरिएकाले यस्ता जनशक्तिको माग बढ्दो छ । यो विषय सिटिइभिटीअन्तर्गतका सेती प्राविधिक शिक्षालय दीपायल तथा लाहान प्राविधिक शिक्षालयमा अध्यापन हुन्छ । यो विषय ओभरसियर पदका लागि योग्य मानिन्छ । डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेपछि विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्न सकिन्छ ।
डिप्लोमा इन सर्भे
इन्जिनियरिङ
तीनवर्षे डिप्लोमा इन सर्भे इन्जिनियरिङ हाल भू–सूचना अध्ययन प्रतिष्ठान बानेश्वरमा मात्र अध्यापन हुन्छ । यहाँ अध्ययनका लागि ४८ जनाको भर्ना क्षमता छ । यो विषयको अध्ययनपछि सरकारी निकायमा प्राविधिक सुब्बासरहको जागिरका लागि योग्य भइन्छ । गैरसरकारी तथा निजी क्षेत्रमा भने आवश्यकताअनुसार जिम्मेवारी पाइन्छ । यो विषय अध्ययन गर्नेहरूले विश्वविद्यालयमा सर्भे इन्जिनियरिङतर्फ स्नातक तह अध्ययन गर्नसक्छन् ।
डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ
डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ २५ वटा निजी शिक्षालयमा अध्यापन हुन्छ । त्यस्तै सिटिइभिटीको आफ्नै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ बनेपाले पनि २४ सिट क्षमतामा कक्षा सञ्चालन गरिरहेको छ । सम्बन्धन प्राप्त एउटा शिक्षालयमा सामान्यत: ४८ जनाको भर्ना क्षमता छ । यो तीनवर्षे कोर्स हो । यो विषय नेपालमा मात्र नभै विदेशमा पनि लोकप्रिय मानिन्छ । सरकारी रोजगारी भन्दा स्वरोजगारतर्फ उन्मुख हुन यो विषय अध्ययन गरिन्छ ।
डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ
तीनवर्षे डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ सिटिइभिटीका दुईवटा आंगिक शिक्षालयमा अध्यापन हुन्छ । यसका लागि ७८ वटा सिट छन् । त्यसबाहेक सम्बन्धन प्राप्त २ वटा शिक्षालयमा डिप्लोमा इन मेकानिकल अध्ययन गर्न सकिन्छ । यिनीहरूले कुल ९६ सिटका लागि भर्ना लिन्छन् । इन्जिनियरिङ मध्ये मेकानिकल विषय सबैभन्दा खर्चिलो विषय मानिन्छ । मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीले अस्ट्रेलिया, क्यानाडा, अमेरिकाजस्ता विकसित देशमा बसाइँ–सराइको अवसर पाउँछन् भने खाडी मुलुकमा उच्च पारिश्रमिक प्राप्त
गर्न सक्छन् ।
डिप्लोमा इन
इलेक्ट्रोनिक्स इन्जिनियरिङ
इलेक्ट्रोनिक्स इन्जिनियरिङका कक्षा सञ्चालनका निम्ति सिटिइभिटीले निजी क्षेत्रका ११ वटा प्राविधिक शिक्षालयलाई सम्बन्धन दिएको छ । सिटिइभिटीका २ वटा आंगिक क्याम्पसमा पनि ७८ सिटका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्छन् । यो विषय पढेपछि सम्बन्धित क्षेत्रमा प्राविधिक नायब सुब्बासरहको रोजगारी प्राप्त गर्न सकिन्छ । एउटा शिक्षालयमा भर्ना क्षमता ४८ जनाको हुन्छ । डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ उत्तीर्ण गरेपछि सरकारी तथा निजी क्षेत्रमा रोजगारी पाइन्छ । टेलिकमलगायत प्रसारण सञ्चार माध्यममा रोजगारीको अवसर प्राप्त हुन्छ ।
डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ
सिटिइभिटीको भेरी प्राविधिक शिक्षालय, बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मनमोहन मेमोरियल पोलिटेक्निक, बनेपा पोलिटेक्निक इन्स्टिच्युटले इलेक्ट्रिकल इन्जिनियरिङ अध्यापन गराउँछन् । सिटिइभिटीकै अन्य दुइवटा आंगिक क्याम्पसले पनि यो विषयमा अध्यापन सुविधा दिएका छन् । यसवाहेक अन्य ९ वटा निजी शिक्षालयले इलेक्ट्रिकल इन्जिनियरिङका अध्यापनका लागि सिटिइभिटीबाट सम्बन्धन लिएका छन् । यो विषय अध्ययन गरेकाहरूले विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङको स्नातक तह अध्ययन गर्ने योग्यता राख्छन् । यो विषय अध्ययन गरे विद्युत् प्राधिकरण तथा हाइड्रोपावर परियोजनाहरूमा रोजगारी पाइने सम्भावना हुन्छ ।
डिप्लोमा इन
इन्फर्मेसन टेक्नोलोजी
कम्प्युटर टेक्नोलोजीसँग सम्बन्धित कोर्स हो, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी । यो विषय अन्तर्गत विद्यार्थीले सूचना तथा सञ्चार प्रविधिका बारेमा विस्तृत अध्ययन गर्न पाउँछन् । आईटी जनशक्ति उत्पादन गर्ने उद्देश्यले सिटिइभिटीले यो शैक्षिक कार्यक्रम थपेको हो । डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी कम्प्युटर इन्जिनियरिङको आधारशिला हो । यो विषय अध्ययन गरेकाहरूले कम्प्युटर प्राविधिकका रूपमा काम गर्ने अवसर प्राप्त गर्न सक्छन् । बनेपा पोलिटेक्निक इन्स्टिच्युट काभ्रेले आइटीमा प्रमाणपत्र तहका लागि २४ जनालाई अध्ययनको सुविधा उपलब्ध गराउँदै आएको छ ।
कहाँ–कहाँ काम पाइन्छ ?
नेपालले पर्याप्त मात्रामा दक्ष इन्जिनियर उत्पादन गर्न सकेको छैन । स्तरीय प्रविधि उपयोग गर्न नेपाली इन्जिनियरहरू अझै अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेका छैनन् । नेपालमा अध्यापन गरिने शिक्षा अन्य देशको तुलनामा कम गुणस्तर र प्रयोगात्मक खालको छैन । सरकारी इन्जिनियरिङ अध्ययन संस्थानमा अध्यापन गराउने प्राध्यापकहरू बढी पैसा कमाउने मनसाय पालेर बसेका छन् । सरकारी क्याम्पसमा हाजिरी लगाएर निजी क्याम्पसमा पढाउँन जाने क्रम रोकिएको छैन ।
तथ्यांकले बताउँछ, नेपालमा वर्षमा झन्डै ६ हजार इन्जिनियर उत्पादन हुन्छन्, तर तिनीहरूको कुनै मापदण्ड र गुणस्तर परीक्षण गर्ने निकाय भने छैन । सरकारी निकाय काउन्सिल त छ, तर उसको काम लाइसेन्स दिने मात्र हो जस्तो देखिन्छ ।
कुन क्षेत्रमा कस्तो काम ?
सिभिल : भवन, सिँचाइ, सडक, खानेपानी, ढल निकास आदिको निर्माण तथा मर्मत ।
आर्किटेक्चर: आर्किटेक्चरल ड्रइङहरू बनाउनुका साथै भवन निर्माणमा सुपरिवेक्षण ।
इलेक्ट्रिकल: विद्युत्सम्बन्धी साना तथा मझौला उपकरण सञ्चालन, मर्मत तथा सञ्चालन ।
इलेक्ट्रोनिक्स: घरेलु तथा सञ्चारसम्बन्धी इलेक्ट्रोनिक सरसामान सञ्चालन, मर्मत एवं जडान ।
मेकानिकल: विभिन्न किसिमका मेसिनहरू चलाउने, जडान गर्ने, मर्मत तथा प्लम्बिङको काम ।
अटोमोबाइल: पेट्रोल र डिजल इन्जिन तथा विभिन्न सवारी साधनको मर्मत सम्भार ।
रेफ्रिजेसन एन्ड एयर कन्डिसिनिङ: यी मेसिनहरूको सञ्चालन एवं मर्मत ।
कम्प्युटर: कम्प्युटर तथा अन्य इलेक्ट्रोनिक्स सामग्रीहरू मर्मत तथा जडान ।
शुल्क कति लाग्छ ?
त्रिभुवन विश्वविद्यालयले नियमित र पूर्ण शूल्क गरी २ प्रकारको शुल्क लिन्छ । पूर्ण शुल्कमा भर्ना हुन नियमितभन्दा अतिरिक्त शुल्क तिर्नुपर्छ । यसका लागि पनि प्रवेश परीक्षा भने उत्तीर्ण हुनैपर्छ । यी क्याम्पसमा पनि फरक–फरक भर्ना क्षमता छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा नियमिततर्फ भर्ना भएकाहरूले एक वर्षमा ५ हजार तिर्नुपर्छ । पूर्ण शुल्कतर्फ भने झन्डै ३० हजार रुपैयाँ खर्च लाग्छ । यस हिसाबले नियमित तर्फ तीन वर्षमा १५ हजार तथा पूर्ण शुल्कमा ९० हजार खर्च लाग्छ । सिटिइभिटी अन्तर्गतका शिक्षालयहरूमा भने तीन वर्षमा डेढदेखि २ लाख रुपैयाँसम्म लाग्ने बताइन्छ ।
सिटिइभिटीअन्तर्गतका कलेज एवं कार्यक्रम
डिप्लोमा इन् सिभिल इञ्जिनियरिङ अध्ययनका लागि सिटिइभिटी तथा निजी क्षेत्रमा १७ वटा शिक्षालय छन् । एउटामा ४८ जनाले भर्ना पाउँछन् । आगिंकतर्फ सेती प्राविधिक शिक्षालय दीपायल तथा लाहान प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङको पढाइ हुन्छ ।
एक्मि इन्जिनियरिङ कलेज, सीतापाइला— सिभिल, कम्प्युटर तथा इलेक्ट्रिकल (इलेक्ट्रोनिक्स)
एड्भान्स कलेज अफ इन्जिनियरिङ, ललितपुर— सिभिल तथा कम्प्युटर (इलेक्ट्रिकल)
अरनिको इन्स्टिच्युट अफ टेक्नोलोजी, बनेपा— कम्प्युटर
वैजनाथ इन्जिनियरिङ कलेज, महेन्द्रनगर— सिभिल
वीरगन्ज टेक्निकल इन्स्टिच्युट, श्रीपुर— कम्प्युटर, मेकानिकल तथा इलेक्टोनिक्स कम्प्युटर
जनकपुर इन्जिनियरिङ कलेज— कम्प्युटर
काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजी, काठमाडौं— सिभिल, कम्प्युटर तथा इलेक्ट्रोनिक्स (इलेक्ट्रिकल)
ख्वप पोलिटेक्निक स्कुल, भक्तपुर— सिभिल
लुम्बिनी इन्जिनियरिङ कलेज, रुपन्देही— कम्प्युटर, मेकानिकल
नेपाल पोलिटेक्निक इन्स्टिच्युट, चितवन— सिभिल
पाल्पा इन्जिनियरिङ कलेज, पाल्पा— सिभिल
पोखरा इन्जिनियरिङ कलेज, कस्की— कम्प्युटर आर्किटेक्चर इलेक्ट्रोनिक्स
स्कुल अफ जियोमेट्रिक्स, काठमाडौं— सर्भे
सुनसरी टेक्निकल इन्स्टिच्युट, धरान— कम्प्युटर
सुष्मा टेक्निकल इन्स्टिच्युट, धरान— सिभिल