साप्ताहिक संवाददाता
कुनै पनि संस्था सञ्चालनका लागि कुशल व्यवस्थापक अनिवार्य सर्त हो । कुशल व्यवस्थापक भए आत्मनिर्भर भै सफल उद्यमी बन्नेदेखि लिएर नेतृत्व गरेको संस्थालाई नयाँ उचाइमा पुर्याउन सहज हुन्छ । हाम्रो जस्तो विकासोन्मुख देशको प्रमुख समस्या भनेकै ठूला–ठूला आयोजना तथा संस्थाहरूमा कुशल व्यवस्थापकको कमी हो । कुशल व्यवस्थापक तयार गर्न व्यवस्थापन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ ।
व्यवस्थापन शिक्षामार्फत सक्षम जनशक्ति उत्पादन गरी आत्मनिर्भरतर्फ अग्रसर गराउने, सफल उद्यमी तथा रोजगारदाता तयार गर्ने विषय व्यवस्थापन नै हो । यो रोजगारदातालाई मात्र अवसर दिलाउने होइन सहज रोजगारी उपलब्ध गराउने विषयसमेत हो । कुनै समय बैंक तथा सरकारी कार्यालयको लेखा शाखामा सीमित व्यवस्थापन पढेको जनशक्ति अहिले सूचना–प्रविधिको व्यवस्थापनमा समेत अब्बल सावित हुँदै गएको छ ।
होटल तथा टुरिजम क्षेत्रदेखि आइटीसम्मको कमाण्ड अहिले व्यवस्थापन अध्ययन गरेको जनशक्तिको हातमा पुग्दैछ । व्यवस्थापन अध्ययन गरेको जनशक्ति नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो दाममा बिक्ने गरेको छ । विश्वका ख्यातिप्राप्त बैंकहरू, उद्योग–धन्दाहरूमा नेपालको जनशक्ति खपत भैरहेको छ । नेपालमा अधिकांश स्वरोजगार गरिरहेका व्यक्तिहरूको शैक्षिक पृष्ठभूमि व्यवस्थापन नै छ । अहिले नेपालमा बीबीए, बीबीएम, बीआइएम, बीसीए, बीबीएस बीटीटीएम, बीएचएमजस्ता विषय अध्ययन गर्ने विद्यार्थीको संख्या बढी छ ।
सामान्यतया जुनसुकै विषयमा पनि प्लसटु उत्तीर्ण गरेका विद्यार्थीले व्यवस्थापनअन्तर्गतका विषय अध्ययन गर्न पाउँछन् । व्यवस्थापनमै प्लस टु उत्तीर्णहरूका लागि यो विषय अझ सहज हुने युनिग्लोबल कलेजका प्रिन्सिपल नरबहादुर विष्ट बताउँछन् ।
व्यवस्थापनका विषय र अवसर ?
बीबीए : अंग्रेजी, गणितका साथै व्यवस्थापनसम्बन्धी विषयहरू अध्यापन हुने यो कार्यक्रममा विशेष गरी व्यापार व्यवस्थापनमा जोड दिइन्छ । चारवर्षे यो कार्यक्रममा चाहनाअनुसार फरक–फरक विषय अध्ययन गर्न सकिन्छ, जसमा बैंकिङ एन्ड इन्स्योरेन्स अध्ययन गर्नेले बंैक तथा वित्तीय संस्थामा सहज रूपमा रोजगारी प्राप्त गर्न सक्छन् भने फाइनान्स अध्ययन गर्नेहरूका लागि फाइनान्सियल सेक्टरहरूमा स्कोप हुने विष्ट बताउँछन् । आफैं व्यापार–व्यवसाय गर्न चाहने तथा व्यापार प्रवद्र्धनमा लाग्नेहरूका लागि भने मार्केटिङ विषय उपयुक्त हुन्छ ।
बीएचएम : होटल व्यवस्थापन दस जोड दुईमा जुनसुकै विषयमा सी ग्रेडभन्दा माथि ल्याएका विद्यार्थीले अध्ययन गर्न पाउँछन् । चार वर्षमा ८ सेमेस्टर पढ्नुपर्ने होटल व्यवस्थापनअन्तर्गत पहिलो ६ सेमेस्टरमा सैद्धान्तिक कक्षा सञ्चालन गरी सोहीअनुसार काम दिइन्छ । त्यसपछिको दुई सेमेस्टर प्रयोगात्मक रूपमा विद्यार्थीलाई होटलमै काम गराउँदै पढाइन्छ । अध्ययनका हिसाबले नेपालमा चारवटा फ्रन्टलाइन अफिस, हाउसकिपिङ, किचेन तथा सर्भिस विधामा होटल व्यवस्थापन अध्यापन गराइन्छ । यी विषयसँगै सहयोगी विषयका रूपमा मार्केटिङ, एकाउन्ट, हेल्थ, अंग्रेजी, कम्प्युटर, फुड तथा माइक्रोबायोलोजीसमेत अध्ययन गर्नुपर्छ ।
बीसीआईएस : कम्प्युटर इन्फर्मेसन सिस्टममा स्नातक तह अध्ययन गर्न प्लसटुमा म्यानेजमेन्ट वा साइन्स पढेको हुनुपर्छ । यो विषय अध्ययन गर्दा व्यस्थापनका विषयसँगै कम्प्युटर एप्लिकेसनसमेत अध्ययन गर्नुपर्छ । पूर्ण रूपमा प्रयोगात्मक यो विषय उत्तीर्ण गरेपछि कम्तीमा पनि अन्डर ग्राजुएसन कोर्समा इन्फर्मेसनसम्बन्धी एप्लिकेसन तयार गर्न सक्ने जनशक्ति हुने नोवेल कलेजका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठ बताउँछन् । यस्ता जनशक्ति एप्लिकेसन निर्माणका साथै नेटवर्किङ तथा आइटी प्रोफेसनमा समेत दक्ष हुन्छन् ।
बीएचसीएम : सेवाको एउटा संवेदनशील स्थान हो— अस्पताल । अस्पताललाई कसरी व्यवस्थित तरिकाले सञ्चालन गर्ने भनेर सिकाउने पढाइ हो बीएसीएम (अस्पताल व्यवस्थापन) । यो विषयअन्तर्गत व्यवस्थापनका अन्य विषयसँगै अस्पताल, बिरामी, स्वास्थ्यकर्मी आदि सबै विषयमा पनि अध्ययापन गराइन्छ । समग्रमा भन्ने हो भने यो विषयअन्तर्गत अस्पताल व्यवस्थापन तथा केयरिङसम्बन्धी अध्ययन–अध्यापन हुन्छ । यो विषय अध्ययन गर्दा सैद्धान्तिकका साथै २ महिना भन्दा बढी अस्पतालमै इन्टर्नसिप गराइ व्यवहारिक सीप सिकाइन्छ ।
बीटीटीएम : ट्राभल तथा टुरिजम व्यवस्थापनसम्बन्धी अध्ययनका लागि प्लसटुमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्छ । चारवर्षे यो कोर्स अध्ययन पछि अन्तर्राष्ट्रिय टुरिस्टहरूलाई हेन्डिल गर्न सक्ने जनशक्ति तयार हुन्छ । प्रयोगात्मक र सैद्धान्तिक बराबर अध्यापन हुने यो विषय अध्ययनपछि आफैं व्यवसाय गर्न सकिन्छ भने रोजगारीका लागि राम्रो अवसरसमेत प्राप्त हुन्छ ।
बीबीएम : प्लस टुमा सी ग्रेड उत्तीर्ण जुनसुकै विषय अध्ययन गरेको विद्यार्थीका लागि बीबीएम अध्ययनको ढोका खुल्छ । ८ सेमेस्टरको यो चारवर्षे कोर्स त्रिभुवन विश्वविद्यालयका धेरैजसो कलेजमा उपलब्ध छ । व्यापार व्यवस्थापनको नेतृत्वकर्ताका रूपमा काम गर्न यो विषय अध्ययन पछि सजिलो हुन्छ । विशेष गरी जनशक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो ।
बीसीए : प्लस टु मा डी प्लस ल्याएर उत्तीर्ण गरेका विद्यार्थीले व्याचलर आफ कम्प्युटर एप्लिकेसन अध्ययन गर्न पाउँछन् । कम्प्युटर एप्लिकेसनसम्बन्धी अध्ययन–अध्यापन हुने यो चारवर्षे कोर्स पनि ८ सेमेस्टरमा विभाजित छ ।