साप्ताहिक संवाददाता
मदिरा अर्थात् हाम्रो चलनचल्तीमा भनिने शब्द ‘दारु’ नेपाली समाजमा लोकप्रिय नै छ । कसैको जन्मदिन पर्यो कि विवाह भयो टुच्च नलगाउने हो भने समारोह वा उत्सव नै खल्लो अनुभव गर्छन् यसका पारखीहरू । घर–घडेरी–किनबेच गर्दा होस् वा सवारी साधन घर भित्र्याउँदा होस् खुसी सेलिब्रेट गर्न मदिरा नभै नहुने भएको छ । अझ चाडपर्वका बेलामा त यो नभइ हुँन्न । आजभोलिका युवाहरूले हरेक खालका खुसी र दु:खमा यसलाई साथी बनाएको पाइन्छ । दारु नपिउने व्यक्ति फेला पार्न मुस्किलै छ भन्दा फरक नपर्ला । साप्ताहिकका रामजी ज्ञवालीले मदिरा सम्बन्धमा कलाकार सुनिल थापासँग रमाइलो ‘मदिरा संवाद’ :
रिल्याक्सका लागि पिउँछु
सुनिल थापा, अभिनेता
मदिराको उत्पत्ति किन भएको होला ?
मलाई लाग्छ नेगेटिभ दिमाग भएकाहरूले रक्सीको आविष्कार गरेका हुन् । यद्यपि हाम्रो समाजले जे कुरा पनि लिमिटेसनमा भयो भने त्यसलाई स्वीकार गर्छ कि जस्तो लाग्छ ।
मदिरा भएन जिन्दगी चल्ला कि नचल्ला ?
अफकोर्स चल्ला, किन नचल्नु ?
तपाईं रक्सी पिउनुहुन्छ ?
ढाँट्ने कुरै भएन, पिउँछु नि ।
रक्सी किन पिउन थालिएको होला ?
अरूले किन पिउँछन् भन्ने थाहा भएन, तर मचाहिँ रिल्याक्सका लागि पिउँछु ।
किन र के–का लागि भन्दा पनि हार्डवर्कअघि रिल्याक्स अनुभव गर्न पिउने बानी छ ।
कहिलेकाहीँ एकान्तमा सोच्दा, रक्सी पिएर ठीकै गरियो जस्तो लाग्छ ?
मानिसका आ–आफ्ना इच्छा हुन्छन् तर म खासमा एक्लै भएका बेला रक्सी पिउन रुचाउँछु ।
मदिरा पिउँदाका पार्टनर कस्ता छन् ?
सबै प्रकारका छन् । कुनै बार–बन्देज छैन ।
तपाईंले रक्सी पिउने कुराबाट परिवार खुसी छ त ?
यो कुरा त मेरो परिवारका सदस्यहरूसँगै सोध्नुपर्छ, म आफैंचाहिँ निकै खुसी छु ।
रक्सी पिउनैपर्ने कुरा हो कि छोड्नुपर्ने कुरा ?
यो व्यक्तिगत रुचिको विषय हो । कसैलाई पिउन मन लाग्छ पिओस्, पिउन मन लाग्दैन भने नपिए पनि केही फरक पर्दैन ।
तपाईंले कहिलेदेखि पिउन थाल्नुभएको ?
जब मैले पहिलो तलब पाएँ, त्यही दिनदेखि ।
रक्सी पिउने उपयुक्त समय कुन हो ?
दिनभर काम गरेर थाकेपछि रक्सी पिउँदा आनन्द आउँछ ।
कस्तो ठाउँमा बसेर रक्सी पिउँदा आनन्द आउँछ ?
मलाई टिभी अघि बसेर रक्सी पिउँदा रिल्याक्स अनुभव हुन्छ ।
आधुनिक परिवेशमा रक्सी परिहार्य बन्दै गएको हो ?
होइन, रक्सी नपिए पनि केही फरक पर्दैन । संसारका धेरै मनिस रक्सी पिउँदैनन् ।
सबैलाई थाहा छ, रक्सी पिएपछि झगडा बढी हुन्छ, के भन्नुहुन्छ ?
कुनै पनि कुराको निश्चित सीमा हुन्छ । उक्त सीमा पार गरेपछि यस्ता खालका समस्या देखा पर्छन् ।
रक्सी पिउँदा साथीभाइहरूसँग झगडा हुन्छ ?
अहिलेसम्म त्यस्ता खालका घटना घटेका छैनन् । खासमा म एक्लै बसेर नै रक्सी पिउँछु ।
रक्सी पिउँदा गरेको कुनै गल्ती ?
अहिलेसम्म त्यस्तो खास गल्ती गरेजस्तो लाग्दैन, सम्झना पनि छैन ।
रक्सी पिएकै कारण कहिल्यै कसैसँग सम्बन्ध बिग्रिएको छ ?
छैन, म रमाइलोका लागि पिउँछु । कसैसँग झगडा गर्न पिउने बानी छैन ।
तपाईंका बेस्ट ब्रान्ड कुन–कुन हुन् ?
सुरुमा ह्विस्की पिउँथे । अहिले भोड्का विशेष लाग्छ ।
रक्सीको आदतकै कारण कहिल्यै अपमानित हुनुपरेको छ ?
आजसम्म छैन र हुनेवाला पनि छैन ।
रक्सी नपिई कति लामो समय बिताउनुभएको छ ?
समय मिल्यो र मनले खोज्यो भने पिउने हो । त्यस्तो नभै हुँदैन भन्ने छैन ।