साप्ताहिक संवाददाता
मदिरा अर्थात् हाम्रो चलनचल्तीमा भनिने शब्द ‘दारु’ नेपाली समाजमा लोकप्रिय नै छ । कसैको जन्मदिन पर्यो कि विवाह भयो टुच्च नलगाउने हो भने समारोह वा उत्सव नै खल्लो अनुभव गर्छन् यसका पारखीहरू । घर–घडेरी–किनबेच गर्दा होस् वा सवारी साधन घर भित्र्याउँदा होस् खुसी सेलिब्रेट गर्न मदिरा नभै नहुने भएको छ । अझ चाडपर्वका बेलामा त यो नभइ हुँन्न । आजभोलिका युवाहरूले हरेक खालका खुसी र दु:खमा यसलाई साथी बनाएको पाइन्छ । दारु नपिउने व्यक्ति फेला पार्न मुस्किलै छ भन्दा फरक नपर्ला ।साप्ताहिकका रामजी ज्ञवालीले मदिरा सम्बन्धमा कलाकार उत्तम केसीसँग रमाइलो ‘मदिरा संवाद’ :
संसारमा रक्सीको आविष्कार किन भएको होला ?
ठ्याक्कै किन भयो भनेर त कसरी भनौं, तर यो रमाइलो गर्नकै लागि बनेको चिज हो । यहाँ खुसीमा पनि, दु:खमा पनि रक्सी पिउने चलन बढेको देख्छु । कहिले चोट बिर्सन, कहिले त्यही चोटलाई यादगार बनाउन पिउने चलन छ ।
मदिरा नभए जिन्दगी चल्ला कि नचल्ला ?
रक्सीभन्दा पहिले मानिस जन्मिएका हुन् । रक्सी नभएर मानिसको जीवनमा कुनै असर पर्दैन, बरु अझ राम्रो हुनेछ ।
तपाईं रक्सी पिउनु हुन्छ ?
ढाँट्ने चलन छैन । पिउँछु तर मात्तिने गरी कहिल्यै पिएको छैन ।
किन पिउन थालिएको होला ?
मेरै सन्दर्भमा भन्ने हो भने कुनै कारण छैन । साथीभाइहरूको लहैलहैमा लागेर पिउन थालेको हुँ ।
भावनाको शिथिलताका लागि रक्सी पिइन्छ कि यसका अन्य आयामहरू पनि छन् ?
वास्तवमा रक्सी भावनामा डुबेर खाने जातै होइन । यो रमाइलोका लागि खाने कुरा हो ।
पिएर ठीकै गरियो जस्तो लाग्छ कि ?
रक्सी पिएर ठीक गरिएको छ भन्ने चाहिँ लाग्दैन ।
पिउँदाका पार्टनर कस्ता छन् ?
म धेरै मानिसको भीडमा मदिरा पिउने मानिस होइन । जति पिउँछु नजिकका साथीभाइहरूसँग बसेर पिउँछु । साथीभाइहरू नजुटेको समयमा कहिलेकाहीं एक्लै पनि पिउँछु, तर एकदमै थोरै रक्सी भए पुग्छ मलाई ।
तपाईंले रक्सी पिउने कुराप्रति परिवार खुसी छ त ?
छैन । रक्सी पिएका बेला म घर जान्नँ । गए पनि परिवारका सबै सदस्य सुतेपछि सुटुक्क घरभित्र पस्छु । किनभने मेरो परिवारमा रक्सी पिएको कसैले मन पराउँदैनन् ।
रक्सी पिउन छोड्नुपर्छ कि सबैले पिउन थाल्नुुपर्छ, के भन्नुहुन्छ ?
सबैले छोड्नुपर्छ भन्ने पक्षमा छु । किनभने यसले स्वास्थ्यमा असर गर्छ । रक्सीले राम्रो भन्दा नराम्रो धेरै गर्छ । त्यसैले यो चिज खानै पर्छ भन्दिनँ ।
तपाईंले कहिलेदेखि पिउन थाल्नुभएको ?
मैले ३५ कटेपछि मात्र पिउन थालेको हुँ । त्यसअघि एक थोपा पनि पिइनँ । त्यसपछि लगातार पिउने, नचाहिँदो काम गर्ने आदि पनि गरेको छैन । मैले यसलाई अनुशासित ढगंवाट प्रयोग गरिरहेको छु ।
पिउने उपर्युक्त समय कुन हो ?
यही समयमा रक्सी पिउँछु भन्ने छैन । समय कुर्दिनँ । जमघट भयो भने बिहानै पनि पिइदिन्छु ।
कस्तो ठाउँमा पिउँदा आनन्द आउँछ ?
यस्तो उस्तो भन्ने छैन । कहिले सानै पसलमा पिइदिन्छु, कहिलेकाहीँ ठूला–ठूला रेस्टुराँ पनि पुग्छु । यहीँ बस्दा आनन्द आउँछ भन्ने छैन ।
रक्सी अपरिहार्य हो ?
म रक्सीको विज्ञ त होइन, तर आजभोलि रक्सी–चुरोट फेसन बन्दै गएको छ । यो गलत प्रवृत्ति हो । त्यसमा पनि अहिलेका युवतीहरू मज्जाले चुरोट तान्छन्, उनीहरूलाई त म विचरा भन्छु ।
रक्सीमा कति जति पैसा खर्च गर्नुहुन्छ ?
एक्लै बसें भने ५–६ सयमा उम्किन्छ, धेरै भयौं भने साथीभाइको ताल हेरेर हुन्छ । मलाई चाहिँ एक–दुई प्याक भए पुग्छ ।
साथीभाइहरूसँग झगडा कत्तीको हुन्छ ?
मन नमिल्नेहरूसँग बसेर कहिल्यै पिउँदिन । कथमकदाचित कसैले झगडा गरी हाल्यो भने त्यसपछि उसँग कहिल्यै संगत गर्दिनँ ।
पिएपछि गरेका केही गल्ती ?
कहिलेकाहीँ चलचित्रको छायाँकनमै जान बिर्सिएको छु ।
रक्सीले जीवनमा सिर्जनशील हुन सहयोग पुर्याएको छ ?
रक्सी सिर्जनशिल हुने पदार्थ नै होइन । यसले मानिसलाई अधोगतितर्फ लान्छ ।
रक्सीको मात कस्तो हुन्छ ?
झ्याम्म पार्ने खालको । तिरीमिरी बनाउने खालको । खै कस्तो खालको भनौं ?
नपिई कति समय बिताउनुभएको छ ?
म ५६ वर्षको भए । ३५ वर्षपछि पिउन थाल्दा ६ महिनाजति रक्सी नपिई बसेको छु ।