साप्ताहिक संवाददाता
लोकरक ब्याण्ड नेपथ्यले देशको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराइ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरुहुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने नेपालयले जनाएको छ ।
केहि समयअघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औँ वर्ष मुलुकका अन्य भागका संगीतप्रेमी सँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । मंसिर ४ गते झापाको बिर्तामोड बाट सुरु हुने यो यात्रा मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।
कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु मध्येबाट प्रस्तुतीका लागि चयन गरेको छ । त्यस बाहेक दसौं एल्बम सार्वजनिक गर्ने तयारीको साघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि आफ्ना श्रोता दर्शकलाई सुनाउनेछ ।
नेपथ्य यात्रा अन्तर्गत सबै ठाउँहरुमा कार्यक्रम बेलुकी पौने छ बजेदेखि सुरु हुनेछ र कार्यक्रम स्थलको लागी स्थानीय रंगशालाहरु चयन गरिएको छ । नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ ।