साप्ताहिक संवाददाता
९० वर्षअघि (वि.सं १९८५ मा) तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेशरले प्रसुति सेवाका लागि विद्यादेवी, राधादेवी तथा धर्मदेवीलाई तालिमका लागि भारत पठाएपछि नेपालमा नर्सिङ शिक्षा प्रारम्भ भएको हो । नेपालमा बर्सेनि ५ हजारभन्दा बढी नर्सिङ जनशक्ति उत्पादन हुने तथ्यांक छ । नेपालमा हाल करिब ८० हजार दक्ष नर्स छन् । नेपालमा नर्सहरूले भोग्ने समस्या साझा छन् । अधिक कार्यबोझ, न्यून पारिश्रमिक, अत्यधिक श्रमशोषण, लगानीअनुसार कम प्रतिफल तथा सेवामा स्तरोन्नतिको कमीले गर्दा नर्सहरूमा मनोवैज्ञानिक असर देखा पर्दै गएको छ । यस्ता समस्या समाधान हुनै नसक्ने खालका छैनन् ।
सरकारले २५ वर्षअघिकै दरबन्दी कायम राखेको छ । सरकारले नर्सको दरबन्दी पुनरावलोकन गर्ने, विशेष सेवा दिने, मेडिकल कलेजहरूमा उपचार सेवाअनुसार नर्सको अनुपात प्रभावकारी रूपमा मिलाउने र सरकारले निर्धारण गरेको न्यूनतम तलब २३ हजार ५ सय रुपैयाँ कडाइका साथ कार्यान्वयन तथा समयअनुसार तलबको पुनरावलोकन गर्ने हो भने नर्सहरूमा देखिएको मनोवैज्ञानिक असर क्रमिक रूपमा कम हुँदै जानेछ । झन्डै शताब्दी पुरानो इतिहास बोकेको नर्सिङ शिक्षाले अहिले व्यापकता पाए पनि यसको व्यवसायिक पाटो भने उत्साहजनक छैन ।
कसरी सुधार गर्ने नर्सिङ क्षेत्र ?
नर्सिङ जनशक्ति जति बढेको छ, त्यसअनुसारको अवसर अझै सिर्जना हुन सकेको छैन । भएका जनशक्ति पनि मापदण्डअनुसार उत्पादन भएका छैनन् । नेपाल नर्सिङ परिषद्का अनुसार नर्सिङ अध्ययन गर्ने एक विद्यार्थीले कम्तीमा तीन जना बिरामीसँग प्राक्टिकल गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा बिरामीको अभावमा त्यो मापदण्डको पालना नभएको अवस्था पनि छ । प्रयोगात्मक एवं व्यवहारिक शिक्षा कम अनि व्यापारीकरण बढी हुँदा नर्सिङ शिक्षाको गुणस्तर घट्दै गएको छ । यसतर्फ नियामक निकायले ध्यान दिनु आवश्यक छ ।
शिक्षण क्षेत्रको सुधार मात्र होइन, नर्सिङ पेशाप्रतिको दृष्टिकोणमा समेत सुधार आवश्यक छ । विकसित मुलुकहरूमा नर्सहरूले चिकित्सा विज्ञानकै साझेदारका रूपमा भूमिका निर्वाह गरिरहेको अवस्थामा नेपालमा भने नर्सको भूमिका ज्यादै साँघुरो छ । नेपालमा नर्सहरू विरामीको अभिलेख राख्ने र चिकित्सकले सिफारिस गरेका औषधी बिरामीलाई सेवन गराउने काममा मात्र सिमित छन् । नर्सिङ शिक्षालाई अनुसन्धानमुलक बनाउँदै यसको दायरालाई फराकिलो बनाउन समेत अपरिहार्य छ ।
नर्सिङ प्रशासनमा समेत सुधार आवश्यक छ । नर्सिङ प्रशासकले नर्सिङ जनशक्तिलाई संस्थामा काम गर्ने अनुकुल वातावरण बनाउनुपर्छ । नर्सिङ अनुसन्धानकर्ताले नर्सिङ सेवाको गुणस्तर वृद्धि गर्ने समयसापेक्ष ज्ञान तथा सीपको खोजी गर्नुपर्छ । यस्ता सुधार भए नर्सिङको गरिमा अझ बढ्नेछ ।
निराशाका बीच पनि नर्सिङ क्षेत्रमा अवसर छन् । गैरसरकारी संस्थामा नर्सहरूको माग बढ्दो छ भने सरकारको नीजि तथा सरकारी स्कुलमा अनिवार्य नर्स राख्ने नीतिले पनि अझै केही अवसर सिर्जना भएको छ । प्रशासनिक, शैक्षिक तथा नीतिगत क्षेत्रमा सुधार भए विदेश पलायन भैरहेको जनशक्तिलाई रोक्न सकिन्छ भने निराश भएकाहरूमा आशा जगाउँदै नर्सिङ पेसाको गरिमा अझ बढाउन सकिन्छ ।