कुनै बेला ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला...’ गीत तयार पारेर लन्डनको चिसोलाई संगीतमा प्रस्तुत गर्ने गायक तथा संगीतकार शम्भुजित बासकोटाले लामो समयपछि पुन: एकपटक चलचित्र संगीतमा पुनरागमन गरेका छन् । यसपटकको उनको पुनरागमनले सांगीतिक बजारलाई नै तताएको छ । दसैं–तिहारजस्ता ठूला चाडपर्वमा शम्भुजितका दुई नयाँ सिर्जनाले दर्शक तथा श्रोताहरूलाई मोहनी मात्र लगाएनन्, देउसी–भैलोमा नाच्ने नयाँ गीतसमेत तयार भएको अनुभव गरियो ।
संगीतकार बासकोटाद्वारा नै निर्माण गरिएको नयाँ नेपाली चलचित्र ‘चौका दाउ’ यतिबेला चर्चामा छ । उक्त चलचित्रलाई चर्चामा ल्याउने काम गरेका छन् यही चलचित्रमा समावेश दुई भिन्न स्वादका गीतले । झन्डै दुई महिनाअघि नै युट्युुबमार्फत सार्वजनिक गरिएको चलचित्रको पहिलो गीत ‘राधा पियारी...’ मौलिक शब्दहरूले भरिएको छ ।
संगीतकार बासकोटाकै स्वरको उक्त गीतमा गायिका कोमल राजभण्डारीको समेत स्वर सुन्न सकिन्छ । युट्युबमा झन्डै १३ लाख पटक हेरिएको उक्त गीत झट्ट सुन्दा जति कर्णप्रिय लाग्छ, त्यसको भिज्युअल पनि उत्तिकै चाखलाग्दो छ । वर्षा राउत, विल्सनविक्रम राई, सन्तोष पन्त, तैयब शाह तथा रवीन्द्र झाका साथमा भीमफेदी गाइजले उक्त गीतमा रमाइलो नृत्य गरेको छ । उक्त गीत श्रीपुरुष ढकाल तथा दयाराम पाण्डेले रचना गरेका हुन् । राधापियारीको नृत्यमा भीमफेदी गाइजको कोरियोग्राफी छ । ‘यसपटकको दसैं–तिहारमा राधा पियारी गीतमा दर्शक–श्रोताहरूले इन्जोय गरेको अनुभवगरेको छु, गायक तथा संगीतकार बासकोटा भन्छन्— ठेट नेपाली शब्द, परम्परागत शैली तथा मौलिक धुनले यो गीतलाई कर्णप्रिय बनाएको छ । गीतमा संगीतकार बासकोटाले झन्डै तीन दशकअघिको सांगीतिक फ्लेवर दिने प्रयास गरेका छन् ।
तिहारअघि युट्युबबाटै सार्वजनिक गरिएको चलचित्रको आइटम गीत ‘मेरो माया कतारमा...’ लाई दर्शकले अझ बढी मन पराएका छन् । ‘यो हरेक अवसरमा नाच्न मिल्ने आइटम गीत हो, गीतका गायक तथा संगीतकार बासकोटा भन्छन्– ‘विगतमा हे संगीता जस्तो आइटम गीत तयार पारेको थिएँ, अहिले त्यसकै निरन्तरतास्वरूप मेरा माया कतारमा तयार पारिएको हो ।’ संगीतकार बासकोटाले यो गीतमा काठमाडौंका दुई पर्यटकीय स्थल ठमेल तथा झमेल (झम्सिखेल) को वर्णन गरेका छन् । ‘नेपाली दाजुभाइका लागि कतार वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक गन्तव्य हो, बासकोटा भन्छन्— त्यहाँ रोजगारीमा जाने नेपाली युवा छोटो समयका लागि स्वदेश आउने तथा हतार–हतार फर्किने प्रसंगलाई यो गीतमा समावेश गरिएको छ ।
मेरो माया कतारमा.. ले एकै साथ दुई नयाँ प्रतिभालाई मनोरञ्जन क्षेत्रमा स्थापित गराएको छ । उक्त गीतकी गायिका सुमन गुरुङ सांगीतिक क्षेत्रका लागि नयाँ नाम हो । ‘सांगीतिक कार्यक्रमका क्रममा गोरखा पुगेका बेला मैले उनको स्वर सुन्न मौका पाएको थिएँ, संगीतकार बासकोटा सम्झन्छन्– ‘उनको स्वर आइटम गीतका लागि उपयुक्त हुन्छ जस्तो लागेर यो गीतमा मौका प्रदान गरेको हुँ, उनले मेरो अपेक्षाभन्दा उत्कृष्ट गीत गाएकी छिन् । सुमनको सांगीतिक भविष्य उज्वल छ ।’ यही गीतको भिडियोमार्फत मोडल सोनिका केसी रजतपटमा पदार्पण गरेकी छिन् । उक्त गीतमा अभिनेत्री वर्षा राउतसँगै मोडल सोनिका केसीले कामुक नृत्य गरेकी छिन् । श्रीपुरुष ढकालका शब्दको उक्त गीतको भिडियोमा वर्षा र सोनिकासँगै विल्सन विक्रम राई, सन्तोष पन्त, रवीन्द्र झा, अजस्र ढुंगाना, तैयब शाह आदि कलाकारले नृत्य गरेका छन् । यो गीतका कोरियोग्राफर वसन्त श्रेष्ठ हुन् ।
राधा पियारीमा स्वर दिने गायिका कोमल राजभण्डारीले संगीतकार शम्भुजित बासकोटासँगको गायन अविस्यमरणीय रहेको प्रतिक्रिया दिएकी छिन् । मेरो माया कतारमा गीतकी गायिका सुमन गुरुङ भने उक्त गीतमार्फत पाश्र्व गायनको क्षेत्रमा आफ्नो करियरको ढोका खुलेको धारणा व्यक्त गर्छिन् । ‘दर्शक तथा श्रोताहरूबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएकी छु, सुमन भन्छिन्– ‘चलचित्रको पाश्र्व गायनले निरन्तरता पाउने कुरामा ढुक्क छु ।’