पछिल्लो समय नयाँ शैक्षिक गन्तव्यका रूपमा चिनिएको न्युजिल्यान्ड नेपाली विद्यार्थीको प्राथमिकतामा पर्न थालेको छ । न्युजिल्यान्डको भौगोलिक अवस्था, वातावरण र मौसम नेपालसँग मिल्दोजुल्दो भएकाले नेपालीहरूले सहज शैक्षिक गन्तव्यका रूपमा लिन थालेका छन् । संसारकै सबैभन्दा न्यून भ्रष्टाचार हुने देशमा पर्ने न्युजिल्यान्ड नेपाली विद्यार्थीको संख्या रहे पनि शिक्षा भने अब्बल मानिन्छ । पछिल्ला वर्षहरूमा सुरक्षित र उज्वल भविष्य निर्माण गर्न नेपाली विद्यार्थीको क्रेज न्युजिल्यान्डतर्फ मोडिएको पाइन्छ ।
‘क्लिन, क्लेभर एन्ड ग्रिन’को पहिचान पाएको यो देश अध्ययनका लागि बेलायत, क्यानाडा र अस्ट्रेलियासँग तुलना गरिन्छ । सन् २००२ बाट मात्र नेपाली विद्यार्थीले अनुमति पाएको यहाँ १० वटाभन्दा बढी विश्वविद्यालय छैनन् । करिब २० सरकारी र २ सयभन्दा बढी निजी स्तरका कलेजहरू सञ्चालित छन् । कलेजमा कोर्सहरू एक वर्षदेखि चार वर्षसम्मका छन् ।
उन्नत र व्यवहारिक शिक्षाका कारण विश्वभरका विद्यार्थीको आकर्षण न्युजिल्यान्डतिर देखिन थालेको बागबजारस्थित रोहिनी ओभरसिज एजुकेसन कन्सल्टेन्सीका प्रमुख कार्यकारी निर्देशक श्याम भण्डारीको बुझाइ छ । भण्डारी भन्छन्, ‘विश्वव्यापी शिक्षा, अन्य देशभन्दा सस्तो साथै अपराध र भ्रष्टाचार पनि एकदमै न्यून भएकाले विद्यार्थीको आकर्षण देखिएको हो ।’ अध्ययन सकेपछि क्षमता र योग्यताअनुसार रोजगारीको कुनै समस्या नपर्ने भण्डारी बताउँछन् ।
यद्यपि न्युजिल्यान्डको भिसा पाउन भने त्यति सहज छैन । अन्य देशको तुलनामा भिसा पाउन गार्हो छ । विद्यार्थीको पृष्ठभूमि, व्यक्तिगत क्षमता, भाषामा दक्षतालगायतको अवस्था हेरेपछि भिसा स्वीकृति हुन्छ । पढाइ धेरैजसो प्रयोगात्मक हुने भएकाले मेहनत धेरै गर्नुपर्छ । नेपालबाट वार्षिक करिब ५ सय विद्यार्थी न्युजिल्यान्ड पुगिरहेका छन् ।
आवश्यक प्रक्रिया
सुरुमा आफूलो इच्छाएको कोर्स र कलेज छनौट गर्नुपर्छ । छनौट गरिएका कोर्स र कलेजअनुसार स्वीकृति मिलिहाल्छ भन्ने पनि छैन । विद्यार्थीको क्षमता र रुचि पहिलो प्राथमिकतामा पर्छ । भाषामा दख्खल र आर्थिक स्रोत बलियो भएको हुनुपर्छ । त्यसपछि कलेज भर्ना प्रक्रिया अघि बढाउनुपर्छ । सँगसँगै भिसाको प्रक्रिया अघि बढाउनुपर्छ ।
यसका लागि आयस्रोत, बैंक ब्यालेन्स, सम्पत्ति मूल्यांकनको प्रमाण तयार पार्नुपर्छ । सम्पत्ति १ करोडभन्दा बढी हुनुपर्छ । वार्षिक १० देखि १५ लाख परिवारको आयस्रोत हुनुपर्छ । बैंक ब्यालेन्स ३० देखि ४० लाख भएको हुनुपर्छ । सुरुमा एक वर्षको शुल्क बुझाउनैपर्छ तर भिसा आइसकेपछि मात्र शुल्क बुझाए हुन्छ । वार्षिक १३ लाखजति कलेजलाई शुल्क बुझाउनुपर्छ । एक वर्षको पहिल्यै बुझाइसेपछि टेन्सन हुँदैन । एक वर्षभित्रमा पार्ट टाइम गरेर अर्को एक वर्षका लागि विद्यार्थी आर्थिक आम्दानी गर्ने अवसर पाइसकेका हुन्छन् ।
प्रारम्भिक योग्यता
न्युजिल्यान्डका लागि एसईई वा कक्षा ११ र १२ को परीक्षामा सेकेन्ड डिभिजन अनिवार्य हुनुपर्छ अर्थात् ५० प्रतिशतभन्दा माथि अंक ल्याएको हुनुपर्छ । अंग्रेजी भाषा र आर्थिक व्यवस्था राम्रो हुनु आवश्यक छ । आइइएलटिएस, पिटिइ सिएइ, टोफलमध्ये कुनै एक भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । आइइएलटिएसमा ५ दशमलव ५ देखि ६ दशमलव ५ अंक अनिवार्य मानिएको छ ।
रोजाइका विषय
आफूले रोजेकै विषय पढ्न पाइन्छ भन्ने ग्यारेन्टी न्युजिल्यान्डमा छैन । आवेदन दिइसकेपछि कलेज वा विश्वविद्यालयले विद्यार्थीको सम्पूर्ण विवरण बुझ्ने प्रयास गर्छ । त्यसपछि विद्यार्थीको सबै पृष्ठभूमि अध्ययन गरिसकेपछि कोर्सको अफर गर्छ । नेपालबाट धेरैजसो विद्यार्थी होटल म्यानेजम्यान्ट, नर्सिङ, डेरी, फुट प्रोडक्सन, हस्पिटालिटी, टुरिज्म म्यानेजमेन्ट, भेटनेरी साइन्स, वाइन मेकिङ, विजिनेस स्टडी, इन्जिनियरिङ, एग्रिकल्चर विषय पढ्न जाने गरेका छन् ।
रोजगारीको अवस्था
न्युजिल्यान्डमा ‘पार्ट टाइम जब’ का लागि धेरै अवसर पाइन्छन् । रेस्टुराँ, डिर्पाटमेन्टल स्टोर, अस्पताल, निजी क्लिनिक, पसल, रेस्टुराँलगायतका क्षेत्रमा जागिर पाइन्छ । विद्यार्थीहरूले हप्ताको २० घण्टा काम गर्न पाउँछन् । बस्न र खान धेरै खर्च हुँदैन् । किनभने न्युजिल्यान्ड कृषिप्रदान मुलुक भएकाले खाद्य उत्पादन धेरै हुन्छ र सस्तो पर्छ । पोस्ट स्टडी वा वर्क भिसा पनि पाइन्छ ।