बलिउड संसारको दोस्रो ठूलो मनोरञ्जन उद्योग मानिन्छ । बलिउडमा कलाकारका लागि मात्र होइन, बलिउडसँग जोडिएका अन्य थुप्रै क्षेत्रमा थुपै्र अवसर छ । त्यसैमध्ये एक मनोरञ्जन पत्रकारिता पनि हो । बलिउड हंगामा डटकम एउटा बहुचर्चित अनलाइन पोर्टल हो ।
कुनै समय मनोरञ्जन पत्रकारिता गर्ने सपना देखेका भारत उत्तर प्रदेशका फरदिन सहरयार पनि बलिउड रिपोर्टिङ गर्ने, त्यहाँका हस्तीको अन्तर्वार्ता गर्ने सपना देख्थे । सपना देख्ने र निरन्तर पछ्याउनेहरूका लागि के नै असम्भव छ र ? कठोर मेहनतपछि तिनै फरदिन सहरयार बलिउड हंगामाका कन्टेन्ट प्रमुख बन्न पुगेका छन् । भन्छन्, ‘बलिउडमा पत्रकारिता गर्नेको संख्या कति छ भनेर भन्नै सकिँदैन ।’
१२ वर्षदेखि बलिउड हंगामामा कार्यरत उनले २० वर्ष लामो चलचित्र पत्रकारिताको अनुभव संगालेका छन् । बलिउड र त्यहाँका अधिकांश सुपरस्टारहरूसँगका थुप्रै संस्मरण उनीसँग छन् । पछिल्लो १२ वर्षदेखि टकिङफिल्म्स कार्यक्रमसमेत सञ्चालन गरिरहेका फरदिनको यो कार्यक्रम विश्वभरिका चलचित्रकर्मीमाझ निकै लोकप्रिय छ ।
घुमन्ते जीवन
केही समयअघि नेपाल टुरिजम बोर्डको निमन्त्रणामा नेपाल आएका फरदिनले नेपालको सुन्दरताको निकै प्रशंसा गरे ।
उत्तर प्रदेशको अलिगढमा जन्मिएका फरदिन पत्रकारितासँगै देशविदेशका रमणीयस्थल चहार्न सौखिन छन् । फरदिनले सिकाइका लागी प्रत्यक्ष आखाँले नियाल्नुपर्ने मत राख्छन् । ‘घुमाइले सिकाइसँगै दिमागलाई पनि ताजा बनाउन मद्दत गर्छ,’ उनी भन्छन् । गीत गुनगुनाउन पनि उत्तिकै मन पराउने फरदिनले धेरै चलचित्रका कभर गीतमा पनि स्वर दिएका छन् । उनले भारतीय रेडियोका लागि कमर्सियल जिंगलसमेत बनाएका छन् ।
नेपालप्रति मोहित
दुईदिने नेपाल भ्रमणका अवसरमा उनले बौद्ध स्तूपा, पाटन दरबार स्क्वायर, स्वयंम्भूलगायतका पुरातात्विक सम्पदाको भ्रमण गरे । त्यसक्रममा उनी यति मुग्ध भएकी तुरुन्तै सामाजिक सन्जालमा बलिउडका चलचित्रको छायांकनका लागि नेपाल निकै राम्रो रहेको बताए । विगतमा अभिताभ वच्चन, श्रीदेवी, अक्षयकुमारलगायतले अभिनय गरेका चलचित्रको छायांकन नेपालमा भैसकेको जानकारी दिदै उनले हिन्दी चलचित्रका लागि नेपाल राम्रो छायांकनस्थल रहेको भनेर समेत लेखे ।
फरदिनले माउन्टेन फ्लाइटमार्फत सगरमाथा, गौरीशंकर, अन्नपूर्ण हिमाललाई नजिकैबाट आँखाले नियाल्ने अवसर समेत पाए । हिमाली सौन्दर्यबाट उल्कै प्रभावित भएका उनले नेपाल संसारकै उत्कृष्ट गन्तव्य रहेको बताए ।
फरदिनको पत्रकारिता
टाइम्स अफ इन्डियामा १९९८ देखि पत्रकारीता सुरु गरेका उनले त्यसपछि हिन्दुस्तान टाइम्स, फिल्म फेयर, इन्डिया एफएम, ईण्डिया ग्लिटजलगायत थुप्रै मिडियामा काम गरे । अहिले १२ वर्षदेखि उनी वलिउडको लोकप्रिय मनोरञ्जन अनलाइन पत्रिका वलिउड हंगामामा कार्यरत छन् । उनले विशेषगरी भिडियो अन्र्तवार्ता लिने गरे पनि सेलिब्रेटी र उनीहरुका विभिन्न खालका समाचार पनि ब्रेक गर्दै आएका छन् । फरदिन भन्छन्, ‘यदि गम्भीर भएर पत्रकारिता गर्ने हो भने आफूले जुन विषयमा कलम चलाइएको छ त्यसमा धेरै परिवर्तन ल्याउन सकिन्छ ।’ उनी भन्छन्, ‘आफूले दु:ख गरेर केही परिवर्तन गर्न सकियो अथवा समाजमा केही दिन सकियो भने त्यसैमा खुसी मान्नुपर्छ ।’
सफलताको सूत्र के हो ?
फरदिन आफूलाई अझैंपनि सिक्दै गरेको पत्रकार भनेर परिचय दिन खोज्छन् । ‘जीवनभर सिक्ने हो, सिकेर कहिल्यै सकिँदैन’, उनी भन्छन्, ‘आफूले जे काम गर्दैछु त्यो काममा इमान्दार भएर मेहनत गर्नु आवश्यक छ । आफूले जे काम गरे पनि त्यसमा रम्न सक्नुपर्छ ।’
उनी थप्छन्, ‘सधैभरी अटल छौं भन्ने सोच्ने र धेरै भन्दा धेरै सपना देख्ने हो भने सफलता प्राप्त गर्न सकिन्छ ।’ जसले आफ्नो कामलाई सामान्य रूपमा लिन्छ उसलाई सफलताले साथ नदिने फरदिनको तर्क छ ।
फरदिनका फ्यान
पत्रकारका पनि फ्यान हुन्छन् भन्ने एउटा उदाहरण हुन— फरदिन । उनका फ्यान भारतीय सेलिब्रेटीहरू पनि छन् । सेलिब्रेटीबाहेक चलचित्रका दर्शकले पनि उनलाई फलो गर्ने गरेका छन् । उनी भन्छन्, ‘वलिउडमा मात्रै होइन, भेट्न र कुराकानी गर्न खोज्ने विश्वका धेरै स्थानमा प्रशंसक भेटेको छु, यसले मलाई छुट्टै किसिमको ऊर्जा दिन्छ । उनको अन्तरवार्ता लिने शैली र बलिउडमा राम्रो प्रभाव भएकाले उनको स्टारडम राम्रैसँग फैलिएको छ । फरदिनको काम गर्ने शैली, समाजिक सन्जालमा निरन्तर अपडेट र बलिउडका हस्तीहरूसँगको उठवसका कारण भारतीय चलचित्र हेर्नेहरु माझ फरदिनले आफ्नो ख्यातीलाई बढाएका छन् । यो पनि भन्न सकिन्छ, फरदिन भारतिय फिल्म इण्डष्ट्रिजको एक सेक्रेट सुपर स्टार पत्रकार पनि हुन् ।
फरदिनको आँखामा बलिउड
फरदिनले वलिउड संसारको सवैभन्दा ठुलो मनोरञ्जन उद्योग रहेको बताए । यो उद्योगमा लाखौंले रोजगारी पाएका छन् । अर्बौं लगानी भैरहेको छ । ‘बलिउड हुँदैनथ्यो भने यति धेरैले रोजिरोटी पनि पाउँदैनथे,’ उनले भने, ‘बलिउडले धैरको जीवन परिवर्तन गरिदिएको छ ।
उनी बलिउडमा सफलता हासिल गर्ने सेलिब्रेटीहरूले ठूलो मेहनत र तपस्या गरेका बताउँछन् । अमिताभ वच्चनले कामलाई पूजा ठान्छन्, आमिर खान सधैं युनिक काम गर्न रुचाउने मेहनती कलाकार हुन । शाहरुख खान र सलमान खान तीव्र इच्छाशक्तिले खारिएका अभिनेता हुन् । फरदिनका अनुसार वलिउडले निरन्तर नयाँ मोड लिने गरेको छ । केहि वर्षअघिसम्म स्टारडमको नाममा चलचित्र चल्ने बलिउडमा पछिल्ला समय विषयवस्तु पावरफुल बन्दै गएका छन्, यस्तै खालका चलचित्रले सफलता हासिल पनि गरेका छन् ।
बलिउडको काम गर्ने शैलीकै कारण यो उद्योगले निकै फड्को मारेको उनको तर्क छ । बलिउडमा दुई अनुहार छन् । एउटा निकै चम्किलो, ग्ल्यामरस, अर्को भ्वाइलिनको धुनसँगै बज्ने सांगीत जस्तो । त्यहाँ अर्को अनुहार पनि छ जुन अलि फिक्का खालको । यसमा कुनै चमक छैन । यसका पात्रहरू पनि धूलोमैलोमा डुबेका फोहोर र दु:खी छन् । यो बलिउड हेर्दा लाग्छ, संसार एउटा ठूलो सुकुम्बासी बस्ती पनि हो की ! फरदिनले देखेको बलिउडको सुन्दर र उज्यालो पक्ष, अँध्यारो र खराब यही नै हो ।