साप्ताहिक संवाददाता
छेक्यो छेक्यो देउराली डाँडाँ
हुँस्सु र कुहिरोले....
करिब २५ वर्षअघि नेपथ्यको यो नै सबैभन्दा पहिलो गीत थियो जसले ब्याण्डलाई नेपथ्यबाट बाहिर निकाल्यो । ऊबेलाका गायक थिए रविन श्रेष्ठ । जो लामो समय हङकङ बसाईपछि हाल बेलायततिर रमाएका छन् । सन् १९९१ ताका संगीतप्रेमी ६ जना युवाहरु अमृत गुरुङ, रबिन श्रेष्ठ, दिपक जंग राणा, सुरेश पुन, भिम पुन र बुद्धि गुरुङ मिलेर नेपथ्य स्थापना गरेका थिए । जसले आफ्नो सांगीतिक यात्राको रजत महोत्सव मनाइरहेको छ ।
हालै अल्डरशर्टस्थित दी लाउन्ज रेष्टुराँ एन्ड बारमा आयोजित त्यही बहुचर्चित सांगीतिक समूहका पूर्व सदस्य रबिन श्रेष्ठको एकल लाईभ कन्सर्टले बेलायतको माईनस डिग्री तापक्रमलाई समेत एकाएक गर्मिलो बनायो । करिब दुईसय दर्शक उपस्थित हलमा जब आयोजक समेत रहेकी उद्घोषक मधु गुरुङले रविनलाई निम्त्याइन तालीको फोहरा छुट्यो ।
जहाँ छन बुद्धका आंखा..., पहिलो कोशेली स्वरुप रबिनले भक्तराज आचार्यको देशप्रेमले ओतप्रोत कालजयी गीत पस्के । आँगनै भरी हिऊ नै झऱ्यो लगायत करिब डेढदर्जन गीत गाएका उनले जब ‘छेक्यो छेक्यो देउराली डाँडाँ’ गाउन सुरु गरे के जवान के पाका सबैले स्वरमा स्वर मिलाए । लाग्थ्यो यही हो समुद्रपारिको मिनी नेपाल । वन्स मोर, वन्स मोर... भीडले लगातार फर्माइस गरिरह्यो । गायक रविनको धरै चलेन अनि उनी फेरी सुरु भए, ‘छेक्यो छेक्यो देउराली डाँडाँ...।’
आँखैमा झलझली हितैको दौतरी..., सुक गुरुङको यो चर्चित रचनामा रबिनलाई साथ दिन पुगिन शीतल पुन । यो जोडीले केही नयाँ पुराना युगल गीत सुनाएर माहौंललाई तात्नु तताए । भीडले असिनपसिन हुने गरी सँगसँगै नाचगान गर्दै साथ दिए । तीन घण्टा लामो चलेको लाईभ कन्सर्टमा रिसाल ब्रदर्स ब्यान्ड, जोन रिसाल (गितार), पहलमान गुरुङ (मादल), याम गुरुङ ( बांसुरी), र विश्व शाही (साउण्ड) लगायतले साथ दिएका थिए ।
सांगीतिक क्षेत्रमा असिम संभावना बोकेका रबिनजस्ता कुशल गायक बाध्यतावश बिदेश पलायन हुनपर्नु दु:खद भएको संचारकर्मी सुधा गुरुङले बताइन् । केही वर्ष ओझेल भएको उनको पुनरागमनले प्रशंसक बीच खुशी छाएको समेत उनको भनाई थियो ।
एकल कन्सर्टमा पाएको वाहवाहीबाट दंगिएका रबिनले अब गायकीलाई निरन्तरता दिने बताएका छन् । कन्र्सटको आयोजना दम्पती राजु (भोजेन्द्र) गुरुङ र मधु गुरुङले गरेका हुन् । ब्याण्ड लोकप्रियताको शिखरमै रहेका बेला रबिन यसैमा भविष्य नदेखेर हङकङ उडेका थिए । हालै ह्याप्पी न्यू ईयर बोलको गीत राजु सिंहको संगीतमा रेकर्ड गराएका यिनले उक्त गीत नयाा वर्षमा दर्शकहरुलाई कोशेली स्वरुप सार्वजनिक गर्ने बताए ।