साप्ताहिक संवाददाता
नाच फिरिरी गीत यतिबेला युवापुस्ताको ओठमा छ । यो गीतले हालसम्म युट्युबमा ३ करोड २० लाखभन्दा माथि भ्युज पाइसकेको छ । चलचित्र गीत बाहिर छोटो समयमै धेरै भ्युज पाउने गीतका रूपमा यही गीतलाई लिइन्छ । गायक महेश काफ्ले र मेलिना राईको स्वरको उक्त गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का आदिले अभिनय गरेका छन् । यो गीत यतिबेला टिकटकमा पनि उत्तिकै हिट छ ।
चलचित्रभन्दा बाहेकका अरू गीत पनि छन्, जसले युट्युबमा करोडको हाराहारीमा भ्युज पाएका छन् । यतिबेला लोक आधुनिक प्रकृतिका गीतको ट्रेन्ड चलेको गायक तथा संगीतकार राजनराज शिवाकोटी बताउँछन् । मौलिक शब्द र मेलोडीलाई नयाँ प्रविधिसँग फ्युजन गराएका कारण यस्ता गीतले दर्शकको साथ पाएको उनको बुझाइ छ । यसका साथै लोक आधुनिक गीतमध्ये पनि युगल गीतले दर्शकको बढी साथ पाइरहेको छ ।
यसैगरी करोड क्लबमा पर्ने अर्को लोकआधुनिक गीत हो– माछीले खाने खोलीको लेउ । यो गीतले १० महिनाको अवधिमा ३ करोडभन्दा बढी भ्युज पाइसकेको छ । यसमा मेलिना राई र सरोज वलीको युगल स्वर सुन्न सकिन्छ । दिनेश थपलियाको शब्द तथा वसन्त सापकोटाको संगीतको उक्त गीतमा अभिनेत्री प्रियंका कार्की र कार्टुन्ज क्रु टिमको अभिनय छ, जसलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
युवापुस्तामाझ निकै लोकप्रिय र युट्युबमा करोडभन्दा माथि भ्युज पाएको अर्को गीत हो— पिरिम नलाउने । यो गीतले पनि छोटो अवधिमै १ करोडभन्दा बढी भ्युज पाएको छ । यो गीत एक महिनाको छोटो अवधिमा करोड क्लबमा पर्न सफल गीत पनि हो, जसमा आशिष गौतम र मेलिना राईको युगल स्वर सुन्न पाइन्छ । युट्युबमा मात्र नभएर टिक टक र बाहिरी बजारमा समेत खुबै रुचाइएको यो गीतमा अभिनेत्री वर्षा राउत तथा गायक आशिषको अभिनय छ । युवापुस्ताले निकै रुचाएको गीत पिरिम नलाउनेको भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन् ।
नेपाली संगीत बजारमा यस्तै प्रकृतिको गीतको ट्रेन्डमा पिच गर्दिन्छु रोड पनि छ । समीर आचार्य र विद्या तिवारीको युगल स्वरको यो गीत पनि युवापुस्ताले निकै रुचाएको गीतमध्ये एक हो । यो गीतले हालसम्म १ करोड ३० लाखभन्दा बढी भ्युज पाएको छ । अभिनेत्री आँचल शर्मा र सुशान्त खत्रीले अभिनय गरेको यो गीत अहिले निकै लोकप्रिय हुँदै गएको छ ।
करिब ६ महिनाअघि सार्वजनिक भएको गायिका इन्दिरा जोशी र आर्जन पाण्डेको स्वरको रेलिमाई गीतले निकै राम्रो प्रशंसा पायो । यो गीत अहिले पनि युवापुस्ताको ओठमा छ । रेलिमाईले हालसम्म ६० लाखभन्दा बढी भ्युज पाइसकेको छ । यो गीतले टिकटक लगायतका सामाजिक सञ्जालमा समेत राज गरेको थियो ।
मेलिनाको राज
मेलिना राई पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा राज गरिरहेकी गायिका हुन् । उनको स्वर रहेका अधिकांश गीत हिट छन् । त्यसको पछिल्लो उदाहरण हो— नाच फिरिरी । चलचित्रभन्दा बाहिरका मेलिनाका थुप्रै गीतले युट्युबमा करोडभन्दा माथि भ्युज पाएका छन् ।