उनी आँखा देख्न सक्दिनन्, तर मुम्बईस्थित सारेगमपको भव्य स्टुडियोका बारेमा उनी मजाले वर्णन गर्न सक्छिन् । उनी नेपाली गायिका हुन्, यद्यपि हिन्दी गीत उतैका गायक–गायिका झैं दुरुस्तै गाउँछिन् । लता मंगेशकरदेखि श्रेया घोसालसम्मका दिग्गज गायिकाका गीत उत्कृष्ट शैलीमा प्रस्तुत गरेर उनले भारतका सेलिब्रेटीहरूको समेत मन जितेकी छिन् । त्यसैले पनि सारेगमपको उत्कृष्ट ११ बाट बाहिरिनु परेकोमा उनी दु:खी छैनन् । गत आईतबारमात्र काठमाडौं फर्किएकी गायिका मेनुका पौडेलले साप्ताहिकर्मीसँग ठट्टा गर्दै भनिन्— ‘नेपाल आइडलमा पनि उत्कृष्ट ११ बाटै बाहिरिनु परेको थियो, सारेगमपबाट पनि उत्कृष्ट ११ बाटै स्टेज छाड्नुपर्यो । यो ११ अंकको खड्गो चाहिं कसरी कट्ने होला ?’ झापाकी स्थायी वासिन्दा मेनुका लामो समयदेखि भक्तपुरमा बसोबास गरिरहेकी छिन् । साप्ताहिकसंग मेनुकाले आफ्नो सारेगमपको यात्राका बारेमा आफ्नै शब्दमा यसरी वर्णन गरिन् :
जीटिभीको लोकप्रिय कार्यक्रम सारेगमपको २०१८ को संस्करणमा भाग लिन्छु भनेर धेरै अघिदेखि योजना बनाइरहेकी थिएँ । कार्यक्रमका लागि सबैभन्दा पहिले मैले यतैबाट सम्पर्क गरें । त्यस क्रममा मैले आफ्नो मोबाइल नम्बर टिपाएँ । उताबाट मलाई फोन आउने भनियो । म त्यही फोनको प्रतिक्षा गर्न थालें । म सारेगमपबाट फोन आउँछ भन्ने कुरामा ढुक्क थिएँ । नभन्दै उताबाट कल आयो । फोनमा मलाई नेपालबाट म बाहेक अरु क–कसले भाग लिने हो ? भन्ने जिज्ञासा राख्नु भयो । मैले म आफू मात्र भाग लिने कुरा मलाई थाहा छ, अरूको त मलाई थाहा छैन भनें । त्यसपछि उहाँहरूले दुईवटा गीत गाएको अलग–अलग भिडियो पठाउन भन्नुभयो । त्यसै अनुसार गायिका लता मंगेशकरका दुई वटा गीत गाएको दुई भिन्न भिडियो तयार पारेर पठाइदिएँ । कार्यक्रमका निर्माता–निर्देशकहरूले मेरो भिडियो हेरेपछि पुन: मलाई फोन गर्नुभयो । दोस्रो पटकको कुराकानीमा उहाँहरूले काठमाडौंकै चावहिलस्थित आइडल स्कूलमा नेपालीहरूका लागि अडिसन कार्यक्रम राखिएको जानकारी गराउँदै मलाई त्यहीं सहभागी हुन भन्नुभयो ।
एकपछि अर्को अडिसन
मैले पठाएको भिडियोबाट म आइडल स्कूलको अडिसनमा पुग्नु मेरो दोस्रो खुड्किलो थियो । काठमाडौंको अडिसनमा धेरै जना सहभागि हुनुहुन्थ्यो । म बाहेक अरु धेरैले अडिसन दिँदै हुनुहुन्छ भन्ने थाहा पाउँदा मलाई कता–कता डर पनि लागेको थियो । यद्यपि मेरो लक्ष्य मुम्बईको सारेगमपको मञ्च भएकाले मैले मनबाट सबै प्रकारका डरलाई बाहिर निकालें । त्यो अडिसनमा पनि मैले लता मंगेशकरका दुई गीत गाएँ । तीमध्ये ‘अभि ना जाओ छोड के कि दिल अभि भरा नहीं...’ ले सबैको मन जितेको अनुभव गरेँ । आइडलको अडिसनमा मैले सफलता हासिल गरें । उक्त सफलतासंगै मैले कलकत्तामा हुने तेस्रो चरणको अडिसनमा सहभागिता जनाउने अवसर पाएँ । काठमाडौंको अडिसनमा सारेगमपकै प्रतिनिधिहरू आउनुभएको थियो । कलकत्ताको प्रि–अडिसनमा सहभागिता जनाउन आमालाई पनि साथै लिएर गएँ । कलकत्ताको अडिसनमा समेत मैले लता मंगेशकरकै गीत गाएकी थिएँ । त्यहाँका निर्णायकहरूको मन जितेकैले होला म कलकत्ताको अडिसनमा पनि सफल भएँ । कलकत्ताको अडिसनमा सफलता हासिल गरेपछि त्यसपछिको यात्रा मुम्बईका लागि अघि बढ्यो ।
मुम्बईको तयारी
मुम्बई हरेक कलाकारका लागि सपनाको सहर हो । मेरा लागि पनि त्यस्तै थियो । त्यसै पनि बलिउडको चमकदमक तथा हिन्दी गीत–संगीतका बारेमा मलाई पहिलेदेखि नै जानकारी थियो, त्यसैले मैले मुम्बईमा हुने स्टुडियो राउण्डका लागि भित्रैदेखि तयार हुनु अनिवार्य थियो । मुम्बई पुगुञ्जेल पनि मलाई डर लागिरहेको थियो । ठूला–ठूला कलाकारहरूका अघि, लोकप्रिय सेलिब्रेटीहरूका अगाडि विशाल मञ्चमा कसरी प्रस्तुत हुने होला भनेर असाध्यै डर लागेको थियो । यद्यपि मेरी आमा पम्फा पौडेल मसंगै हुनु भएकाले एक प्रकारको हिम्मत पनि थियो, किनभने मेरी आमा मसंग नेपाल आइडलको बेलादेखि नै संगै हुनुहुन्थ्यो । त्यही भएकाले पनि मैले मुम्बईको भव्य स्टेज, झकिझकाउ सेट, धेरै जना अटाउन सक्ने स्टुडियो भित्र पनि एक्लो महसुस गर्नु परेन ।
स्टुडियो राउन्डमा प्रवेश
अन्तत: त्यो दिन पनि आयो, जुन दिनका सम्बन्धमा मैले सपना देखेकी थिएँ । उक्त दिन म बिहानैदेखि एक्साइडेट थिएँ, कता–कता डर पनि लागिरहेको थियो । हिम्मत जुटाएर, उत्साहित हुँदै हामी आमा–छोरी स्टुडियो पुग्यौं । पहिलो दिनको कार्यक्रमका लागि मैले पुन: एक पटक लता मंगेशकरकै गीतमा अभ्यास गरेकी थिएँ । ब्याक स्टेजमा नेपाली गायक उदितनारायण झाका छोरा आदित्य नारायण झासंग भेट भयो । उहाँले मसंग नेपाली भाषामा कुरा गर्दा असाध्यै रमाइलो लाग्यो, एक प्रकारको हौसला पनि प्राप्त भयो । त्यसपछि मेरो स्टेज उक्लिने पालो आयो । मैले लता मंगेशकरकै गीत गाएँ–‘जाने क्या बात है...’ । उक्त गीतको प्रस्तुतिलाई प्रतियोगिताका सबै निर्णायकले मन पराउनुभयो अनि धेरैभन्दा धेरै प्वाइन्ट दिनुभयो भने उपस्थित दर्शकहरूले पनि उत्तिकै मन पराउनु भयो । अझ कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले त स्टेजमै मसंग नेपाली भाषामा कुरा गरेर मलाई थप हौसला दिनुभयो । म स्टुडियो राउण्डको पहिलो प्रस्तुतिमा सफल भएँ । पहिलो प्रस्तुतिपछि म सोझैं मेगा राउण्डमा पुगें । त्यसपछि प्रत्येक एपिसोडमा उत्कृष्ट प्रस्तुति दिँदै टप १५ मा पुगें । त्यसपछि टप १३, टप १२ हुँदै उत्कृष्ट ११ मा पुगेर बाहिरिन बाध्य भएँ ।
निर्णायक र सेलिब्रेटीको हौसला
सारेगमपको उत्कृष्ट ११ बाट बाहिरिनु मेरा लागि दु:खद क्षण त थियो नै, तैपनि मैले यसलाई सुनौलो अवसरका रूपमा लिएर चित्त बुझाएँ । काठमाडौंको आइडल स्कुलदेखि मुम्बईको त्यो भव्य स्टुडियोसम्मको यात्रा नै मेरा लागि ठूलो उपलब्धि थियो । त्यो भन्दा पनि ठूलो कुरा मैले बलिउडका अत्यन्त लोकप्रिय सेलिब्रेटी तथा संगीतका हस्तीहरूका अगाडि आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाएँ । त्यसक्रममा मैले बलिउडका अभिनेत्रीहरू रविना टण्डन, प्रिती जिन्टालाई आफ्नो गीत सुनाउने अवसर प्राप्त गरे । लोकप्रिय धारावाहिक कुमकुम भाग्यकी तनू अर्थात लिना जुमानी त मेरो सर्पोटर नै बनेर कार्यक्रममा सहभागि हुनु भएको थियो । त्यसबाहेक प्रतियोगिताका निर्णायकहरूले पनि मेरो खुलेर प्रसंसा गर्नु भयो । अधिकांश निर्णायक तथा कार्यक्रमका सदस्यहरू मसँग बारम्बार एउटै प्रश्न सोधिरहनुहुन्थ्यो– ‘तिमीले यति राम्रो हिन्दी कसरी बोलेको ? यति राम्रो हिन्दी गीत कसरी गाउन सकेको ? यसबाहेक अधिकांशको जिज्ञासा के रह्यो भने नेपालमा अन्य नेपालीहरूले पनि हिन्दी भाषा यति नै राम्रोसँग बोल्छन् ? नेपालमा हिन्दी चलचित्र हेरिन्छ ? हिन्दी धारावाहिकहरू मन पराइन्छ ? अनि सारेगमप जस्ता रियालिटी शोका दर्शकहरू छन् ? मैले सबै प्रश्नको सकारात्मक जवाफ दिएपछि उहाँहरू छक्क पर्नु भएको थियो ।
हिन्दी लवजमा सुधार
मेरो हिन्दी खासै राम्रो थिएन । उच्चारणमा पनि समस्या थियो । मलाई अमेरिकामा बसोबास गर्ने गायक नरेन्द्र प्यासीले फेसबुकको म्यासेन्जरबाट हिन्दी लवज राम्रोसँग बोल्ने, स्पष्ट उच्चारण गर्ने तरिका सिकाउनु भएको थियो । यसका लागि म उहाँको गुण कहिल्यै बिर्सन सक्दिनँ ।
चित्त दु:खाइ पनि छ
मैले उत्कृष्ट प्रस्तुति दिँदा–दिँदै कार्यक्रमबाट बाहिरिनुको अर्को एउटा दु:खद पाटो पनि छ । यद्यपि मलाई उक्त कुरा यसरी सञ्चारमाध्यममा ल्याउने इच्छा थिएन, तर आज साप्ताहिकजस्तो ठूलो मिडियासँग कुरा गर्ने मौका पाएका बेला मैले मुख खोल्नै पर्छ । म कार्यक्रमबाट बाहिरिनुमा विभिन्न ‘फेक समाचार’ ले निर्णायक भूमिका खेलेको रहेछ । तल्लो स्तरका अनलाइन मिडियामा मेरो नाम जोडेर, मैले बोल्दै नबोलेका विषयमा समाचार बनाएर सामाजिक सञ्जालमा सेयर हुन थालेपछि कार्यक्रमका निर्देशकहरूले नै मलाई त्यस विषयमा गम्भीर भएर जानकारी गराए । खासगरी भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विषयमा मैले बोल्दै नबोलेको कुरालाई समाचार बनाएर प्रकाशित गरिएपछि कार्यक्रमका निर्माता–निर्देशकहरूलाई मलाई कार्यक्रममा निरन्तरता दिइरहन समस्या भएछ । हुन त म सञ्चारमाध्यमहरूकै साथ र सहयोगले यहाँसम्म आइपुगेकी हुँ । यद्यपि आफ्नो लाइक र भ्युज बढाउने बहानामा अनावश्यक प्रसार–प्रसार गरिंदा मेरो करियरमै नकारात्मक प्रभाव परेकोमा भने असाध्यै दु:ख लागेको छ ।
हिम्मत हारेकी छैन
अन्त्यमा, यसपटक उत्कृष्ट ११ बाट बाहिरिनु परे पनि मैले अर्को वर्ष पुन: एक पटक सारेगमपमा सहभागिता जनाउने निर्णय गरिसकेकी छु । किनभने मैले प्रतियोगिताका बारेमा धेरै भन्दा धेरै जानकारी पाएकी छु । यो सहभागिताले मेरो हिम्मत बढाएको छ । अर्को शब्दमा भन्नु पर्दा मैले हिम्मत हारेकी छैन । अर्को पटक प्रतियोगितामा सहभागिता जनाएर सफल हुने विश्वास लिएकी छु ।