साप्ताहिक संवाददाता
म सानैदेखि पढाइमा अब्बल थिएँ । गीत–संगीतमा पनि त्यत्तिकै रुचि थियो । म कालिङपोङको कुमुदिनी होम्स स्कुलको कक्षा ११ मा अध्ययनरत थिएँ । यही क्रममा स्कुलको वार्षिकोत्सवका अवसरमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी हुन अडिसन दिनुपर्ने थियो । म साइन्सको विद्यार्थी थिएँ । साइन्स ग्रुपबाट कोही पनि अडिसनमा छानिएनन् । मैले त्यो अडिसन दिएको थिइनँ अनि साइन्सका विद्यार्थीलाई सरले एकदमै गाली गर्नुभयो । यही क्रममा मेरो साथी याकुबले सरको अगाडि पुष्पनले गाउँछ भनिदियो । त्यसपछि मैले अडिसन दिएँ, जसमा म छानिएँ पनि । मैले अडिसनमा किशोर कुमारको अगर तुम ना होते गाएको थिएँ । त्यसपछि मैले स्टेजमा चलचित्र खुबसुरतको गीत गाएँ । मेरो गीतलाई सबैले मन पराइदिनुभयो, जसले गर्दा सांगीतिक क्षेत्रमा होमिन थप हौसला मिल्यो ।
जब पहिलो एल्बम निकालें
आफ्नो पहिलो प्रस्तुतिमै सबैको प्रशंसा पाइसकेपछि एउटा एल्बम निकाल्ने सोच बनाएँ । यही क्रममा मैले सन् २००२ मा मन एल्बम सार्वजनिक गरें । उक्त एल्बमले त्यति सफलता पाउन सकेन तर आफ्नो गल्ती के छ भन्ने पहिल्याउन सहयोग मिल्यो । यही क्रममा वचन भो शीर्षकको एल्बम सार्वजनिक गरें । यसरी अघि बढ्दै जाँदा मैले कवि भानुभक्त आचार्यको पहिलो कविता भरजन्म घाँसतिर कवितालाई लयबद्ध गरेर गाएँ ।
धिन् धिनाले इमेज एवार्ड पाएँ, पन्छीले सर्वत्र चिनायो
सांगीतिक क्षेत्रमा अघि बढ्दै जाँदा मैले धिन् धिना गाएँ । यो गीतमा म सफल भएँ । यो गीतबाटै मैले १५ औं इमेज एवार्डसमेत प्राप्त गरे । यसलाई मैले आफ्नो जीवनको महत्वपूर्ण खुड्किलाका रूपमा लिएको छु । यही क्रममा मैले पन्छी बोलको गीत गाएँ । यो गीतले मलाई सर्वत्र चिनायो, जसले हालसम्म युट्युबमा २५ लाखभन्दा बढी भ्युज पाइसकेको छ । पन्छी गीतपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन ।
- पुष्पन प्रधान, गायक