साप्ताहिक संवाददाता
सन् २०१८ स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिका कारण महत्वपूर्ण हुनेछ । यी उपलब्धिले मानिसलाई दीर्घजीवी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
मेडिकल कन्ट्याक्ट लेन्स
अब आइड्रपलाई गुडबाई भन्नुपर्ने बेला भएको छ । बोस्टन चिल्ड्रेन हस्पिटल एन्ड म्यासाचुसेट्स आई एन्ड इयरले आँखामा बिस्तारै औषधिको प्रभाव देखिने कन्ट्याक्ट लेन्सको विकास गरेका छन् । उक्त कन्ट्याक्ट लेन्सले ग्लुकोमा, डायबिटिक रेटिनोप्याथी तथा अन्य विभिन्न रोगहरूको उपचारमा समेत सहयोग गर्छ । केही दिन वा एक साताजति प्रयोग गर्दा यसको असर देख्न सकिन्छ ।
निडल फ्री इन्जेक्सन
हाल प्रचलित निडलसहितको इन्जेक्सनको सट्टा कपालको रौं आकारको वस्तु प्रयोग गर्न सकिनेछ । यसको प्रयोगमा कुनै किसिमको पीडा हुँदैन । यसका बारेमा सबै जानकारी एक एपले राख्छ । एमआईटी स्टार्टअपले विकास गरेको यो डिभाइसलाई प्राइम नाम दिइएको छ । आगामी केही वर्षमा यसको प्रयोग व्यापक हुने अनुमान गरिएको छ ।
केमोथेरोपीबाट केश नझर्ने
केमोथेरापी गरेका क्यान्सरका बिरामीहरूको केश झर्छ । यो वर्ष विकास गरिएको नयाँ हेलमेट स्टाइलको ह्याटले त्यसलाई रोक्नेछ । यसमा २५ डिग्री फरेनहाइटसम्मको कुलेन्ट प्रयोग गरिएको हुन्छ । उपचार गर्नुभन्दा पहिले र पछि सम्म यसको प्रयोग गर्न सकिन्छ । मेमोग्रामले ब्रेस्ट क्यान्सर भएका महिलाहरूको मृत्यु दरसमेत घटाउँछ । जीई हेल्थकेयरले यो वर्ष सेनोग्राफ प्रिस्टिना नामक नयाँ मेमोग्राम मेसिन विकास गरेको छ । यसलाई वायरलेस रिमोट कन्ट्रोलको सहयोगले नियन्त्रण गर्न सकिन्छ ।
प्रयोगशालामा मानव अण्ड
वैज्ञानिकहरू मानव अण्डलाई प्रयोगशालामा विकास गर्न सफल भएका छन् । न्युयोर्कको एडिनबर्गस्थित रिसर्च हस्पिटल तथा द सेन्टर फर ह्युमन रिप्रोडक्सनले गरेको अध्ययनअनुसार यो रेडिएसन र केमोथेरापी गरेका बिरामीका लागि समेत उपयोगी हुनेछ । यसबाट महिलाहरूमा नयाँ तरिकाले गर्भाधान गर्न सकिने सम्भावना बढेको छ ।
दुई अनुहार प्रत्यारोपण गर्ने
पहिलो व्यक्ति
फ्रान्सका ४३ वर्षीय जेरोम ह्यामोनले यही वर्ष दोस्रो पटक अनुहार प्रत्यारोपण गरेर ‘म्यान विथ थ्री फेसेज’ भएका छन् । प्यारिसको जर्ज पोम्पिडु हस्पिटलमा उनको प्लास्टिक सर्जरी गरिएको थियो । यसभन्दा पहिले ८ वर्षअघि उनको पहिलो सर्जरी गरिएको थियो ।
मृत दाताको गर्भाशयबाट पहिलो बच्चा
ब्राजिलमा वर्षको अन्त्यमा मृत व्यक्तिबाट प्राप्त गर्भाशयबाट स्वस्थ शिशुको जन्म भएको छ । लान्सेट म्यागजिनमा प्रकाशित रिपोर्टअनुसार यसबाट आगामी दिनमा विभिन्न समस्या भएका महिलाहरूलाई ठूलो सहयोग पुग्नेछ ।
मिर्गी रोगीलाई गाँजाबाट बनेको औषधि
मिर्गी वा यस्तै प्रकारका बिरामीहरूका लागि गाँजा प्रयोग गरी तयार पारिएको औषधिलाई अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिष्ट्रेसनले स्वीकृति प्रदान गरेको छ ।
सुत्दा प्रयोग गरिने इयरबड
राति सुत्दा विभिन्न आवाज आइरहे वा कुनै घुर्ने व्यक्तिसँग सुत्नुपरे समस्या हुन सक्छ । यही कुरालाई मनन गरी बोस कम्पनीले स्लिपबड इयरबड डिजाइन गरेको छ । यो इयरबड परम्परागत वायरलेस हेडफोनको तुलनामा हल्का र लगाउन सहज छ । आवश्यकताअनुसार यसमा संगीतसमेत राख्न सकिन्छ ।
बेटर बेबी बोतल
दशकौंदेखि शिशुलाई दूध ख्वाउन प्रयोग गरिने बोतल सिलिन्ड्रकल आकारको हुन्छ । यसमा तातो दूध राख्न गाह्रो हुन्छ । यही कुरालाई मनन गरी नानोबेब नामक बोतलको विकास गरिएको छ । यसमा दूध तताउन र चिस्याउन दोब्बर छिटो सकिन्छ । अयाल ल्यान्टेर्नारी तथा असफ केहटले यसको विकास गरेका हुन् ।
डायबिटिक टेक्नोलोजी विकास
परम्परागत रूपमा रगत निकालेर गरिने मधुमेहको जाँच र औषधि दिने प्रक्रियालाई यो वर्ष धेरै तरिकाले सरलीकरण गर्न सकिने प्रविधि विकास गरिएको छ । इन्सुलिन उपलब्ध गराउन क्लोज्ड लुप सिस्टमको विकास गरिएको छ । त्यसैगरी इन्सुलिन इन्जेक्सन दिन स्मार्ट पेनको विकास गरिएको छ । यी सबै प्रक्रियाले बिरामीको स्वास्थ्य सहज बनाउन महत्वपूर्ण भूमिका खेल्छन् ।