अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा विगतका केही वर्षयताको नतिजा मूल्यांकन गर्ने हो भने एसियाली मुलुकका सुन्दरीहरूको प्रभाव बढ्दै गएको पाइन्छ, जसमा फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, म्यानमार, इन्डोनेसिया, मलेसिया, भारत, चीन तथा जापान अग्रपंक्तिमा देखिन्छन् ।
सन् २०१८ को अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति र उपलब्धि पनि ऐतिहासिक रह्यो । मिस अर्थ–२०१८ मा प्रिया सिग्देलले वेस्ट इको भिडियो सहित उत्कृष्ट १८ सम्मको यात्रा तय गरिन् भने मिस वल्र्ड–२०१८ मा श्रृङ्खला खतिवडा उत्कृष्ट १२ हुँदै ब्युटी विथ अ–पर्पोज र मल्टिमिडिया गरी दुई महत्वपूर्ण अवार्ड प्राप्त गरिन् । यसैगरी मिस युनिभर्स– २०१८ मा मनिता देवकोटाले उत्कृष्ट १० सम्मको यात्रा तय गरिन् ।
फिलिपिन्सलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उपलब्धि, प्रस्तुति र पपुलारिटीका आधारमा एसियाली पावर हाउसकै रूपमा हेरिएको छ । वर्ष २०१८ मा फिलिपिन्स निकै सफल रह्यो । थाइल्यान्डको बैंककमा सञ्चालित ६७ औं संस्करणको मिस युनिभर्सको शीर्ष उपाधि फिलिपिनो सुन्दरी क्याट्रियोना ग्रेले जितेकी थिइन् । त्यसअघि मिस एसिया प्यासिफिक इन्टरनेसनलमा पनि फिलिपिनो सुन्दरी सारिफा अकिलले उपाधि जितेकी थिइन् । जापानमा सम्पन्न मिस इन्टरनेसनलमा फिलिपिनो सुन्दरी मारियो आतिसा मोनालो फस्र्ट रनर्सअप भएकी थिइन् । वर्ष २०१८ मा फिलिपिनो सुन्दरीहरू मिस अर्थ–२०१८ मा उत्कृष्ट आठ, मिस सुप्रानेसनल–२०१८ मा उत्कृष्ट १० सम्म पुगेका थिए ।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा वर्ष २०१८ मा भियतनामका सुन्दरीहरू पनि अग्रपंक्तिमा देखिए । हालै सम्पन्न मिस युनिभर्समा भियतनामकी सुन्दरी उत्कृष्ट पाँचमध्ये एक थिइन् । मिस वल्र्डमा उत्कृष्ट ३० भित्र रहेको भियतनामले मिस अर्थमा शीर्ष उपाधि नै जित्यो भने मिस ग्रान्ड इन्टरनेसनल, मिस टुरिजम क्विन इन्टरनेसनल तथा मिस सुप्रानेसनलमा भियतनामका सुन्दरीहरूले उत्कृष्ट १० सम्मको यात्रा तय गरे ।
थाइल्यान्ड पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा माथिल्लो श्रेणीमै देखिन्छ । थाइल्यान्ड मिस युनिभर्स–२०१८ मा टप टेन तथा मिस वल्र्ड–२०१८ मा फस्ट रनर्सअप भएको थियो । मिस इन्टरनेसनल–२०१८ मा थाइल्यान्डकी सुन्दरीले उत्कृष्ट १५, मिस ग्रान्ड इन्टरनेसनल–२०१८ मा उत्कृष्ट २१ तथा मिस टुरिजम क्विन इन्टरनेसनल–२०१८ मा उत्कृष्ट ५ को यात्रा तय गरेका थिए ।
मेक्सिको, ब्राजिल, दक्षिण अफ्रिका, भेनेजुएला र प्युर्टोरिको पनि उत्तिकै सफल
मिस वल्र्ड–२०१८ को मुकुट मेक्सिकोकी भानेसा पोन्सले जितेकी थिइन् । मिस अर्थ–२०१८ मा अर्की मेक्सिकन सुन्दरी मेलिशा फ्लोरेशले मिस अर्थ फायरको उपाधि जितिन् । मेक्सिको मिस इन्टरनेसनल–२०१८ मा उत्कृष्ट १५, मिस सुप्रानेसनल–२०१८ मा टप फाइभ, मिस ग्रान्ड इन्टरनेसनल–२०१८ मा टप टेनसम्मको यात्रा तय गर्न सफल भएको थियो । मिस इन्टरनेसनल–२०१८ को शीर्ष उपाधि भेनेजुएलाकी मारियम भेलाज्कोको भागमा प¥यो । मिस युनिभर्स–२०१८ मा भेनेजुएलाकी स्टेफानी गुटिरिएज सेकेन्ड रनर्सअप भइन् । मिस वल्र्ड–२०१८ को उत्कृष्ट ३० मा पुग्न सफल भेनेजुएलाले मिस अर्थ २०१८ मा उत्कृष्ट आठसम्मको यात्रा तय गरेको थियो । यसैगरी भेनेजुएलाले मिस ग्रान्ड इन्टरनेसनल–२०१८ मा टप टेन, मिस सुप्रानेसनल–२०१८ मा टप टेन तथा मिस एसिया प्यासिफिक इन्टरनेसनल–२०१८ मा टप फोरसम्म पुग्न सफलता प्राप्त ग¥यो ।
मिस सुप्रानेसनल–२०१८ को उपाधिको हकदार भएकी थिइन् प्युर्टोरिकोकी भालेरिया भाज्क्वेज लाटोर । मिस युनिभर्स–२०१८ मा प्युर्टोरिकोकी सुन्दरीले टप फाइभ सम्मको यात्रा तय गरेकी थिइन् भने मिस ग्रान्ड इन्टरनेसनल–२०१८ मा थर्ड रनर्सअप भएकी थिइन् । वर्ष २०१८ मा दक्षिण अफ्रिकाका सुन्दरीहरूको उपलब्धि पनि उल्लेखनीय छ । मिस युनिभर्स–२०१८ मा दक्षिण अफ्रिकाकी टामरिन ग्रिन फस्र्ट रनर्सअप भएकी थिइन् भने मिस इन्टरनेसनल–२०१८ मा दक्षिण अफ्रिकन सुन्दरी राएबेट्स्वी सेचोअरा सेकेन्ड रनर्सअप भएकी थिइन् । यसैगरी दक्षिण अफ्रिका मिस वल्र्ड–२०१८ मा उत्कृष्ट ३० भित्र पुगेको थियो भने मिस अर्थ–२०१८ मा उत्कृष्ट १२ भित्र तथा मिस टुरिजम क्वीन इन्टरनेसनल–२०१८ मा टप टेनभित्र परेको थियो ।
वर्ष २०१८ का अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हात पार्नेमा ब्राजिलिय सुन्दरीहरू पनि छन् । ब्राजिलकी क्यामिला रिसले मिस टुरिजम क्वीन इन्टरनेसनलको उपाधि नै जितिन् भने मिस एसिया प्यासिफिक इन्टरनेनसलमा ब्राजिलकी गाब्रिएला पाल्मा फस्ट नरर्सअप भइन् । मिस युनिभर्सको उत्कृष्ट २० भित्र रहन सफल ब्राजिल मिस अर्थमा उत्कृष्ट १८ मा परेको थियो भने मिस ग्रान्ड इन्टरनेसनलमा उत्कृष्ट २१ तथा मिस सुप्रानेसनलमा उत्कृष्ट १० सम्मको यात्रा तय गरेको थियो ।