‘.....मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा लिएर फर्किएँ भने त ठीकै छ तर....त्योभन्दा ठूलो रातो बाकसमा म आफैं भरिएर फर्किएँ भने.....?’ कवि नवराज पराजुलीका यी हरफहरू सुन्दा कसको मन नरोला र ? वास्तवमा यो अहिले बिदेसिएका ५० लाखभन्दा बढी नेपाली युवायुवतीको व्यथा हो । अन्तर्राष्ट्रिय विमानस्थलमा दिनहुँ एक न एक जना यस्तै रातो बाकसमा फर्किरहेका हुन्छन् । यता दिनहुुँ सयौं युवा आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै बिदेसिरहेका छन् । पैसा कमाउँला, साहूको ऋण तिरौंला, सानो घर बनाउँला, छोराछोरी पढाउँला अनि परिवारलाई खुसी र सुखी बनाउँला भनेर ।
विडम्बना भनेजस्तो र सोचेजस्तो कहाँ हुन्छ र ? दलालहरूले मीठा–मीठा सपना देखाई चर्को रकम असुल गरी विदेश पठाएर परदेशमा दु:ख पाएकाहरूको व्यथा भनेर साध्य छैन । उता साहूले अलिकति भएको जमिन पनि हड्पिदिन्छ, परिवारका सदस्यहरूले विदेशबाट २–४ पैसा कमाएर ल्याउँछ र सुखका दिन सुरु हुन्छन भन्ने सोचिरहेका हुन्छन्, तर त्यसको ठीक विपरीत वज्रपात आइलाग्छ अनि कति त डिप्रेसनको सिकार हुँदै आत्महत्याजस्तो गम्भीर बाटो अपनाउन बाध्य हुन्छन् । मैले यसो भनिरहँदा बिदेसिएर दु:ख पाएका मात्र छन् भन्ने होइन, अहिले देशको ३३ प्रतिशत आम्दानी बिदेसिएका यिनै युवामार्फत प्राप्त हुन्छ ।
देशमा निकै ठूल्ठूला परिवर्तनहरू भए । हाम्रै बुबाको पालादेखिको कुरा गर्ने हो भने पनि २००७ सालको प्रजातन्त्र प्राप्तिदेखि लिएर २०४६ सालको जनआन्दोलन अनि २०५१ मा सुरु भएको १० वर्षे जनयुद्ध तथा ०६२/६३ को १९ दिने जनआन्दोलन, गणतन्त्र प्राप्ति, यी सबै परिवर्तनका लागि नै भएका आन्दोलनहरू थिए । यसबीच राजनैतिक परिवर्तन त निकै भए । २०७२ असोज ३ गते देशले नयाँ संविधान पनि पायो, तर विडम्बना यही देशले युवाहरूलाई अर्काको देशमा पसिना बगाउनबाट जोगाउन सकेन, न त स्पष्ट वैदेशिक रोजगार नीति नै ल्याउन सक्यो, जसले गर्दा परदेशमा मलाई कुनै अप्ठ्यारो भयो भने मेरो देशको नीति यो छ र मलाई मेरो देशको सरकारले यसो गर्छ भनेर छाती फुलाउन सकियोस् ।
(सुन्दर हरैचा नगरपालिका–२, मोरङ, नेपाल, हाल : रियाद, साउदी अरेबिया)
तपाइले देखेको या भोगेको कुनै पनि समसामयीक विषयमा बढीमा ३०० शब्दमा आफ्नो विचार [email protected] वा [email protected] मा पढाउनुहुन अनुरोध छ । उत्कृष्ठ विचारलाइ आगामी अंकमा स्थान दिनेछौ ।