सर्वाधिक आकर्षक महिला–पुरुषको खोजी सजिलो काम होइन । आकर्षक महिला–पुरुष यस्तै हुन्छन् भनेर ठोकुवा गर्ने वस्तुवादी एवं वैज्ञानिक मापदण्ड पनि छैन । कसैलाई कसैको आँखा मन पर्छ त कसैलाई पर्फेक्ट फिगर । कोही क्याडबरी ओठप्रति आकर्षित भैरहेका हुन्छन् त कसैलाई चकलेटी अनुहारले तानिरहेको हुन्छ । कोही अनुहारको वनावट त कोही रंगमा मुग्ध भैरहेका हुन्छन् । कसैलाई बौद्धिक सुन्दरताले लोभ्याइरहेको हुन्छ । त्यसैले सर्वस्वीकार्य ‘ड्रिम गर्ल’ वा ‘ड्रिम ब्वाई’को खोजी जटिल विषय हो ।
संसारभर फरक–फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षक महिला–पुरुष खोजी गरिन्छ । त्यसमा सर्वेक्षण, जनमत, व्यवसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ । आकर्षण महिला–पुरुष छनौटमा प्राय:जसो मिडियामा छाइरहने, सेलिब्रेटी तथा सामाजिक भूमिका देखिएका व्यक्तिहरू नै पर्छन् । विगत १० वर्षदेखि प्रणय दिवसको अवसर पारेर साप्ताहिकले विविध क्षेत्र एवं ब्यवसायिक पृष्ठभूमिका प्रतिनिधि पात्रका मतका आधारमा नेपालका सर्वाधिक आकर्षक पुरुष–महिला खोज्ने जमर्को गरिरहेको छ ।
सर्वेक्षणका क्रममा सहभागीहरूलाई व्यक्तित्व, सुन्दरता, बौद्धिकता, काम एवं प्रभावलाई आधार बनाउन अनुरोध गरिएको थियो । ती प्रतिनिधिहरूले छनौट गरेको सूचीका आधारमा सबैभन्दा बढी मत पाउने १० जनालाई साप्ताहिकले सर्वाधिक आकर्षक महिला–पुरुषका रूपमा छनौट गरेको हो । हरेक वर्षझैं यस पटकको सर्वेक्षणमा पनि समाजमा सकारात्मक प्रभाव छाड्ने व्यक्ति, मिडियामा निरन्तर छाइरहने परिचित अनुहार, सार्वजनिक पदमा रहेका र आफ्नो प्रभावले समाजलाई तरंगित गर्ने अनि सेलिब्रेटी छवि भएकाहरूकै बोलवाला छ । केही नयाँ अनुहारले यो वर्षको आकर्षक १० मा पदार्पण गरेका छन् । गत वर्ष सर्वाधिक आकर्षण १० पुरुष–महिलामा स्थान बनाएका केही व्यक्तित्व भने बाहिरिएका छन् ।
मिस नेपाल वल्र्ड श्रृंखला खतिवडा यस पटक सर्वाधिक आकर्षक महिलाको सूचीको पहिलो स्थानमा छिन् । उनको बौद्धिकता, सुन्दरता, निडरता तथा क्षमताको सबैले प्रशंसा गर्दै उनलाई सबैभन्दा बढी मत दिएका थिए । खासगरी मिस वल्र्डमा श्रृंखलाले देखाएको आत्मविश्वासले उनलाई सर्वाधिक आकर्षक महिलाको सूचीको पहिलो स्थान पुर्यायो । उनी सर्वाधिक आकर्षक महिलाको सूचीमा पदार्पणमै पहिलो स्थानमा कब्जा गर्न सफल भइन् ।
०७४ को संस्करणमा तेस्रो नम्बरमा रहेकी अभिनेत्री प्रियंका कार्की यस पटक एक स्थान माथि उक्लँदै दोस्रो स्थानमा पुगेकी छिन् । दोस्रो स्थानका लागि उनको युवापुस्ताकी उदीयमान अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग कडा प्रतिस्पर्धा भएको थियो । प्रियंका ०७२–०७३ गरी लगातार दुई संस्करणमा सर्वाधिक आकर्षण महिलाको सूचीको पहिलो स्थानमा थिइन् । जबरजस्त स्टारडम र आकर्षक जीउडालकी प्रियंकाको प्रभाव गत वर्षको तुलनामा यो वर्ष केही बढेको देखियो ।
ड्रिम गर्ल साम्राज्ञी राज्यलक्ष्मी शाह सर्वाधिक आकर्षक महिलाको सूचीको तेस्रो स्थानमा छिन् । ०७३ को संस्करणमा १० औं स्थानमा रहेकी शाह ०७४ मा ठूलो फड्को मार्दै दोस्रो नम्बरमा पुगेकी थिइन्, तर, यस पटक उनले त्यही स्थान ओगटिरहन सकिनन् ।
सम्मोहित तुल्याउन सक्ने सुन्दरता, सरलता र भद्र व्यक्तित्वका कारण ‘सदाबहादर सुन्दरी’को छवि बनाएकी पूर्व युवराज्ञी हिमानी शाह यस पटक तीन स्थान तल झर्दै चौथो स्थानमा पुगिन् । गत वर्ष उनी सर्वाधिक आकर्षक महिलाको सूचीको पहिलो स्थानमा थिइन् । यस पटक पनि हिमानीको सामाजिक अग्रसरता र सुन्दरतालाई धेरैले रुचाए । उनी निरन्तर सर्वाधिक आकर्षक महिलाको उत्कृष्ट १० को सूचीमा अटाउँदै आएकी छिन् ।
ग्ल्यामरस लुक्सकी धनी मोडल तथा अभिनेत्री अदिती बुढाथोकी सर्वाधिक आकर्षक महिलाको सूचीको पाँचौं स्थानमा यथावत् छिन् । उनी ०७४ मा पहिलो पटक सर्वाधिक आकर्षक महिलाको सूचीमा पर्दा पनि पाँचौं स्थानमै थिइन् । उनलाई ‘बोल्ड एन्ड ब्युटिफुल’ अभिनेत्रीका रुपमा धेरैले मत दिएका छन् ।
अभिनेत्री नम्रता श्रेष्ठ आकर्षक महिलाको सूचीको छैटौं स्थानमा पर्न सफल भएकी छिन् । निरन्तर सर्वाधिक आकर्षण महिलाको उत्कृष्ट १० को सूचीमा पर्दै आएकी नम्रता गत वर्ष कडा प्रतिस्पर्धाबीच बाहिरिएकी थिइन् । यस पटक उनले पुनरागमन गरेकी छिन् । सुन्दरता एवं निडरतासँगै उनको अब्बल अभिनय क्षमताले मानिसहरूलाई आकर्षित गरिरहेको छ । ०७२ को संस्करणमा तेस्रो स्थानमा रहेकी नम्रता ०७३ मा पाँचौं स्थानमा पुगेकी थिइन ।
पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ सर्वाधिक आकर्षक महिलाको सूचीको सातौं स्थानमा छिन् । गत वर्षको तुलनामा उनले यस वर्ष आफ्नो प्रभाव वृद्धि गरेको पाइन्छ । गएको वर्ष उनी नवौं स्थानमा थिइन् । सृष्टि यस पटक दुई स्थान माथि उक्लिन सफल भइन ।
गायनसँगै कामुक जीउडाल एवं आकर्षक ठुम्काका कारण चर्चामा रहने गायिका गायिका इन्दिरा जोशी यस पटकको सर्वेक्षणको आठौं स्थानमा छिन् । गएको संस्करणमा उनी छैटौं स्थानमा थिइन् । २०६९ र २०७१ को संस्करणमा इन्दिरा सर्वाधिक आकर्षक महिलाको सूचीको पहिलो नम्बरमा थिइन् । २०७२ मा चौथो स्थानमा रहेकी जोशी २०७३ मा तेस्रो स्थानमा उक्लिएकी थिइन्, तर गएको संस्करणमा ३ स्थान तल झर्दै छैटौं स्थानमा पुगेकी इन्दिरा यस पटक दुई स्थान खस्कदैं आठौं नम्बरमा छिन् ।
गायिका मेलिना राई पहिलो पटक सर्वाधिक आकर्षक महिलाको सूचीमा अटाएकी छिन् । उनी ९ औं स्थानमा छिन् । गत वर्ष थोरै मतले बाहिरिएकी मेलिनाको जादुयी स्वर एवं शारीरिक सुन्दरतालाई धेरैले मन पराएका छन् ।
मेलिनासँगै सर्वेक्षणबाट सर्वाधिक आकर्षक महिलामा नयाँ पुस्ताकी अभिनेत्री आँचल शर्माको उदय भएको छ । आँचल सर्वाधिक आकर्षण महिलाको सूचीको दसौं स्थानमा छिन्् । नवौं र दशौं स्थानमा मेलिना र आँचलबीच कडा प्रतिस्पर्धा थियो । आँचलको सुन्दरताका लागि धेरैले दिल खोलेर भोट दिए ।
‘म्युजिक भिडियो क्वीन’का रुपमा समेत चर्चा कमाएकी अभिनेत्री केकी अधिकारी सर्वेक्षणमा राम्रो मत पाउन नसकेपछि बाहिरिइन् । ०७३ मा नवौं स्थानमा रहेकी अधिकारी गएको वर्ष ५ स्थान माथि उक्लँदै चौथो स्थानमा पुगेकी थिइन् । केकीको बौद्धिकता एवं अभिनय क्षमताको धेरैले प्रशंसा गरेपनि त्यो उत्कृष्ट १० भित्र अटाउन पर्याप्त भएन् ।
गएको वर्ष सर्वाधिक आकर्षक महिलाको सातौं र आठौं स्थानमा रहेका क्रमस: अभिनेत्री दीपिका प्रसाईं एवं पूर्व नेपाल सुन्दरी निकिता चाण्डक पनि उत्कृष्ट १० को सूचीबाट बाहिरिए । ‘बलिउड फ्लेवर’को ‘बोल्ड लुक’का कारण फरक पहिचान स्थापित गरेकी दीपिकाको सुन्दरताका लागि धेरैले भोट दिएका थिए । विवेकशील पार्टीबाट काठमाडौंको नगरपालिकाको मेयरमा उम्मेदवार भएपछि चर्चामा आएकी रञ्जु दर्शना यसपटक यो सूचीमा छैनन् । गत वर्ष उनी १० औं स्थानमा थिइन् । उनीहरूको स्थान क्रमस: श्रृंखला खतिवडा, नम्रता श्रेष्ठ, मेलिना राई र आँचल शर्माले लिएका छन् ।
अभिनेत्री स्वस्तिमा खड्का पनि झिनो मतले उत्कृष्ट १० को सूचीमा अटाउन सकिनन् । सिपोरा गुरुङ, एलिसा राई, त्रिशाला गुरुङ, सुरक्षा पन्त, आना शर्मा, वर्षा राउत, पूजा शर्मा, सारा सिर्पाली, तृष्णा गुरुङ, मनिता देवकोटा, शिल्पा मास्के तथा शुभेच्छा खड्का थोरै मतान्तरमा उत्कृष्ट १० को सूचीबाट बाहिरिए । रिमा विश्वकर्मा, श्वेता खडका, वर्षा शिवाकोटी, सविता कार्की, आस्था राउत आदिले उल्लेखनीय मत पाए पनि उत्कृष्ट १० को सूचीमा अटाउन सकेनन् । त्यसबाहेक, मिलन अमात्य र रिष्मा गुरुङलाई पनि केहीले उत्कृष्ट १० महिलाको सूचीमा राख्नुपर्ने भन्दै मत दिएका थिए ।
सर्वाधिक आकर्षक पुरुषतर्फ गत वर्षको नतिजामा उलटफेर भएको छ । सर्वाधिक आकर्षक पुरुषको उत्कृष्ट १० को सूचीमा आधाजसो नयाँ अनुहारले स्थान बनाएका छन् भने आधा अघिल्लो संस्करणकै दोहोरिएका छन्, यद्यपि उनीहरूको पनि स्थान परिवर्तन भएको छ ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का सर्वाधिक आकर्षक पुरुषको पहिलो स्थानमै यथावत छन् । गएको वर्ष पहिलो स्थानमा रहेका पारस २०६९, २०७०, २०७१ मा समेत पहिलो स्थानमै थिए । पारसको व्यक्तित्व एवं उनको नेतृत्वमा राष्ट्रिय क्रिकेट टिमले हासिल गरिरहेको सुखद् नतिजालाई यसको कारण मान्न सकिन्छ ।
क्रिकेटर पारसलाई पछ्याउँदै अर्का युवा क्रिकेटर सन्दीप लामिछाने दोस्रो स्थानमा छन् । गत संस्करणमा पहिलो पटक सर्वाधिक आकर्षक पुरुषको सूचीमा सातौं स्थानमा परेका सन्दीप यो संस्करणमा ५ स्थान माथि उक्लदैं दोस्रोमा पुगेका हुन् । सन्दीपले पहिलो स्थानमा लागि पारससँग तीव्र प्रतिस्पर्धा गरेका थिए ।
०७३ को सर्वेक्षणमा सर्वाधिक मत प्राप्त गरेर आकर्षक पुरुषको सूचीको पहिलो स्थानमा रहेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यस पटक उत्कृष्ट १० मा पुनरागमन गरेका छन् । गत वर्ष उत्कृष्ट १० को सूचीबाट बाहिरिएका घिसिङ यस पटक तेस्रो स्थानमा छन् । उनको कुशल व्यवस्थापकीय क्षमतालाई धेरैले मनैदेखि प्रशंसा गरेर मत दिए ।
अभिनेता अनमोल केसी सर्वाधिक आकर्षक पुरुषको सूचीको चौथो स्थानमा छन् । उनी गएको वर्ष ठूलो फड्को मार्दै ८ औं स्थानबाट दोस्रोमा उक्लिएका थिए । ०७२ को संस्करणमा पहिलो स्थानमा रहेका अनमोल चकलेटी लुक्स एवं स्टारडमको पर्याय मानिन्छ ।
सर्वाधिक आकर्षक पुरुषको सूचीमा अभिनेता प्रदीप खड्काले शानदार पदार्पण गरेका छन् । युवा पुस्ताका लोकप्रिय अभिनेता प्रदीप पदार्पणमै पाँचौं स्थानमा छन् । प्रदीपसँगै हास्यकलाकार तथा अभिनेता सन्दीप क्षेत्रीको पदार्पण पनि उत्कृष्ट रह्यो । सन्दीप सूचीको छैटौं स्थानमा छन् ।
०७३ मा सर्वाधिक आकर्षण पुरुषको छैटौं स्थानमा रहेका नायक सौगात मल्ल गत वर्ष सातांै स्थानमा थिए । थिएटरबाट चलचित्रमा आएका मल्ल यसपटक पनि त्यही स्थानमा छन् । ०७४ को संस्करणमा सर्वाधिक आकर्षक पुरुषको उत्कृष्ट १० को चौथो स्थानमा रहेका दयाहाङ राई यस पटक आठौं स्थानमा पुगेका छन् । अब्बल अभिनय क्षमताका धनी राईको प्रभाव घट्दै गएको देखिन्छ ।
पहिलो पटक सर्वाधिक आकर्षक पुरुषको उत्कृष्ट–१० मा स्थान बनाउने क्रममा अभिनेता आशिरमान देसराज जोशी ९ औं तथा नाजिर हुसैन १० औ स्थानमा छन् । आशिरमान र नाजिरको सुन्दरताका साथै अभिनयलाई धेरैले मन पराएका छन् । पछिल्ला दुई संस्करणमा तेस्रो स्थानमा रहेका युवा नेता गगन थापा यस पटक बाहिरिएका छन् । गएको संस्करणमा पाँचौं स्थानमा रहेका युवा फुटबलर विमल घर्तीमगर पनि उत्कृष्ट–१० बाट बाहिरिएका छन् । विमल थोरै मतले मात्र पछि परेका हुन् ।
गत वर्ष सूचीको आठौं, नवौं र दसौं स्थानमा रहन सफल पहिलो नेपाल आइडल बुद्ध लामा, भिजे रवि लामिछाने, अभिनेता पल शाह यस पटक बाहिरिएका छन् । गायक स्वप्न सुमन, भिजे सुरजसिंह ठकुरी, गायक नितेशजंग कुँवर, अभिनेता विपिन कार्की, गायक निशान भट्टराई, अभिनेता आयुष्मान देसराज जोशी तीव्र प्रतिस्पर्धाका बीच उत्कृष्ट दसमा छैनन् । क्रिकेटर सोमपाल कामी, अभिनेताहरू पुष्प खड्का, निखिल उप्रेती, निराजन प्रधान, सुशील श्रेष्ठ, सलिममान बानियाँ, क्रिकेटर दीपेन्द्रसिंह ऐरी, फुटबलर रोहित चन्द तथा नवयुग श्रेष्ठलाई पनि कतिपयले मत दिएका थिए । अभिनेताद्वय धीरज मगर र मनिष श्रेष्ठको नाम पनि सर्वेक्षणका क्रममा केही सहभागीले लिएका थिए ।
आकर्षक पुरुष छनौटकर्ता
झरना थापा (निर्देशक), ऋचा शर्मा (अभिनेत्री), रेनशा वान्तवा राई (निर्देशक/कोरियोग्राफर) माल्भिका सुब्बा (मिडिया पर्सन), सरस्वती प्रतीक्षा (साहित्यकार), निकिता आचार्य (व्यवयायी), आरोही शर्मा (अभिनेत्री), शिक्षा संग्रौला (मोडल), सुपुष्पा भट्ट (अभिनेत्री/मोडल), इष्टु कार्की (रंगकर्मी), अनिता दाहाल (चिकित्सक), रश्मी (मेकअप आर्टिष्ट), आश्ना अवस्थी (कोरियाग्राफर), खुश्बु राना (फेसन डिजाइनर), एलिसा श्रेष्ठ (फेसन डिजाइनर), मीना निरौला (गायिका), नन्दा अधिकारी (मेकअप आर्टिष्ट) ।
आकर्षक महिला छनौटकर्ता
अनिलकेशरी शाह (बैकर), डा. सुशील कोइराला (सौन्दर्यविद्/चिकित्सक), दिलीप रायमाझी (अभिनेता), दिवाकर भट्टराई (निर्देशक), सुविन भट्टराई (लेखक), कुमार कट्टेल (हास्य कलाकार), गम्भीर विष्ट (कोरियोग्राफर), प्रमोद अग्रहरि (अभिनेता), शान थापा (म्युजिक भिडियो निर्देशक/पब्लिसिटी डिजाइनर) एन्जिल मास्के (फोटोग्राफर), सुवास खकुरेल (क्रिकेटर), साहिल खान (भिडियो एडिटर), भरत रेग्मी (भिडियो एडिटर), लक्ष्मी ठाकुर (हेयर ड्रेसर), सुशील नेपाल (भिजे), टेकेन्द्र शाह (भिडियो एडिटर), रोशन प्रसाईं (विज्ञापन व्यवसायी) ।
विगतका केही आकर्षक महिला
२०७४ का आकर्षक १० (क्रमअनुरूप)
हिमानी शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की, केकी अधिकारी, अदिती बुढाथोकी, इन्दिरा जोशी, दीपिका प्रसाई, नीकिता चाण्डक, सृष्टि श्रेष्ठ तथा रन्जु दर्शना ।
२०७३ का आकर्षक १० (क्रमअनुरुप)
प्रियंका कार्की, हिमानी शाह, इन्दिरा जोशी, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, गौरिका सिंह, सिपोरा गुरुङ, केकी अधिकारी तथा साम्राज्ञी राज्यलक्ष्मी शाह ।
विगतका केही आकर्षक पुरुष
२०७४ आकर्षक १० (क्रमअनुसार)
पारस खड्का, अनमोल केसी, गगन थापा, दयाहाङ राई, विमल घर्तीमगर, सौगात मल्ल, सन्दीप लामिछाने, बुद्ध लामा, रवि लामिछाने तथा पल शाह ।
२०७३ आकर्षक १० (क्रमअनुसार)
कुलमान घिसिङ, दयाहाङ राई, गगन थापा, पारस खड्का, दीपकराज गिरी, सौगात मल्ल, विमल घर्तीमगर, अनमोल केसी, सर्वेन्द्र खनाल तथा आयुष्मान देशराज ।