सर्वाधिक आकर्षक महिला– पुरुषको खोजी सजिलो काम होइन । आकर्षक महिला–पुरुष यस्तै हुन्छन् भनेर ठोकुवा गर्ने वस्तुवादी एवं वैज्ञानिक मापदण्ड पनि छैन । कसैलाई कसैको आँखा मन पर्छ त कसैलाई पर्फेक्ट फिगर । कोही क्याडबरी ओठप्रति आकर्षित भैरहेका हुन्छन् त कसैलाई चकलेटी अनुहारले तानिरहेको हुन्छ । कोही अनुहारको वनावट त कोही रंगमा मुग्ध भैरहेका हुन्छन् । कसैलाई बौद्धिक सुन्दरताले लोभ्याइरहेको हुन्छ । त्यसैले सर्वस्वीकार्य ‘ड्रिम गर्ल’ वा ‘ड्रिम ब्वाई’को खोजी जटिल विषय हो ।
संसारभर फरक–फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षक महिला–पुरुष खोजी गरिन्छ । त्यसमा सर्वेक्षण, जनमत, व्यवसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ । आकर्षण महिला–पुरुष छनौटमा प्राय:जसो मिडियामा छाइरहने, सेलिब्रेटी तथा सामाजिक भूमिका देखिएका व्यक्तिहरू नै पर्छन् । विगत १० वर्षदेखि प्रणय दिवसको अवसर पारेर साप्ताहिकले विविध क्षेत्र एवं ब्यवसायिक पृष्ठभूमिका प्रतिनिधि पात्रका मतका आधारमा नेपालका सर्वाधिक आकर्षक पुरुष–महिला खोज्ने जमर्को गरिरहेको छ । प्रस्तुत छ यो वर्ष आकर्षक पुरुषको सुचीमा पर्न सफल व्यक्तिका बारेमा जानकारी :
१. पारस खड्का
झन्डै एक दशकदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरिरहेका छन्– पारस खड्का । उनकै नेतृत्वमा नेपाली क्रिकेटले एकपछि अर्काे सुखद् नतिजा हासिल गरिरहेको छ । ६ फिट १ इन्च अग्ला पारसको आकर्षक व्यक्तित्वले धेरैलाई मोहित तुल्याउँछ । ३१ वर्षीय अलराउन्डर पारस राइट ह्यान्ड ब्याट चलाउँछन् भने उनी राइट ह्यान्ड मिडियम फास्ट बलर हुन् ।
२. सन्दीप लामिछाने
पछिल्ला चार वर्षमा युवा क्रिकेट सेन्सेसनका रूपमा सन्दीप लामिछानेको उदय पनि गज्जब कै छ । सन्दीपले ‘नाम र दाम’ दुवै कमाउँदै राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै तहल्का मच्चाइरहेका छन् । आर्थिक हिसाबले विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)देखि बिग बाससम्मका ठूला र प्रतिष्ठित प्रतियोगितामा उनको उपस्थिति त्यसको प्रमाण हो । चितवनका १८ वर्षीय सन्दीप सन् २०१६ देखि राष्ट्रिय टिममा सहभागी छन् ।
३. कुलमान घिसिङ
लोडसेडिङ हटाएर कुशल व्यवस्थापकमा दरिएपछि कुलमान घिसिङ धेरैका प्रिय भएका हुन् । विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि घिसिङले आफ्नो व्यवस्थापकीय कुशलता दर्साउँदै इच्छाशक्ति र क्षमता भए असम्भव केही छैन भन्ने उदाहरण प्रस्तुत गरे । प्राधिकरणमा सुधारका काम गरेर त्यसलाई नाफामा पुर्याए । रामेछापको बेथानमा जन्मिएका घिसिङले पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स तथा पोखरा विश्वविद्यालयबाट ईएमबीए गरेका छन् ।
४. अनमोल केसी
चकलेटी लुक्सका अभिनेता अनमोल केसीलाई अहिले नेपाली चलचित्रका सबैभन्दा महँगा स्टार मानिन्छ । युवापुस्ताका अभिनेताहरूमा उनको स्टारडम सबैभन्दा शक्तिशाली छ । अनमोलको नामैले फिल्म हिट हुन्छन् । रोमान्टिक अभिनेता भुवन केसीका २४ वर्षीय छोरा अनमोल जता गए पनि प्रशंसकहरूबाट घेरिन्छन् ।
५.प्रदीप खड्का
प्रदीप खड्का नेपाली सिने उद्योगका चर्चित स्टार हुन् । ललितपुरको कुसुन्तीमा जन्मिएका खड्काले मार्केटिङमा स्नातकोत्तर गरेका छन् । छोटो अवधिमै ठूलो स्टारडम निर्माण गर्न सफल प्रदीप अहिलेका महँगा अभिनेतामा गनिन्छन् । लियोनार्दो डि कार्पियोलाई आर्दश मान्ने २९ वर्षीय प्रदीपले एक समय नेपाल टेलिभिजनमा ‘भुराभुरीको हल्लाखल्ला’ शीर्षकको कार्यक्रम समेत चलाएका थिए । प्रदीप अभिनेतासँगै मोडल तथा निर्माता पनि हुन् ।
६.सन्दीप क्षेत्री
सन्दीप क्षेत्री वीरगन्ज, छपकैयाबाट सिनेमाको हिरो बन्न भनेर काठमाडौं आएका थिए । उनले त्यसका लागि अभिनयको तालिम लिए अनि थिएटरमा काम गरे तर, आफ्नो ह्युमरस क्यारेक्टरका कारण उनले पछि नेसनल टेलिभिजनमा ‘विकेन्ड शो’ तथा ‘द फलप शो’ कार्यक्रम चलाए । जब कान्तिपुर टेलिभिजनबाट ‘ह्वाट द फलप’ को प्रसारण प्रारम्भ भयो, त्यसपछि क्षेत्रीले पछाडि फर्केर हेर्नुपरेको छैन । ३४ वर्षीय सन्दीप अहिले चलचित्र, स्टेज तथा टेलिभिजन सबैतिर छाइरहेका छन् । ५ फिट १० इन्च अग्ला सन्दीपले म्यानेजमेण्टमा स्नातकोत्तर गरेका छन् भने उनी विज्ञापन, चलचित्र आदिमा काम गर्नुका साथै प्राध्यापनसमेत गर्छन् ।
७.सौगात मल्ल
भर्सटाइल अभिनेताका रूपमा सौगात मल्लको बेग्लै पहिचान छ । ब्लकबस्टर ‘लुट’मा हाकु कालेको भूमिकामा दमदार अभिनय गरेपछि प्रसिद्धि कमाएका मल्ल थिएटर हुँदै चलचित्रमा आएका हुन् । नवपरासीका सौगात स्टाइलभन्दा बढी अभिनयमा विश्वास गर्ने अभिनेता हुन् । मल्लको आकर्षक व्यक्तित्व एवं अभिनय क्षमतालाई धेरैले रुचाएका छन् ।
८. दयाहाङ राई
भोजपुरमा जन्मिएका दयाहाङ राई भिन्न अभिनय क्षमताका कारण लोकप्रिय छन् । ५ फिट ७ इन्च अग्ला राईले सन् २००६ मा ‘अनागरिक’बाट चलचित्रमा डेब्यु गरेका थिए । चलचित्र ‘लुट’को गोफ्लेको भूमिकामा उनलाई धेरैले मन पराए । अभिनयसँगै निर्देशन एवं लेखनमा समेत सक्रिय दया थिएटर हुँदै चलचित्रमा आएका हुन् ।
९.आशिरमान देशराज जोशी
अभिनेता आशिरमान देशराज जोशीको चर्चा चलचित्र ‘ग्याङ स्टार ब्लुज’बाट भएको हो । ६ फिट ३ इन्च अग्ला आशिरमान युवतीहरूमाझ निकै लोकप्रिय छन् । बैंकर रविना देशराजका छोरा आशिरमानको अभिनय क्षमताको प्रसस्त प्रशंशा हुने गरेको छ । उनी अभिनेतासँगै मोडल तथा भिजे समेत हुन् ।
१०.नाजिर हुसेन
बारा स्याउलीचोकका नाजिर हुसेन ‘पुन्टे परेड’बाट नेपाली चलचित्रमा भित्रिएका हुन् । थिएटर हुँदै सिने नगरीमा आएका हुसेनको अभिनय क्षमता अब्बल छ नै उनी शारीरिक रूपमा समेत उत्तिकै आकर्षक छन् । आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका नाजिरले झन्डै २ दर्जनजति नाटकमा अभिनय गरेका छन् । स्नातक तहमा अध्ययनरत २७ वर्षीय हुसेन ५ फिट १० इन्च अग्ला छन् ।