अभिनेता आर्यन अधिकारी चलचित्रमा काम गर्न थालेको छोटो समयमा धेरैको नजरमा परेका अभिनेता हुन् । लामो समयदेखी अमेरिकामा बसिरहेका उनि चलचित्र खेल्नकै लागी नेपाल आएका थिए, छोटो समयमै धेरैको वाहवाही कमाए । वाँध मायाले, वटरफ्लाई, के म तिम्रो होईन र लगायतका चलचित्रमा अभिनय गरेका उनका केहि चलचित्र आउन बाकी छ । आकर्षक ज्यान र अभिनयका कारण आर्यनको लोकप्रियता वढ्दो छ । हालै कान्तिपुरका रामजी ज्ञवालीले आर्यनसँग पुर्ण रुपमा प्रेम बार्ता गरेका छन्, प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
तपाईको बुझाइमा के होला प्रेम ?
एकदमै अफ्ट्यारो प्रश्न गर्नुभयो । सामान्य भाषामा एउटा युवा र युवतीबिच हुने सम्वन्धलाई मात्रै प्रेम भन्ने गरिन्छ । तर, मेरो बुझाईमा जो कसैले आफुसँगै र आफुलाई जत्तिकै आफ्नो मान्छेलाई मायाँ र केयर गर्छ भने त्यो प्रेम हो ।
प्रेममा हुनुहुन्छ ?
ढाट्ने कुरै छैन । म प्रेममा छु ।
कत्तिको गहिरो सम्वन्धमा हुनुहुन्छ ?
प्रेमको विषयमा मेरो छुट्टै धारणा छ । कसैले माया गर्छ भने माया दिनेहो, घृणा गर्न थाल्यो भने बाटो छोडिदिने हो । अहिले म कसैसँग सम्वन्धमा छु, मैले वुझेअनुसार सम्वन्ध राम्रो छ ।
प्रेमका कारण मानिस सफल र अभावमा बर्बाद हुन सक्छन् भनिन्छ, कति सहि हो ?
१०० प्रतिशत सहि हो । मायामा एकदमै ठुलो तागत हुन्छ । मानिसको फ्युचर बनाउने कुरामा यसले ठुलो महत्व राख्छ ।
कसैलाई मन पराइन्छ, कसैले मन पराउँछ । एक हिसावले कमिटमेन्ट गरिन्छ अनि दुई मन एक बन्छन् । निकै मिहेनतका साथ एक भएका मनहरु स–साना कुराले टुट्छन् । जुट्न कति गाह्रो, छुट्टिन कति सहज है ?
हो त ! जहाँसम्म रियल प्रेम कसैले गर्छ भने त्यहाँ छुट्टिने कुरो आउँदैन । तर, तपाइले भनेजस्तो दुई मुटु जोडिन एकदमै गाह्रो हुने र छुट्टिन समयनै नलाग्ने कुरा सहि हो । मैले मायाँमा पागल बनेको देखेको छु, ज्यान दिएको पनि देखेको छु । ज्यान लिएको पनि देखेको छु ।
अधिकांस जोडिहरु प्रेम सफल बनाउनुपर्छ भन्छन्, कसम खान्छन् । खासमा प्रेमको सफलता के होला ?
प्रेमको सफलता भनेको बिहे गर्नु भन्ने आम प्रेमीहरुको बुझाई छ । तर विहे सम्म पुग्नु मात्रै प्रेमको सफलता होइन, जिन्दगीभरी दुई मन खुसीसाथ बस्नु ठुलो कुरा हो ।
संसारमा प्रेमसँग सम्बन्धित अत्याधिक धेरै चलचित्र निर्माण गरिएका छन्, त्यसमध्ये धेरैजसो चलचित्रमा जोडिहरु छुटिन्छन, साच्चीकै प्रेम छुट्टिनका लागी गरिन्छ हो ?
छुट्टिनका लागी नै त सायद कसले प्रेम गर्छ होला । यद्यपी कहिलेकाहि दुइजनाको बाटो फरक हुँदा, कुरा नमिल्दा छुट्टिन सक्छ । मेरो चाहना के हो भने हरेक प्रेमि–प्रेमिकाको ह्याप्पी ईण्डिङ हुनुपर्छ ।
प्रेममा मान्छे छुटिन्छ, घाइते बन्छ । घाईते मुटुमा मल्हम लगाउने उपाय के होला ?
मैले सुनेअनुसार प्रेममा घाइते भएकाहरुको लागी मल्हम त सायद अहिलेसम्म बनेको छैन । घाइतेहरुको चोट समयसँगै ठिक हुनेहो । समय भन्दा ठुलो मल्हम केहि छ जस्तो लाग्दैन । साथीहरुसँग भेटघाट गर्ने, मनका कुराहरु शेयर गर्नेहो भने मन शान्त हुन सक्छ । यस्तो अवस्थामा दारु, चुरोट खाने र बिग्रने काम गर्नु हुन्न ।
अन्तिममा एउटा कुरा भनिदिनुस् न, वास्तवमा तपाई कहिल्यै प्रेममा धोका खानुभएको छ ?
किन नखानु ? तर हामी छुट्टियौं र सहमतीमै आ–आफ्नो बाटो लाग्यौं । उनि पुर्व लागिन्, म पश्चिम लागेँ । त्यसपछि कहिल्यै भेट भएन ।