साप्ताहिक संवाददाता
डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका मल्लिका कार्कीले यो अवधिमा सयौं गीत गाइसकेकी छिन् । सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत गाउँदै सांगीतिक यात्रा प्रारम्भ गरेकी मल्लिकाले यो अवधिमा दर्जनौं चलचित्रका लागि पाश्र्व गायन समेत गरेकी छिन् । हालै दोस्रो एकल एल्बम मौसम सार्वजनिक गरेकी मल्लिका आफ्नो सांगीतिक करियरको टर्निङ प्वाइन्टका बारेमा :
उदितनारायणसँग युगल गायन
करिब १२ वर्षअघि मैले गायक उदितनारायण झासँग गाएको युगल गीत ‘लाजको लाली...’ नै मेरो सांगीतिक करियरको पहिलो टर्निङ प्वाइन्ट बन्यो । २०६३ सालमा रेकर्ड भएको आलोकश्रीको संगीत तथा एसपी कोइरालाको शब्दको उक्त गीत लोकप्रिय भएपछि मैले पछाडि फर्किएर हेर्नु परेन । गुञ्जन स्टुडियोमा मैले उक्त गीत भारतीय गायिका साधना सरगमका लागि डमिका रूपमा गाएकी थिएँ । मैले गाएको डमी गीतलाई उदितनारायण झाले समेत राम्रो भनेपछि मेरो सांगीतिक यात्राले लय समातेको हो । उक्त गीतले मलाई दर्शक तथा स्रोतामाझ परिचत मात्र गराएन, सांगीतिक कार्यक्रमका क्रममा स्वदेश तथा विदेशको यात्रा समेत गरायो ।
पहिलो एल्बम मल्लिका
मेरो पहिलो एकल एल्बमले पनि मेरो करियरमा टर्निङ प्वाइन्टको काम गरेको अनुभव गरेकी छु । दश वर्षअघि सार्वजनिक भएको उक्त एल्बमका प्रायः सबै गीत लोकप्रिय भए । आलोकश्रीको एकल संगीत निर्देश्ँनको उक्त एल्बम सार्वजनिक भएपछि मेरो सांगीतिक व्यस्तता समेत बढ्यो । उक्त एल्बमका पाँचवटा गीतमध्ये लाखौं छन् मेरा लागि मर्नेहरू सर्वाधिक लोकप्रिय भएका थियो ।
यति धेरै मान्छेहरूको भीडमा
मलाई गायिका मल्लिका कार्की भनेर चिनाउने गीत हो– यति धेरै मान्छेहरूको भीडमा । डान्सिङ प्याटर्नको उक्त गीतले मलाई मेला–महोत्सवदेखि कन्सर्टसम्म पु¥याउने काम ग¥यो । यही गीतबाट मैले विदेशका झन्डै ३० वटा देशमा प्रस्तुति दिने मौका पाएँ । यो गीतले मलाई विभिन्न एवार्ड समेत दिलायो ।
मल्लिका कार्की, गायिका