साप्ताहिक संवाददाता
नेपालका चर्चित युवा ज्योतिष हुन्— हरिहर अधिकारी । ज्योतिषीमा अलग्गै पहिचान बनाएका अधिकारी शुभ लभबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । अधिकारीकै कथा तथा अभिनयको उक्त चलचित्र चैत्र १५ गते प्रदर्शनमा आउँदैछ । अधिकारी सानैदेखि चलचित्रमा रुचि राख्थे । बलिउड होस् वा नेपाली चलचित्र आफू लुकी–लुकी चलचित्र हेर्न गएको अधिकारी अहिले पनि सम्झन्छन् । ‘त्यतिबेला चलचित्र हेर्न जाँदा उनमा पनि चलचित्रको अभिनेता बन्ने रहर जागेको थियो ।’ हरिहर भन्छन्, ‘ज्योतिषशास्त्र अध्ययन गर्न थालेपछि मेरो बानी, व्यवहार, सोच आदिमा परिवर्तन आयो । त्यसपछि चलचित्रमा अभिनय गरौंला भन्ने त कल्पना पनि गरेको थिइनँ ।’
चलचित्रमा अभिनय गर्नु ज्योतिष शास्त्रमा करियर बनाइरहेका अधिकारीका लागि बिल्कुलै नौलो कुरा थियो । यद्यपि सानैदेखि चलचित्रमा रुचि राख्ने भएकाले दिमागमा चलचित्रको गहिरो छाप बसेको भएर यो क्षेत्रमा अघि बढ्न हौसला मिलेको उनी बताउँछन् । हरिहर नेपाली चलचित्र निकै हेर्छन्, तर नयाँ चलचित्रमा पनि उनले कुनै नौलोपन पाएनन् । एक दिन उनी साथीहरूसँग बसिरहेका थिए । त्यहीबेला उनको दिमागमा एउटा कन्सेप्ट आयो । उनले त्यो कन्सेप्ट आफ्ना नजिकका साथीहरूलाई सुनाए । साथीहरूबाट उनले राम्रो प्रतिक्रिया पाए । यही क्रममा उनले त्यो कथा आफ्नो साथी राजन गोदारलाई सुनाए । त्यसपछि गोदारले उनलाई निर्देशक सन्तोषबाबु लोहनीसँग भेट गराए । भेटघाटकै क्रममा उनले आफूसँग एउटा कथा छ, त्यसमा आधारित रहेर चलचित्र बनाउनुहोस् भने । सन्तोषलाई उक्त कथा एकदमै मन प¥यो । उनले यही कथामा आधारित रहेर चलचित्र बनाउने निधो गरे, तर हरिहरलाई अभिनेता बनाउने सर्तमा । ‘तपाईंबिना यो कथामा चलचित्र नबनाउने भनेपछि मलाई निर्णय लिन एक महिनाजति लाग्यो ।’ हरिहर भन्छन्, ‘निर्देशकबाटै यस्तो कुरा आएपछि मैले आफ्नो परिवार, आफन्त तथा नजिकका साथीहरूसँग सल्लाह लिएँ । सबैबाट सकारात्मक सुझाव पाएपछि र चलचित्रको कथा पनि ज्योतिषशास्त्रसँग सम्बन्धित भएकाले शुभ लभमा अभिनय गर्ने निर्णय गरेँ ।’
‘कथा ज्योतिषको भविष्यवाणीमा आधारित छ, त्यसैले यो चलचित्रले ज्योतिषशास्त्रलाई एक स्टेप माथि उठाउन सहयोग गर्छ ।’ अधिकारी भन्छन्, ‘अहिले कतिपय मानिसमा ज्योतिषशास्त्र अन्धविश्वास हो भन्ने बुझाइ छ तर यो चलचित्रले ज्योतिषशास्त्र अन्धविश्वास होइन भन्ने कुरा प्रमाणित गर्छ साथै चलचित्रमा मनोरञ्जन र एक्सनको पक्ष पनि सबल छ ।’
ज्योतिषशास्त्रमा रमाइरहेका अधिकारीका लागि अभिनय गर्नु आफैंमा कठिन विषय थियो । यो चलचित्रमा अभिनय गर्नुभन्दा पहिले उनलाई अभिनयसम्बन्धी कुनै ज्ञान थिएन । उनले कुनै अभिनय कक्षा पनि लिएनन् । तैपनि चलचित्र छायांकनमा जानुभन्दा एक हप्ताअघिदेखि भने रिहर्सल गरेका थिए । हरिहर भन्छन्, ‘त्यो रिहर्सलका कारण अभिनय गर्न धेरै सहज भयो ।’ कुनै पनि नयाँ कामको सुरुवात गर्दा डर अनि लाज लाग्नु स्वभाविक हो । हरिहरका लागि पनि शुभ लभ पहिलो काम भएकाले आफ्नो मनमा पनि डर र लाजले बास गरेको उनी बताउ“छन् । अर्को कुरा दुईवटा क्षेत्रलाई सँगसँगै अघि बढाउनु पनि चुनौतीकै विषय थियो । ‘त्यसैले डर र निराशालाई ऊर्जामा परिणत गरें ।’ अधिकारी भन्छन्, ‘मैले दुईतर्फ पाइला चालेकाले डराएर काम हुँदैन भन्ने लाग्यो, त्यसैले डर र निराशालाई टाढै राखें ।’
हरिहरले चलचित्रको पहिलो सट अभिनेता सरोज खनालसँग दिएका थिए । त्यतिबेला आफू निकै नर्भस भएको उनी बताउँछन् । उनले पहिलो सटमा खनाललाई कुनै कुरा भनेर सम्झाउनु, बुझाउनुपर्ने थियो । त्यसैले पनि आफूलाई गाह्रो भएको अधिकारी बताउँछन् ।
ज्योतिषको क्षेत्रमा हरिहरप्रति धेरैले निकै ठूलो विश्वास राख्छन् । त्यसैले उनलाई चिना देखाउन सुटिङ स्पटमा समेत मानिसहरूको भीड लाग्थ्यो । ‘पोखरामा सुटिङ चलिरहेका बेला त चिना देखाउन आउने मानिसहरूको ठूलै भीड लाग्यो ।’ हरिहर भन्छन्, ‘मैले कतिपयको चिना सुटिङ स्पटमै हेरिदिएँ ।’ चलचित्रमा अधिकारी सिद्धान्त शर्माका रूपमा देखा पर्छन् । हरिहरले नै लेखेको हुनाले यो चलचित्रमा करिब ३० प्रतिशत आफूले जीवनमा भोगेको कुरा रहेको उनी बताउँछन् । हरिहरले रियल लाइफमा भोगेका कतिपय समस्या रिल लाइफमा सिद्धान्तले भोग्छन् ।
हरिहर आफूलाई इमोसनल पार्टमा अभिनय गर्न निकै सहज भएको बताउँछन् । ‘एक्सन र कमेडी पार्टमा चाहिँ निकै गाह्रो भयो ।’ उनी भन्छन्, ‘त्यस्ता सिनमा मैले धेरै टेक पनि लिए ।’
युवतीहरूले गालामा चुम्बन गरे
चलचित्रमा काम गर्ने क्रममा हरिहरले अनौठा अनुभव प्राप्त गरेका छन् । रेड स्टुडियोमा चलचित्र शुभ लभको डबिङ भैरहेको थियो । त्यही बेला तीन–चार जना युवती त्यहाँ आए । उनीहरूले हरिहरसँग अंकमाल गर्न चाहे । त्यसका लागि हरिहर पनि राजी भए, तर ती युवतीले अंकमाल गर्ने बहानामा गालमा चुम्बन गरेर गएको हरिहर बताउँछन् । त्यति मात्र होइन, बेलुका हरिहरलाई कसैले फोन गरेर तपाईंलाई दिउँसो चुम्बन गर्ने केटीहरू कामिरहेका छन्, कतै ज्योतिषलाई चुम्बन गरेकाले भगवान् चढेको त होइन ? भन्ने कुरा सुनाएपछि आफू छाँगाबाट खसेजस्तो भएको उनी सम्झन्छन् ।
प्य्रांकले सात्तो लियो
पोखरामा चलचित्र शुभ लभको गीतको छायांकन भैरहेका बेला जक्सन डटकम युट्युब च्यानलले उनीमाथि प्य्रांक गरेको थियो । त्यो भिडियो भाइरलसमेत भयो, जसमा एउटी युवतीले आफूलाई धोका दिएको भन्दै उनलाई थर्काएर प्य्रांक गरेकी थिइन् । त्यतिबेला आफ्नो सात्तो गएको हरिहर बताउँछन् । अधिकारी भन्छन्, ‘कसैले मेरो फेक आइडी बनाएर कुनै केटीलाई फसाएछ कि भन्ने लागेको थियो, तर त्यो प्य्रांक हो भन्ने कुरा थाहा पाएपछि रमाइलो भयो ।’