करिब चार दशकअघि हिन्दी चलचित्र ‘हम पाँच’ बाट अभिनय यात्रा प्रारम्भ गरेका ६३ वर्षीय भारतीय अभिनेता गुलशन ग्रोवर अघिल्लो साता काठमाडौंमा झुल्किए । शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियर शोमा सहभागी हुन मुम्बईबाट काठमाडौं आएका यी अभिनेता अहिले पनि उक्तिकै सत्रिय छन् । बलिउडबाट हलिउडसम्म पुगेर अभिनय गर्ने पहिलो अभिनेताको श्रेय पाएका ग्रोवर हिन्दी र अंग्रेजी चलचित्रबाहेक नेपालीसहित इरानी, मलेसियन, पोलिस आदि विभिन्न भाषाका चलचित्रमा अभिनय गर्ने पहिलो भारतीय कलाकार हुन् । प्रायः खलनायकको भूमिकामा प्रस्तुत हुने ग्रोवरले हालसम्म करिब ४ सय चलचित्रमा अभिनय गरिसकेका छन् । यी अभिनेतालाई बलिउडमा ‘ब्याड म्यान’ को उपनाम प्राप्त छ । दुई दिने काठमाडौं बसाइको क्रममा ग्रोवरलाई साप्ताहिकका कृष्ण भट्टराईले झम्सीखेलस्थित भिभान्त होटलमा भेटेर कुराकानी गरे ।
अचेल कत्तिको व्यस्त हुनुहुन्छ ?
भगवानको कृपाले आजको दिनसम्म व्यस्त नै छु । व्यस्तताकाबीच नै ‘द म्यान फ्रम काठमाडौं’ को प्रिमियर शोमा सहभागी हुन काठमाडौं आएको छु । यो मेरो तेस्रो काठमाडौं भ्रमण हो ।
पहिलो भ्रमण कहिले गर्नुभएको थियो ?
म पहिलो पटक अभिनेत्री मनीषा कोइरालाको वैवाहिक समारोहमा सहभागी हुन नेपाल आएको थिएँ । दोस्रो पटक चलचित्र द म्यान फ्रम काठमाडौंको छायांकनका क्रममा आएको थिएँ । अब लाग्दैछ, वर्षमा कम्तीमा एक पटक काठमाडौं आउनैपर्छ ।
नेपालका बारेमा कत्तिको जानकार हुनुहुन्छ ?
धेरैभन्दा धेरै जानकार छु । मलाई नेपाली कला, संस्कृति, धर्म, भाषा आदि सबै कुराका बारेमा राम्रो जानकारी छ । नेपाली खानाको त म पारखी नै हुँ । नढाँटी भन्नुपर्दा मलाई भित्री मनदेखि नै नेपाल र नेपालीप्रति लगाव छ । नेपालको कला र संस्कृतिप्रति असाध्यै लगाव छ । नेपालीहरूको कडा परिश्रमी स्वभाव मलाई मनपर्छ । नेपालीहरूको इमान्दारिताको म सधैं प्रशंसा गरिरहेको हुन्छु ।
नेपालका बारेमा यति धेरै जानकारी कसरी हासिल गर्नुभयो ?
नेपाल चेली अनि बलिउडकी अभिनेत्री मनीषा कोइराला मेरी छिमेकी हुन् । म पहिलो पटक नेपाल आउनुअघि नै मैले मनीषा कोइरालाबाट नेपालका बारेमा धेरैभन्दा धेरै जानकारी प्राप्त गरेको थिएँ ।
मनीषासँग तपाईंको पहिलो भेट कहाँ भयो ?
मनीषाको पहिलो चलचित्र सौदागरको छायांकनस्थलमा छायांकनको पहिलो दिन नै भेट भएको हो ।
मनीषासँग तपाईंको सम्बन्ध कस्तो छ ?
मनीषा मेरो अति नै मिल्ने साथीहरूमध्ये एक हुन् । मैले भनिसकें, मुम्बईमा हामी छिमेकी समेत हौं । मलाई नेपाली खाना खान मन लाग्यो भने उनकै घर जान्छु । उनको बुवा आउनु भएको बेला भेट्न जान्छु । उहाँको शिरमा नेपाली टोपी देख्दा रमाइलो अनुभव गर्छु । त्यही टोपीबाट प्रभावित भएर मैले द म्यान फ्रम काठमाडौंमा भादगाउँले टोली लगाएर अभिनय गरेको छु । मनीषाले मुम्बईस्थित आफ्नो घरलाई सानो नेपालका रूपमा सजाएकी छिन् । उनको घर पुगेपछि नेपाल कला र संस्कृतिमा कति धनी छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
मनीषाले कुन–कुन अवसरमा खाना खान बोलाउँछिन् ?
प्रायः नेपाली चाडपर्वमा उनको घरमा जमघट भैरहन्छ । खासगरी दसैंका बेला म प्रायः छुट्दिनँ । निधारमा रातो टीका लगाउने परम्परा मलाई झनै मनपर्छ ।
मनीषाबाट नेपालको बारेमा के–के कुरा सुन्नुभएको थियो ?
मनीषाले मलाई नेपालको संस्कृति तथा खानपानका बारेमा धेरै कुरा बताएकी छिन् । पहिलो पटक नेपाली खानाको स्वाद मैले उनकै घरमा चाखेको हुँ । यसपटक नेपाल आउँदा पनि मैले नेपाली खाना नै खाएँ । दाल, भात, तरकारी, अचारसहित करिब ६ वटा परिकारसहितको नेपाली खानाको स्वाद जिब्रोमै झुन्डिएको छ । नेपाली खानाको स्वाद असाध्यै मीठो छ, तर तपाईंहरू नुनचाहिँ अलि बढी नै खानु हुन्छ । नुन धेरै खायो भने ब्लड प्रेसर बढ्छ है ।
मनीषालाई तपाईं कसरी चिन्नुहुन्छ ?
मनीषा नेपाली चेली र बलिउडकी अभिनेत्री मात्र होइनन्, उनी नेपालका लागि विश्वकै राजदूत हुन् भन्दा पनि हुन्छ । उनको मनमा नेपालप्रतिको माया र सम्मान अत्यधिक छ । उनी जहाँ पुग्छिन्, त्यहाँ नेपालकै सुवास फैलाउँछिन् ।
प्रसंग बदलौं, नेपाली चलचित्र द म्यान फ्रम काठमाडौंमा कसरी आबद्ध हुनुभयो ?
चलचित्रका निर्देशक पेमा ढोन्डुपमार्फत म यो चलचित्रमा आबद्ध भएको हुँ । पेमा अमेरिकामा बसोबास गरिरहेका निर्देशक हुन् । मैले उनलाई करिब १७ वर्षअघि पहिलो पटक भारतको धर्मशाला भन्ने ठाउँमा भेटेको थिएँ । त्यो दिनदेखि आजसम्म हामी असल मित्रका रूपमा छौं । धर्मशालामा पनि उनी एउटा चलचित्रमै काम गरिरहेका थिए । पछि उनी चलचित्रसम्बन्धी अध्ययनका लागि अमेरिका गए । म पनि हलिउड चलचित्रमा अभिनय गर्ने क्रममा अमेरिका पुगिरहने भएकाले हाम्रो भेट बाक्लिन थाल्यो । चलचित्रप्रति उनको समर्पण लोभलाग्दो छ । उनले जब–जब चलचित्र बनाउने योजना बनाउँछन्, मलाई एक पटक अभिनय गर्ने प्रस्ताव राखेकै हुन्छन् । सन् २००४ मै मैले पेमाको चलचित्र वी आर नो मंक्समा अभिनय गरेको थिएँ । अहिले आएर पेमाले पुनः एकपटक नेपाली चलचित्र द म्यान फ्रम काठमाडौंमा अभिनय गर्ने प्रस्ताव राखेपछि मैले नाइँ भन्न सकिन ।
द म्यान फ्रम काठमाडौं चलचित्रलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
यो चलचित्रको व्यवसायिक पाटोप्रति म अनभिज्ञ छु । यद्यपि म के कुरामा ढुक्क छु भने यो केवल चलचित्र मात्र नभै नेपाली चलचित्र उद्योगको विकासका लागि कोसेढुंगा पनि हुनसक्छ । नेपालमा पहिलो पटक एउटा त्यस्तो चलचित्र निर्माण भएको छ, जसमा हलिउड र नेपालको संयुक्त ब्यानर आबद्ध छन् । हलिउडदेखि नेपालसम्मको छायांकन, हलिउड, बलिउड, नेपाल तथा अन्य देशका कलाकारहरूको अभिनयले यो चलचित्र विशेष बनेको छ । मैले पनि यो चलचित्र प्रिमियर शोमा हेर्ने मौका पाएँ । निर्माणको हिसाबले चलचित्र उत्कृष्ट छ । नेपाली दर्शकहरूले यसलाई कसरी ग्रहण गर्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो । मलाई के लाग्छ भने सम्पूर्ण टिमले राम्रो काम गरेको छ । यही चलचिक्रका कारण संयुत्त ब्यानरमा काम गर्नका लागि नयाँ बाटो खुलेको छ ।
आफ्नो व्यस्तताबीच यो चलचित्रका लागि तयार हुनुभयो ?
मैले द म्यान फ्रम काठमाडौंमा अभिनय गर्नुको कारण निर्देशक पेमा मेरो साथी भएर मात्र होइन । मैले यसअघि इरानी, पोलिस, मलेसियन भाषाका चलचित्रहरूमा अभिनय गरिसकेको छु । भारतीय कलाकारका रूपमा धेरै भाषाका चलचित्रमा अभिनय गर्ने कीर्तिमान मैले नै कायम गरेको छु । नेपाली भाषाको चलचित्र मेरो लागि नौलो अनुभव हुने निश्चित थियो । त्यसकारण पनि मैले यो चलचित्रका लागि समय निकालेको हुँ ।
छायांकनको सेड्युल कसरी मिलाउनुभयो ?
चलचित्रमा अभिनय गर्छु भनेर मात्र हुँदैन । त्यसका लागि सबैभन्दा पहिला सेड्युल मिलाउनुपर्छ । त्यसपछि मात्र भूमिका र पारिश्रमिकका बारेमा सोचिन्छ । मैले यो चलचित्रका लागि दिएको समयसँग एउटा पोलिस चलचित्रको सेड्युल जुधेको थियो । यद्यपि, पोल्याण्डमा बाक्लो हिउँ पर्न थालेपछि मैले काठमाडौंमा आरामले काम गर्न भ्याएँ ।
पारिश्रमिकचाहिँ कति लिनुभयो ?
पत्याउनु हुँदैन होला, मैले यो चलचित्रमा काम गरेको पारिश्रमिक नै लिइन । मैले निःशुल्क काम गरें । कहिलेकाहीँ समय र परिस्थित कस्तो भैदिन्छ भने आफू कुनै विशेष चलचित्रको हिस्सा हुन पाउँदा समेत खुसी मिल्छ । द म्यान फ्रम काठमाडौं मेरा लागि त्यस्तै चलचित्र बन्यो । म यो चलचित्रको एउटा सदस्य हुन पाउँदा नै खुसी छु । नयाँ प्रयासलाई म जहिले पनि सम्मान गर्छु । नयाँ र रोचक विषयलाई, नयाँ सोच र नयाँ सर्जकलाई सहयोग गरिँदैन भने त्यो कलाकारको सफलताको कुनै अर्थ नै रहँदैन । मैले विगतमा बलिउडका ठूला चलचिक्र तथा ठूलै ब्यानरसँग काम गरिसकेको छु । त्यस त्रममा सानो बजेट भए पनि चित्तबुझ्दो स्क्रिप्ट भएको चलचित्रबाट प्रस्ताव आयो भने म अभिनयका लागि तयार भैरहन्छु । मैले कतिपय त्यस्ता चलचित्रमा पनि काम गरेको छु, जसको पूरै बजेट म एक्लैले लिने पारिश्रमिकभन्दा कम हुन्छ । मैले ‘आई एम कलाम’ जस्ता चलचित्रमा पनि काम गरेको छु ।
नेपाली कलाकारदेखि प्राविधिकसम्मको काम कस्तो लाग्यो ?
अति नै उत्कृष्ट । यो चलचित्रमा मैले नेपाली कलाकारहरू आना शर्मा, नीर शाह, कर्मा शाक्य आदि कलाकारहरूसँग काम गर्ने मौका पाएँ । मलाई नेपाली प्राविधिक र कलाकार निकै नै मेहनति र समर्पित लागे ।
दोस्रो नेपाली चलचित्रमा देखिने सम्भावना कत्तिको छ ?
यदि भविष्यमा कुनै राम्रो प्रयास गरिन्छ भने म दोहोर्याएर नेपाली चलचित्रमा काम गर्न तयार छु ।
खानपिनमा कत्तिको सौखिन हुनुहुन्छ ?
असाध्यै सौखिन छु । मलाई स्वस्थकर खानेकुरा मनपर्छ । चिल्लो र पिरो कम खान्छु । (कुराकानीको क्रममा उनले मगाएको डबल अम्लेट, फ्रुट सलाद तथा फ्रेस जुस आइपुग्छ ।) ल हेर्नुस्, मेरो ब्रेकफास्ट यस्तै हुन्छ । लञ्चमा पनि म हल्का–फुल्का नै खान्छु । डिनर पनि धेरै ह्याभी हुँदैन ।
हलिउडका चलचित्रसम्म कसरी पुग्नुभयो ?
हिन्दी चलचित्र मेरो पहिलो प्राथमिकता हो । हिन्दी चलचित्रबाट फुर्सद पाएपछि मैले अन्य देशका, अन्य भाषाका चलचित्रलाई समय दिने हो । त्यसको थालनी मैले हलिउडबाट गरेको थिएँ । मुम्बईमै एक जना हलिउडकर्मीले मलाई चलचित्रको प्रस्ताव राखेपछि म पहिलो पटक हलिउडको चलचित्रमा आबद्ध भएको थिएँ । बलिउडबाट हलिउड गएर त्यहाँका चलचित्रमा अभिनय गर्ने बाटो मैले नै थालनी गरेको हुँ । त्यसक्रममा हलिउडका निर्माता–निर्देशकहरूले मलाई अमेरिकामै स्थायी रूपमा बस्न आग्रह गरेका थिए, तर मैले मानिन । अष्ट्रेलिया, बेलायत, फ्रान्स आदि देशका अभिनेता–अभिनेत्रीहरू हलिउडका चलचित्रमा अभिनय गरेर आफ्नै देश फर्किन सक्छन् भने म पनि त्यहाँको काम सम्पन्न गरेर भारत फर्कन किन सक्दिनँ ? भनेर उल्टै जिज्ञासा राखें । त्यहींबाट बलिउडमा सक्रिय भएका कलाकारहरू हलिउड जाने, अभिनय गरेर पुनः स्वदेश फर्किने ट्रेण्ड प्रारम्भ भएको हो । आज प्रियंका चोपडा, दिपिका पादुकोण, अमिताभ बच्चन, इमरान खान, अनिल कपुर, अनुपम खेर जस्ता कलाकारहरूले पनि त्यसै गरिरहेका छन् ।
अन्य भाषाका चलचित्रप्रति कसरी आकर्षित हुनुभयो ?
हलिउडका चलचित्रमा अभिनय गर्न थालेपछि मलाई अन्य देशबाट पनि प्रस्ताव आउन थाल्यो । फलस्वरूप मैले इरान, मलेसिया, पोल्याण्ड, क्यानाडा, बेलायत, फ्रान्स, जर्मनी आदि देशका चलचित्रहरूमा अभिनय गर्ने मौका पाएँ । आज हिन्दी र अंग्रेजी पछि अन्य विदेशी भाषाका चलचित्रहरूमा अभिनय गर्ने बलिउडको म एक्लो कलाकार भएको छु ।
नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा कत्तिको खुसी हुनुहुन्छ ?
नेपाली चलचित्र क्षेत्रलाई हलिउडसँग जोड्ने एउटा ऐतिहासिक चलचित्रको सदस्य हुन पाउँदा म असाध्यै खुसी छु । यो मात्रै होइन, मैले अभिनय गरेका अन्य देशका चलचित्रहरू समेत त्यस देशका लागि टर्निङ प्वाइन्ट भैरहेका छन् । द म्यान फ्रम काठमाडौं पनि नेपालका लागि टर्निङ प्वाइन्ट हुनेछ । नेपालमा नेपाली भाषामा प्रदर्शन भएको यो चलचित्र हलिउडसहित अन्य देशहरूमा अंग्रेजी भाषामा प्रदर्शन हुने भएपछि यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्नेछ । यही चलचित्रका कारण नेपालमा अन्य धेरै ज्वाइन्ट भेन्चरहरू भित्रिन सक्ने सम्भावना पनि त्यत्तिकै छ । यो चलचित्र नेपालमा मात्रै नभई विश्वका अन्य देशमा पनि प्रदर्शन हुने भएकाले नेपालप्रति विश्वको ध्यान आकर्षित हुनेछ ।
अन्त्यमा तपाईंलाई मन परेका तपाईंकै चलचित्रहरू कुन–कुन छन् ?
मलाई मैले अभिनय गरेका प्रायः सबै चलचित्र उत्तिकै प्रिय लाग्छन् । तीमध्ये केही चलचित्रहरू सुपर हिटसमेत छन् । मैले अभिनय गरेका रकी, सोहनी महिवाल, दूधका कर्ज, इज्जत, सौदागर, कुर्बान, राम लखन, इन्साफ कौन करेगा, अवतार, मोहरा, दिलवाले, हेराफेरी, इन्टरनेसनल खिलाडी, लज्जा, कर्ज, एजेन्ट बिनोद, यारियां आदि चलचित्रहरू व्यवसायिक रूपमा सफल मानिन्छन् ।