नेपाली महिला फुटबलमा मात्र होइन दक्षिण एसियाकै उत्कृष्ट फुटबल स्ट्राइकर मानिन्छन् सावित्रा भण्डारी अर्थात् साम्बा । पाँच वर्षअघि सन २०१४ मा पाकिस्तानमा भएको साफ फुटबलमा भुटानसँगको खेलमा अतिरिक्त खेलाडीका रूपमा राष्ट्रिय टिममा पदार्पण गरेकी भण्डारीले त्यसयता हरेक निर्णायक क्षणमा आफूलाई अब्बल सावित गर्दै आएकी छिन् । गोल मेसिनको उपनामसमेत पाएकी भण्डारीले २६ अन्तर्राष्ट्रिय गोल गर्दै सर्वाधिक गोल गर्ने नेपाली खेलाडीमा आफूलाई उभ्याएकी छिन् । सन् २०१६ को साफ फुटबलमा भुटानविरुद्ध उनले डबल ह्याट्रिक गरेकी थिइन् । लमजुङको घलेगाउँमा जन्मिएकी सावित्रालाई रेफ्री शुक्र लामाले फुटबलमा ल्याएका हुन् । मोजाको बलबाट सुरु भएको उनको फुटबल यात्रा यतिबेला सफलताको उचाइमा छ । सावित्रालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मेरुदण्ड मानिन्छ । धेरै फ्यान फलोइङ भएकी नेपाली महिला खेलाडीको सूचीको अग्रस्थान ओगट्न सफल सावित्राको हेयर स्टाइल, गोलपछिको सेलिब्रेसन एवं निडर व्यक्तित्वले धेरैलाई प्रभावित तुल्याउँदै आएको छ । विराटनगरमा सम्पन्न पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा २१ वर्षीया सावित्राले नेपालका लागि ४ गोल गरिन् । महिला फुटबलकी स्टार भण्डारीसँग साप्ताहिकका लागि अनिल श्रेष्ठले गरेको कुराकानी :
सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभयो कस्तो महसुस भैरहेको छ ?
सर्वाधिक गोल गर्नेभन्दा पनि हाम्रो एउटै लक्ष्य थियो, घरेलु भूमिमा साफ वुमेन्स च्याम्पियन बन्ने । हामी फाइनलमा भारतलाई हराएर इतिहास रच्ने तयारीका साथ मैदानमा उत्रिएका थियौं, तर त्यो लक्ष्य पूरा हुन सकेन, त्यसैले पनि म त्यति खुसी हुन सकिरहेकी छैन ।
नेपालको सार्वाधिक गोल गर्ने खेलाडीको सुचिमा तपाई कहाँ हुनुहुन्छ ?
घलेगाउँबाट काठमाडौं आएपछि मेरो फुटबल करियर सुरु भएको हो । फुटबलमा करिअर बनाउन मैले निकै मेहनत गरेकी छु । यो अवधिमा अग्रज खेलाडीहरूबाट धेरै कुरा सिकें । प्रारम्भिक दिनमा मेरो ध्यान कसरी बढीभन्दा बढी गोल गर्ने र पुरानो कीर्तिमान भंग गर्ने भन्नेमा केन्द्रित थियो । पूर्व कप्तान जमुना गुरुङले २५ गोल गर्नुभएको छ । नेपालका लागि सार्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान पूर्व कप्तान अनु लामाको नाममा छ । उहाँले ३५ अन्तर्राष्ट्रिय गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाउनुभएको छ । पुर्व कप्तान जमुना गुरुङको कीर्तिमानलाई मैले २७ खेलमा २६ अन्तर्राष्ट्रिय गोल गरेर पछाडि पारिसकेकी छु । अब अनु लामाको कीर्तिमान भंग गर्ने लक्ष्य छ ।
फाइनलमा भारतसँग खेल्नुअघिको योजना कस्तो थियो ?
साफ वुमेन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिको होडमा जहिले पनि भारत नै हाम्रो बाधक हुने गरेको छ । फाइनलमा अहिलेसम्म हामीले भारतलाई हराउन सकेका छैनौं । आफ्नै देशमा भएको साफ च्याम्पियनसिपमा भारतलाई हराउँदै सारा नेपालीलाई खुसी दिने र इतिहास रच्ने हाम्रो योजना थियो, तर यसपटक पनि हामीले त्यो लक्ष्य प्राप्त गर्न सकेनौं । अहिले पनि मलाई यसैमा दुःख छ ।
खेल सुरु हुनुअघि चेन्जिङ रुमको वातावरण कस्तो थियो ?
त्यहाँ देशभक्तिपूर्ण गीत बजिरहेको थियो । ती गीतले खेलाडीहरूमा एक प्रकारको ऊर्जा जगाइरहेको थियो । देशभक्तिपूर्ण गीत नेपाली टिमका प्रशिक्षकले बजाउन लगाउनुभएको थियो । त्यसमा उहाँले मोटिभेसनल स्पिचसमेत दिनुभयो ।
खेलमा जित र हारलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
खेल भनेकै जित अथवा हार हो । एउटा राम्रो खेलाडीले जित्दा मात्र होइन, हार्दा पनि आफूलाई प्रमाणित गर्न सक्नुपर्छ ।
व्यक्तिगत रूपमा तपाईं आफ्नो प्रदर्शनबाट सन्तुष्ट हुनुहुन्छ ?
भारतसँग भएको फाइनलमा मेलै थुप्रै अवसर गुमाए । हाम्रो टिम उपविजेतामै सीमित हुन पुग्यो, त्यसैले पनि साफको आफ्नो प्रदर्शनबाट म सन्तुष्ट हुन सकेकी छैन ।
किन ?
किनभने पाँचौं साफ वुमेन्स च्याम्पियनसीप हुनुभन्दा पाँच दिनअघि म बिरामी भएर अस्पताल पुगेकी थिए । राम्रोसँग अभ्यास गर्न नपाउँदा मेरो प्रदर्शन भनेजस्तो हुन पाएन । सन् २०१६ मा हामी यही प्रतियोगिताको सेमिफाइनलमा भारतसँग पराजित भएका थियौं । त्यतिबेला म प्रतियोगिताकै उच्च स्कोरर थिए अर्थात् मैले १२ गोल गरेकी थिए । भुटानसँगको खेलमा त मैले डबल ह्याट्रिक गरेँ । त्यसका विपरित हाम्रो आफ्नै घरेलु मैदानमा भएको यो प्रतियोगितामा सारा नेपालीको समर्थनका साथ हामीले उपाधि जित्ने लक्ष्य राखेका थियौ । हामीलाई दोस्रो हाफमा केही गरेर देखाउन सकिन्छ भन्ने लागेको थियो, तर हामीले सोचेजस्तो नतिजा आएन । त्यसैले पनि मलाई आफ्नो निजी प्रदर्शनले त्यति सन्तुष्टि दिन सकेन ।
साफमा सबैभन्दा सहज अनि सबैभन्दा गाह्रो टिम कुन थियो ?
खेलमा सहज र गाह्रो भन्ने हुदैन । निर्णय आफ्नो पक्षमा नआउँदासम्म सबै खेल गाह्रै हुन्छ । हाम्रो पहिलो खेल भुटानसँग थियो, जसमा हामी ३–० गोल अन्तरले विजयी रह्यौं । त्यो खेलमा पनि हामीले अपेक्षा गरेजस्तो नतिजा निकाल्न सकेनौं । हाम्रो अपेक्षा अलिक बढी थियो । दोस्रो चरणमा हामीले बंगलादेशसँग प्रतिस्पर्धा गर्यौं । यसपटक बंगलादेश अघिल्ला खेलहरूको तुलनामा निकै बलियो देखियो । उनीहरूले निकै आक्रमक फुटबल खेले । त्यसैले पनि हामीले सहज जित निकाल्न सकेनौं । सेमिफाइनलमा श्रीलंकासँग अलिकति डर थियो । पछिल्ला संस्करणहरूमा उनीहरू रक्षात्मक खेल खेलेर हामीलाई रोक्न खोज्थें, तैपनि नतिजा हाम्रो पक्षमा हुन्थ्यो । पहिलेको तुलनामा साफ फुटबल खेल्ने सबै देशको स्तर सुधारिएको छ । हाम्रो तुलनामा उनीहरूले कठोर मेहनत गरेको तथा बढी सुविधा पाएको देखिन्छ । तुलनात्मक रूपमा उनीहरूको फुटबलमा राज्यले राम्रो लगानी गरेको छ ।
नेपाली महिला फुटबलका लागि एन्फा अथवा राज्यले के–कस्तो सेवा–सुविधा प्रदान गरिरहेको छ ?
पहिलेको तुलनामा अहिले महिला फुटबललाई हेर्ने समग्र दृष्टिकोणमा परिवर्तन आएको अनुभव गरिरहेकी छु । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएपछि खेलाडीहरूको हकमा केही नयाँ सुविधा थपिएका छन् । अहिले हामीले म्याच एक्सपोजर पाएका छौं । प्रतियोगिताको तयारीका लागि हामीले चीनसँग चीनमै मैत्रीपूर्ण फुटबल खेल्ने अवसर पायौं । त्यसपछि ओलम्पिक छनौटमा भाग लिएर हामी दोस्रो चरणका लागि छनौट भयौं । त्यस्तै, हिरो गोल्डकपमा सहभागी भएर भारतलाई उसकै देशमा हरायौं । इरानजस्तो आफूभन्दा बलियो मानिएको देश, जुन फिफा वरियतामा पनि हामीभन्दा धेरै माथि छ लाई पनि हराएर फाइनलमा पुग्यौं । हाम्रो दुर्भाग्य हामी फाइनलमा म्यानमारसँग हार्न पुग्यौं ।
नेपालमा महिला फुटबलको विकासका लागि राज्यले के गरिदियोस् भन्ने लाग्छ ?
अहिले पनि ग्रास रुटको व्यवस्थापन भैरहेको छैन । ग्रास रुटदेखि नै प्रतियोगिताहरू सञ्चालन हुनुपर्छर् । प्रदेशस्तरीय, जिल्लास्तरीय, एन्फा लिग, महिला लिगहरू गराएर खेलाडीहरूको क्षमतामा सुधार ल्याउनुपर्छ । महिला खेलाडीहरूका लागि स्वदेशी तथा वैदेशिक तालिमको व्यवस्था गरिनुपर्छ । यति हुन सक्यो भने भोलीका दिनमा नेपाली महिला टिम अझ सशक्त हुनेछ ।
फुटबलमा कसरी आउनुभयो ?
बाल्यकालदेखि नै म फुटबलमा रुचि राख्थें । चार दिदी बहिनी, दुई भाइ, बुवा र ममीसहित हाम्रो ठूलो परिवार छ ।सानैदेखि क्रेजी भएकीले म त्यतिबेला पनि मोजाको बल बनाएर फुटबल खेल्थें । जब म स्कुल भर्ना भए, त्यहाँ फुटबल खेल्ने १/२ जना साथी फेला पारें । जसले गर्दा टिम बनाउन सहज भयो । २०७१ सालमा लमजुङको घले गाउँमा महिला फुटबल प्रतियोगिता भएको थियो । हामीले पनि त्यसमा भाग लियौं । उक्त प्रतियोगितामा म उच्च गोलकर्ता घोषित भएँ । त्यतिबेलाको मेरो प्रदर्शनका आधारमा उक्त प्रतियोगिताका रेफ्री शुक्र लामाले मलाई काठमाडौं ल्याउनुभयो । काठमाडौं आएपछि मैले गतिलो प्रशिक्षण पाएँ । १ महिनाको प्रशिक्षणपछि एपिएफ क्बलमा आवद्ध भए । एपिएफमा आवद्ध भएको ढेड महिनापछि चितवनमा आयोजित महिला राष्ट्रिय लिगमा एपिएफ क्बलबाट खेल्ने अवसर पाए । त्यहाँ गरेको राम्रो प्रदर्शन नै अहिले मैले पाएको सफलताको आधार थियो । त्यसयता मैले पछाडि फर्केर हेर्नुपरेको छैन ।
तपाईलाई दक्षिण एसियाकै उत्कृष्ट महिला स्ट्राइकर तथा गोल मेसिन मानिन्छ । कस्तो लाग्छ ?
आफूमाथि जिम्मेवारी थपिएको महसुस हुन्छ । खुसी त आफ्नो ठाउँमा छँदैछ । त्यस्तो टिप्पणीले थप जिम्मेवारीबोध गराउँदो रहेछ । मैले देशका लागि केही गर्नुपर्छ भन्ने हुन्छ ।
तपाईंको हेयर स्टाइलको निकै चर्चा हुन्छ । यस्तो हेयर स्टाइल कसरी बनाउनुभयो ?
म क्रिस्टियानो रोनाल्डोलाई फलो गर्छु । उहाँको हेयर स्टाइल पनि परिवर्तन भैरहन्छ । त्यस्तै म नेयमारलाई पनि फलो गर्छु । विदेशी खेलाडीहरूबाट प्रभावित भएरै मैले यस्तो हेयर स्टाइल बनाएकी हुँ ।
फुटबलमा तपाईंको आइडल को हो ?
मेरो सेलिब्रेसन स्टाइलबाटै थाहा पाउनुहुन्छ, म क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आइडल मान्छु ।
तपाईंको दैनिकी कसरी चलिरहेको छ ?
बिहान आराम गर्छु, खाना खाएपछि दिउँसो प्रशिक्षणमा जान्छु । मौसमअनुसार प्रशिक्षणमा सहभागी भएपछि कोठामा फर्कन्छु । त्यसपछिको समय चलचित्र हेरेर बित्ने गरेको छ ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
घुम्न जान्छु । मलाई नयाँ–नयाँ ठाउँ घुम्न मन लाग्छ । फुर्सद मिल्यो कि साथीहरू लिएर पर्यटकीय ठाउँहरू पुग्छु । त्यस्तो ठाउँमा फोटो खिचाउने रहर पनि छ ।
आफ्नो सुन्दरता कायम राख्न के गर्नुहुन्छ ?
मेकअपमा खासै मेहनत गरेकी छैन, फ्रशिक्षणका क्रममा थोरै त्रिम लगाउँछु । सुन्दरताकै लागि भनेर विशेष ध्यान दिने बानी छैन ।
कस्ता चलचित्र मन पर्छन ?
मलाई नेपाली चलचित्र नै मन पर्छन् । हास्य चलचित्र बढी हेर्छु । मोबाइलमा पनि त्यस्तै चलचित्र हेरिरहेकी हुन्छु ।
प्रेमप्रस्ताव कत्तिको आउँछन् ?
प्रेम प्रस्ताब त आइरहेका हुन्छन्, तर ती प्रस्तावप्रति मैले ध्यान दिएकी छैन । मेरो लक्ष्य र सपना ठूलो छ । अहिले म यो झमेलामा फस्न चाहन्नँ ।
अबको लक्ष्य के छ ?
चाडै ओलम्पिक छनौट खेल हुँदैछ । म्यानमारमा हुने उक्त छनौट प्रतियोगिताको तयारीमा जुट्नु छ । हामी त्यसकै तयारीमा छौं । १३ औं साग नेपालमै हुँदैछ, त्यसको पनि तयारी गर्नु छ ।