साप्ताहिक संवाददाता
एसएलसीपछिको दुईवर्षे कोर्स ए लेभल नेपालमा पनि लोकप्रिय छ । सन् १९८६ देखि नेपालमा सुरु भएको एड्भान्स्ड लेभल क्वालिफिकेसनको छोटकरी रूप नै ए लेभल हो । बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एडुकेसन जीसीई कार्यक्रमअर्न्तगत सञ्चालित ए लेभलले जनरल सर्टिफिकेट अफ एजुकेसन अर्थात् जीसीई सञ्चालन गर्छ । जीसीईले गत ५० वर्षदेखि विश्वका करिब १ सय ७० देशमा लगभग ७० विषयमा ए लेभलको शिक्षा प्रदान गर्दै आएको छ ।
नेपालमा ब्रिटिस काउन्सिलले क्याम्ब्रिज युनिभर्सिटीको सहयोगीका रूपमा ए लेभलको परीक्षा सञ्चालन तथा अनुगमन गरिरहेको छ । ए लेभलले विदेश पढ्न जान चाहने विद्यार्थीहरूलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । ए लेभल सञ्चालकहरूका अनुसार यसले गर्दा नेपाली पैसा बिदेसिनबाट जोगिएको छ । नेपालको प्लस टु सरहको मान्यता पाएको ए लेभल पार गरेपछि विद्यार्थीहरू संसारका कुनै पनि विश्वविद्यालयमा स्नातक तह अध्ययनका लागि योग्य मानिन्छन् ।
पछिल्ला वर्षहरूमा नेपालमा ए लेभल धेरै विद्यार्थीको रोजाइमा पर्दै आएको छ । सन् १९८६ मा बूढानीलकण्ठ स्कुलबाट यसको अध्यापन प्रारम्भ भएको हो । यतिबेला यो कोर्स नेपालका ३४ वटा कलेजले सञ्चालन गरिरहेका छन् । तीमध्ये विराटनगरको एक र पोखराका ३ कलेजले यो कोर्स सञ्चालन गरिरहेका छन् भने बाँकी सबै कलेज काठमाडौं उपत्यकामा छन् । संयुक्त अधिराज्य बेलायतमा सन् १९५१ मा ए लेभल कोर्स प्रारम्भ गरिएको थियो । त्यसपछि आयरल्यान्ड, स्कटल्यान्डका देशहरूमा पनि यो शिक्षा सुलभ भयो । हाल काठमाडौं, पोखरा, बुटवल, चितवन आदि सहरमा प्रत्येक वर्ष करिब ५ हजार विद्यार्थी ए लेभलमा भर्ना हुन्छन् । ए लेभल उत्तीर्ण विद्यार्थीहरूलाई क्याम्ब्रिज विश्वविद्यालयको प्रमाणपत्र प्रदान गरिन्छ । विश्वभर मान्यताप्राप्त भएकाले स्वदेश वा विदेश जहाँ पनि उच्च शिक्षाका लागि मान्यता पाइन्छ ।
कतिलाई ए लेभल बढी खर्चिलो लाग्न सक्छ । यसको अध्ययन पद्धति पनि फरक छ । यसलाई सजिलै ग्रहण गर्न नसक्दा ए लेभलको डिग्री हात पार्न विद्यार्थीहरूलाई सहज नहुन सक्छ । यो कोर्स घोकन्तेभन्दा प्रयोगात्मक शिक्षामा केन्द्रित छ । नेपालका ए लेभल अध्ययन गरेका विद्यार्थीले अन्य देशका विद्यार्थीलाई पछि पार्दै अग्र स्थानमा आएका उदाहरण पनि छन् । ब्रिटिस काउन्सिलको सन् २०१२ को ए–लेभल परीक्षामा ललितपुरको रातोबङ्गला स्कूलका निरज पराजुली र सोउलराज जोशी गणित विषयमा विश्वकै उत्कृष्ट भएका थिए ।
कुन–कुन विषय पढ्न सकिन्छ ?
ए लेभलमा आफ्नो चाहना र क्षमताअनुसार मानविकी, विज्ञान तथा व्यवस्थापनमा फरक–फरक विषय छनौट गर्न सकिन्छ । नेपालमा जनरल पेपरअन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाइएको छ । त्यसबाहेक अध्ययनका लागि विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलोजी तथा गणित विषय रोज्न सकिन्छ ।
विद्यार्थीले कम्तीमा तीन र त्योभन्दा माथि अन्य विषय पनि पढ्न सकिने व्यवस्था छ । त्यसैगरी व्यवस्थापन समूहअन्तर्गत एकाउन्टेन्सी, बिजनेस स्टडी, अर्थशास्त्र, गणित, कम्प्युटर आदि विषय पढ्न सकिने व्यवस्था छ । मानविकी समूहमा गणित, मनोविज्ञान, समाजशास्त्र, लिवरल आर्ट्स जस्ता विषय छनौट गर्न सकिन्छ । ए लेभल पढ्न रुचि हुने विद्यार्थीले क्याम्पस भर्ना हुनुपर्छ भन्ने बाध्यता छैन । लाजिम्पाटस्थित ब्रिटिस काउन्सिलमा आफ्नो नाम दर्ता गराएर युनिभर्सिटीलाई तिर्नुपर्ने रजिस्ट्रेसन, परीक्षा शुल्क आदि बुझाएर परीक्षामा सहभागी हुन सकिन्छ ।
ए लेभलको कोर्स अन्य कोर्सभन्दा कति फरक छ ?
कुनै पनि विद्यार्थीले अंग्रेजी भाषाबाट एउटा र बाँकी अन्य विषयबाट कम्तीमा तीनवटा विषय छनौट गर्न सक्ने व्यवस्था छ । कुनै विषयमा राम्रो अंक प्राप्त भएन भने पुनः परीक्षा दिन सकिन्छ । परीक्षाको तालिका पूर्वनिर्धारित भएकाले सबै कोर्स समयमै पूरा हुन्छ ।
खर्च कति लाग्छ ?
नेपालमा ए लेभल केही महँगो शिक्षा मानिन्छ । बेलायतस्थित प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयबाट डिग्री पाइने हुनाले तुलनात्मक रूपमा अलिकति महँगो हुनु अस्वभाविक पनि होइन । दुईवर्षे ए लेभल पार गर्न झन्डै २ लाख रुपैयाँ खर्चिर्नुपर्ने हुन्छ । ए–लेभल अध्ययनका लागि कलेज अनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ । कतिपय कलेजले मासिक ५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेका छन् । भर्नाका लागि ५८ हजारदेखि ९६ हजार रुपैयाँसम्म बुझाउनुपर्ने हुन्छ । बेलायतमै ए लेभल अध्ययन गर्न झन्डै ३० लाख रुपैयाँ खर्चिनुपर्छ ।
कस्ता विद्यार्थी ए लेभलमा भर्ना पाउँछन् ?
नेपालमा हरेक वर्ष भन्डै १ हजार ५ सय विद्यार्थी ए लेभल अध्ययनका लागि भर्ना हुन्छन्, तर भर्ना भए जति सबै ए लेभल अध्ययनका लागि योग्य हुँदैनन् । त्यसका लागि केही न्यूनतम सर्त छन् । अंग्रेजी भाषा राम्रो भएका र एसईईमा राम्रो अंक ल्याएको हुनुपर्छ । कलेजहरूले प्रवेश परीक्षा तथा अन्तर्वार्तामा राम्रो गर्ने विद्यार्थीहरूलाई नै प्राथमिकता दिन्छन् ।
ए लेभल कलेज
बुढानीलकण्ठ स्कुल, नारायणस्थान
लिटल एन्जल्स कलेज, हात्तीवन
जेभियर इन्टरनेसनल कलेज, कालोपुल
काठमाडौं भ्याली हाइयर सेकेन्डरी स्कुल, महाराजगन्ज
मल्पी इन्टरनेसनल कलेज, बालुवाटार
ओरियन्ट कलेज अफ साइन्स एन्ड म्यानेजमेन्ट, महाराजगन्ज
चेल्सी इन्टरनेसनल एकेडिमी, नयाँ बानेश्वर
एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, सिनामंगल
द ब्रिटिस कलेज, थापाथली रोड
सेन्ट जेभियर कलेज, माइतीघर
ट्रिनिटी इन्टरनेसनल कलेज, डिल्लीबजार हाइट
युलेन्स स्कुल, खुमलटार
काठमाडौं युनिभर्सिटी हाइयर सेकेन्डरी स्कुल, चौकोट, काभ्रे
चेल्सी इन्टरनेसनल एकेडिमी, लैनचौर
रातो बंगला स्कुल, पाटनढोका
किङ्स कलेज, बबरमहल