साप्ताहिक संवाददाता
हरेक वर्ष नेपाली सांगीतको ट्रेन्डमा परिवर्तन आइरहन्छ । २०७५ सालमा सांगीतिक क्षेत्रमा केही नयाँ ट्रेन्ड देखा परे । यो वर्ष लोकशैलीका गीतले बजार पिटेको संगीतकर्मीहरू बताउँछन् । यसपालि प्रदर्शनमा आएका अधिकांश चलचित्रका गीत पनि लोकशैलीमै निर्माण भएका थिए । त्यस्ता गीतले युट्युबमा पनि राम्रो भ्युज बटुलेका छन् । संगीतकार लक्ष्मण शेष यसपालि सुन्ने भन्दा हेर्ने गीतको ट्रेन्ड बसेको बताउँछन् । ‘गम्भीर, संवेदनशील तथा यथार्थपरक गीत–संगीतभन्दा पनि अपशब्द, गाली–गलौज, अश्लील शब्द प्रयोग भएका गीतको ट्रेन्ड बस्यो । शेष भन्छन्, ‘यसले नेपाली संगीतको मौलिकता हराउन सक्छ ।’ गत वर्ष साभार गरिएका भाका, पुराना गीतलाई रिमिक्स गर्ने र अरुको वैशाखी टेकेर सेलिब्रिटी बन्ने ट्रेन्ड चलेको शेषको आरोप छ ।
यस्तै, गत वर्ष सिर्जना बलियो बनाउनेभन्दा पनि भाइरल भएका मानिसहरूलाई प्राथमिकतामा राखेर म्युजिक भिडियो बनाउने ट्रेन्ड बसेको पाइयो । संगीतकर्मीहरू टिकटक, म्युजिकल्लीजस्ता सामाजिक सञ्जालमा भाइरल भएका युवायुवतीहरूलाई भिडियोमा अभिनय गराएर आफ्नो गीतलाई हिट बनाउने दाउमा लागेको देखियो । यसरी गीतका भिडियो सार्वजनिक हुँदा केही समय युट्युबको ट्रेन्डिङमा बसे पनि यस्ता गीत जनप्रिय बन्न नसकेको गायक तथा संगीतकार अर्जुन पोखरेल बताउँछन् । पोखरेल भन्छन्, ‘गीतको भिडियोमा भाइरल मानिसहरूलाई समावेश गरेर भिडियोलाई भाइरल बनाए पनि त्यसको संगीत गतिलो नहुँदा अडियो लोकप्रिय भएनन् ।’
यद्यपि सामान्य ढंगबाट बनाइएका गीत संगीत तथा भिडियो भने यो वर्षकै उत्कृष्ट भिडियो बन्न पुगे । यसको गतिलो उदाहरण हो, सालको पात टपरी हुनी । यो गीतको भिडियो भन्दा पनि अडियो राम्रो भएका कारण सफल भएको संगीतकर्मीहरू बताउँछन् । यस्तै सामान्य ढंगबाट बनेका तर अडियोमा भरपुर मेहनत गरिएका अन्य गीत–संगीत पनि छन् जो यो वर्ष लोकप्रिय बन्न पुगे ।
चलचित्र संगीतको कुरा गर्ने हो भने करिब चार वर्षअघि चलचित्र वडा नम्बर ६ मा सुर्के थैली खोई गीत समावेश भएपछि चलचित्रमा लोकगीत अनिवार्य जस्तै भएको थियो । त्यसपछि चलचित्र प्रेमगीतमा रोमान्टिक गीत समावेश भयो । यससँगै निर्माता निर्देशकले चलचित्रमा रोमान्टिक गीत पनि हुनुपर्छ भन्ने सोच बनाए । यही क्रममा पारी त्यो डाँडामा गीत नेपालीपनमा पाश्चात्य शैलीको संगीत संयोजन गर्दा गीत सफल हुन्छ भन्ने उदाहरण बन्यो ।
त्यसैले २०७५ मा पनि अधिकांश चलचित्रमा लोकशैलीका गीत नै समावेश गर्ने ट्रेन्ड बसेको संगीतकार पोखरेल बताउँछन् । लोकशैलीलाई पछ्याउँदा पनि यो वर्ष गोजीमा दाम छैन, पहिलो नम्बरमा जस्ता गीत हिट भए । चलचित्र रोजको फूल होइन माया, क्याप्टेन चलचित्रको रहर छ सँगै जस्ता गीतमा त्यही रोमान्टिक पुनरावृत्ति भएको पाइन्छ । २०७५ सालमा जति पनि चलचित्र र एल्बमका गीत सार्वजनिक भए त्यसमा पुरानै ट्रेन्डलाई पछ्याइएको पाइयो ।
गत वर्ष आइटम गीत गीत त्यति सफल भएको पाइएन । समग्रमा भन्नुपर्दा एल्बमको हकमा भाइरल भएका व्यक्तिका पछि लाग्ने र चलचित्रमा पुरानै प्रवृत्तिमा गीत–संगीत बनाउने ट्रेन्ड चलेको पाइयो । तैपनि पाश्चात्य संगीतले नेपाली गीत–संगीतमाथि रजाइँ गरिरहेको यो बेला नेपालीहरूलाई आफ्नै मौलिकता भएका गीत–संगीत सुन्न बाध्य बनाएको संगीतकर्मीहरू बताउँछन् ।