साप्ताहिक संवाददाता
विभिन्न नाटक मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पाँचौं संस्करण सम्पन्न भएको छ । थिएटर मल, कीर्तिपुरमा बालबालिकाहरूले नृत्य तथा अभिनयात्मक खेलका साथमा तीनवटा नाटक मञ्चन गर्दै उक्त ग्यारेजको समापन गरेका हुन् ।
यस क्रममा उनीहरूले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ तथा ‘करेसाबारीका जडीबुटी’ शीर्षकको छुट्टाछुट्टै तीनवटा नाटक प्रस्तुत गरेका थिए । राराहिल मेमोरियल स्कुलसँगको सहकार्यमा पुनः स्थापित थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले हरेक वर्ष गर्ने यो ग्यारेज बालबालिकाका लागि अभिनय कार्यशाला हो ।
बालबालिकाहरूले १५ दिने कार्यशालामा अघिल्लो १० दिन अभिनय र नाटकका प्रक्रियाहरू बुझ्दै, रमाउँदै पछिल्लो ५ दिनमा तीन नाटक तयार पारेका थिए । ५ देखि १४ वर्षसम्मका ३४ जना बालबालिका सहभागी भएको कार्यशालामा चिक्रकला, माटो कला, नृत्य, कथावाचान, कथालेखन, वतृत्व लगायतका त्रियाकलापमा पनि सञ्चालन भएका थिए ।
‘बालबालिकालाई नाटक घर लैजाऔं, उनीहरू पनि देख्न, सुन्न, सोच्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने मूल धारणामा हरेक वर्ष चैत २० प्रारम्भ हुने यो कार्यशाला २०७१ सालदेखि नियमित रूपमा आयोजित हुँदै आएको छ ।
५ देखि १४ वर्षसम्मका बालबालिका सहभागी थिएटर ग्यारेजमा उमेर समूह अनुसार छुट्टाइएको तीन समूहले मञ्चन गरेको नाटकमध्ये ‘सुपरम्यान सपना’ले समाजमा हुने खराब प्रवृत्ति र मानिसहरूलाई परास्त गर्ने सुपर पावर बोकेर सेवा गर्दै हिँडेको एउटा बालकको सपनालाई रंगमञ्चमा उतारेको थियो । बालबालिकाका इमान्दारिता र संवेदनशीलता नै उनीहरूको सुपर पावर भएको भाव नाटकमा समेटिएको थियो ।
त्यस्तै अर्को नाटक ‘बाई बर्डी’ ले सहरी परेवेशको व्यस्ततामा अभिभावकबाट प्रयाप्त समय नपाएकी एक बालिकाले आफ्ना लागि साथीको खोजी र भेटिएका साथीसँगको सामीप्यतालाई दृश्यमा उतारेको थियो । यो नाटक आफ्ना अभिभावकको समय नपाउँदा घरपालुवा पप्पी र घरमा आइपुगेको घाइते परेवासँग जोडिएको उनको सम्बन्धमा केन्द्रित थियो ।
तेस्रो नाटक ‘करेसाबारी जडीबुटी’ले हाम्रै करेसामा पाइने वा हुर्काउन सकिने विभिन्न तरकारीजन्य वनस्पतिको सम्मेलन आयोजना गरिएको थियो । उक्त नाटकीय सम्मेलनमा विभिन्न मानवीय चरित्र बोकेका तरकारीले आफ्ना विशेषता र गुणहरूलाई रमाइलो तरिकाले बयान गरेका थिए ।
यी नाटकलाई थिएटर मल तथा थिएटर सेन्टर फर चिल्ड्रेनका युवा रंगकर्मीहरू केदार श्रेष्ठ, सञ्जिता पराजुली तथा इलिना नकर्मीले तयार पारेका हुन् ।